ट्रम्पले ‘नरक जस्तो ठाउँ’ भनेर टिप्पणी गरेपछि भारतले फर्कायो यस्तो जवाफ
भारत : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ‘नरक जस्तो ठाउँ’ भनेर दिएको टिप्पणीलाई भारतले ‘अशोभनीय’ र दुई देशबीचको सम्बन्धसँग मेल नखाने भन्दै आलोचना गरेको छ । ट्रम्पले आफैंले प्रत्यक्ष रूपमा यो शब्द प्रयोग नगरे पनि उनले आफ्नो ट्रुथ सोसल खातामा बिहीबार एक पोस्ट पुनः शेयर गरेका थिए । उक्त टिप्पणी अमेरिकी दक्षिणपन्थी रेडियो होस्ट माइकल साभेजको थियो ।
अमेरिकी जन्मसिद्ध नागरिकताको नीतिको आलोचना गर्दै साभेजले भनेका थिए, ‘यहाँ जन्मिने बच्चा तुरुन्तै नागरिक बन्छ, अनि उनीहरूले चीन, भारत वा संसारका अन्य कुनै ‘नरक जस्तो ठाउँ’ बाट सम्पूर्ण परिवारलाई यहाँ ल्याउँछन् ।’ यस विषयमा प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले उक्त टिप्पणीलाई ‘स्पष्ट रूपमा गलत जानकारीमा आधारित, अनुपयुक्त र अशोभनीय’ भनेका छन् ।
उनले भनेका छन्, ‘यसले भारत–अमेरिका सम्बन्धको वास्तविकतालाई प्रतिनिधित्व गर्दैनन्, जुन लामो समयदेखि आपसी सम्मान र साझा हितमा आधारित छ ।’ अमेरिकी दूतावास, नयाँ दिल्लीले भने राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै ‘भारत एक महान देश हो र त्यहाँ शीर्ष नेतृत्वसँग मेरो राम्रो मित्रता छ’ भनेको जनाएको छ । चीनको विदेश मन्त्रालयले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
भारतको प्रमुख विपक्षी दल कांग्रेसले उक्त टिप्पणीलाई ‘अत्यन्त अपमानजनक र भारतविरोधी’ भन्दै आलोचना गरेको छ । उसले भनेको छ, ‘यसले हरेक भारतीयलाई चोट पुर्याउँछ ।’ पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा अमेरिकी राष्ट्रपति समक्ष कडा आपत्ति जनाउन आग्रह पनि गरेको छ ।
भारत सरकारका तथ्यांक अनुसार करिब ५.५ मिलियन भारतीय मूलका मानिसहरू अमेरिकामा बसोबास गर्छन् । भारतीय–अमेरिकी र चिनियाँ–अमेरिकीहरू अमेरिका भित्रका सबैभन्दा ठूलो एसियाली मूलका समुदाय हुन् ।
प्रतिक्रिया दिनुहोस !