जनकपुरधाम : अनुसन्धान प्रक्रियालाई सहज र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले परिचालन गर्ने सादा पोसाकका ‘घुमुवा’ प्रहरीहरु अहिले प्रहरी संगठनकै लागि घाँडो बनेका छन् । संगठनले सुक्ष्म अनुसन्धान र आपराधिक गतिविधिमा विशेष सूचना संकलनका लागि खटाइने सादा पोसाकका प्रहरी ‘घुमुवा’ हरु तोकेको काम भन्दा गैरकानुनी क्रियाकलापहरुमा बढि सक्रिय भएपछि मधेश प्रदेशका जिल्लाहरुमा आतंक नै फैलिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले अपराधी, तस्कर र बिचौलियासँग साँठगाँठ गरेर विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न रहेका विवादित १८७ जना प्रहरीलाई कार्वाही गरी केहीलाई प्रदेश बाहिर त केहीलाई जिम्मेवारीबाट हटाई गण वा अन्यत्र जिल्लाहरुमा पठाएको छ । यसैक्रममा तस्करसँग मिलेर संगठन विपरितका क्रियाकलाप गरेको आरोपमा वरिष्ठ सई सागर शम्सेर जबरालाई समेत निलम्बन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले जानकारी गराएका छन् ।
‘कार्वाहीमा परेका सई पहिलादेखि पनि प्रहरीको घुमुवा भएर काम गर्दै आएका थिए । तर, उनको क्रियाकलापहरु राम्रो नरहेको भन्दै म कहाँ थुप्रै उजुरीहरु आएका छन् । अहिले उनी धनुषाका प्रहरी उपरीक्षकको मातहतमा काम गरिराखेका थिए तर, उनले डीआईजीको घुमुवा बन्ने चाह्ना राखे । मैले यस्तो घुमुवा खटाउने काम गरेकै छैन् । त्यसैले उनलाई राख्ने विषयमा खासै चासो लिइन् तर, उनले अनावश्यक रुपमा मलाई बद्नाम गर्ने र संगठनलाई नै नराम्रो प्रभाव पर्ने खालको क्रियाकलापहरु गरेपछि अहिले निलम्बन गर्न प्रक्रिया अगाडि बढाएको छु ।’
डिआईजी थपलिया भन्छन्, ‘संगठनलाई सहज होस् भन्नका लागि राखिएका प्रहरीहरुले नै असहज हुने खालका गतिविधि गरेमा ती सबैले कार्वाही भोग्नु पर्छ ।’ सई राणाको हालै सार्वजनिक एक अडियोमा उनले कुनै व्यापारीसँग तस्करीका विषयमा र प्रहरीको लेनदेनहरुसँग सम्बन्धित कुराकानीहरु गरेका छन्। जसमा ‘घुमुवा’ मार्फत डीआइजीले समेत रकम उठाउने गरेको कुराहरु समेत उल्लेख गरिएको छ ।
घुमुवा खटाउँदा सम्बन्धित अधिकारीले त्यसको हरेक गतिविधिको जिम्मेवारी लिनुपर्ने हुन्छ । यस्तै सई राणालाई घुमुवा खटाउँदै आएका धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरलाई समेत डीआईजीद्धारा स्पष्टीकरण सोधिएको छ । आइतबार प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेपछि एसपी कुँवर एक्कासी बिरामी भएर कार्यस्थलमै अचेत भएका थिए । उनी स्वास्थ्य उपचार गराउनका लागि बिदामा बसेका छन् ।
प्रहरी प्रमुखहरुले आफू मातहतमा सादा पोसाकका प्रहरी खटाउने निर्देशिका नै छ । सो निर्देशिकामा कस्ता र के आधारमा सादा पोसाकको प्रहरी खटाउने भन्ने विषयमा समेत उल्लेख गरिएको छ । जस अन्तर्गत संगठन मातहतका कार्यालयहरुमा प्रमुखले आफू भन्दा तलका दर्जाका कर्मचारीहरुलाई ‘घुमुवा’ खटाउँदै आएका छन् । यस्ता सादा पोसाकका प्रहरीहरुलाई ‘सुराकी’ भन्ने चलन पनि छ । विशेषगरी डीआईजी र एसपीहरुले ‘घुमुवा’ राख्ने गर्दछन् । तर, मधेश प्रदेशमा हरेक दर्जाका प्रहरी कर्मचारीले आफू भन्दा तलका कर्मचारीहरुलाई घुमुवा राख्ने गरेका छन् भने ‘घुमुवा’ प्रहरीले समेत आफू तल सर्वसाधारण नागरिकलाई ‘घुमुवा’ बनाएर प्रयोग गर्ने गरेको प्रहरी स्रोतले नै जनाएको छ ।
यसरी खटाइएका ‘घुमुवा’ प्रहरीहरुको काम समाजमा घुलमिल भएर गोप्य सूचनाहरु बाहिर निकाल्ने र अनुसन्धानमा सहजता ल्याउनु हो तर, ‘घुमुवा’ हरु तस्कर, व्यापारी र अपराधिक गतिविधिमा लागेका व्यक्तिहरुसँग तालमेल गरेर त्यहाँबाट अवैद्य रकम उठाई प्रहरी प्रमुखहरुसँग ‘सेटिङ्ग’ मिलाउने काममा बढी संलग्न हुँदै आएका छन् । मधेश प्रदेशका आठै जिल्लामा २ सय भन्दा बढी प्रहरी घुमुवाहरु खटाइए पनि हाल अधिकांश कार्वाहीमा परेका छन् भने अहिले ५० जना जति काममा रहेको डीआईजी थपलियाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !