ज्योति विकास बैंकले गर्यो सातै प्रदेशमा वृक्षारोपण
ज्योति विकास बैंकले देशव्यापी रूपमा सातै वटा प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर सात विभिन्न प्रदेशको विभिन्न स्थानमा कार्यक्रम गरी १७०० वटा वृक्षारोपण गरेको छ। उक्त कार्यक्रम बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत गरेको हो।
कार्यक्रम अन्तर्गत सातै प्रदेशमा समान रूपमा वृक्षारोपण गर्दै प्रत्यक प्रदेशमा २५० वटा बिरुवा रोपिएको हो। यस पहलमार्फत वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित स्थानीय समुदायमा हरियाली विस्तार, स्वच्छ वातावरणको संरक्षण तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य बैंकले लिएको छ। रोपिएका बिरुवाहरूले दीर्घकालमा स्वच्छ हावाको आपूर्ति, पारिस्थितिक सन्तुलनको संरक्षण तथा दिगो जीवनशैलीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।
बैंकले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी देशव्यापी वृक्षारोपण गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरूप उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वृक्षारोपण सम्पन्न गरेको छ। ज्योति विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !