मनोहरामा प्रतिकारपछि प्रहरी पछि हट्यो
भक्तपुर : मध्यपुरथिमि–१ स्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ। सरकारले दिएको समयसीमाभित्र केही बासिन्दाले बस्ती नछोडेपछि शनिबार साँझ डोजर चलाइएको हो।
साँझ करिब पौने ६ बजे १० वटा डोजर परिचालन गरी घरटहरा भत्काउन सुरु गरिएको थियो। त्यसअघि सामान हटाउन प्रहरीले सहयोग गरेको थियो। तर, बल प्रयोग गरेर टहरा भत्काएको भन्दै आक्रोशित बस्तीबासीले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
बस्तीबासीको ढुंगामुढाबाट डोजर जोगाउन खोज्दा करिब डेढ दर्जन सुरक्षाकर्मी घाइते भएका छन्। जिल्ला प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानासहित नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरीका ५ जना गरी १६ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काका अनुसार घाइतेहरूको अवस्था सामान्य छ। उनीहरूलाई भक्तपुर इन्टरनेसनल अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ। घटनास्थलमा सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतको नेतृत्वमा एक सयभन्दा बढी सुरक्षाकर्मी रनगर प्रहरी तैनाथ थिए।
एसपी खड्काले रातको समय र अन्धकार भएकाले अहिलेलाई बस्ती खाली गराउने कार्य स्थगित गरिएको बताए। ‘डोजर चलाउन विद्युत् काटिएकाले अन्धकार भएको मौका पारी एक समूहले अप्रत्याशित ढुंगामुढा ग¥यो, त्यसैले अहिलेलाई काम रोकिएको छ,’ उनले भने। आइतबार बिहानैदेखि पुनः बस्ती खाली गराइने प्रहरीले जनाएको छ।
बस्तीवासीको गुनासो, ‘कोठा नै पाइएन’
बस्तीवासीहरूले भने सरकारसँग जुध्ने रहर नभए पनि आफूहरूमाथि तिरस्कार गरिएको गुनासो गरेका छन्। सरकारले दिएको समय निकै छोटो भएको र बजारमा कोठासमेत पाउन नसकेको उनीहरूको भनाइ छ।
‘खोलाको गन्ध, बाढीको त्रास र सरकारको डर बोकेर बाँच्नु हाम्रो रहर होइन, बाध्यता हो,’ अरूको घरमा भाँडा माझेर परिवार पालिरहेकी कमला तामाङले भनिन्, ‘हामीलाई सम्मानजनक व्यवस्थापन चाहिन्छ, पेल्न खोजे मान्य हुँदैन।’
वि.सं. २०५८ देखि अतिक्रमण सुरु भएको मनोहरा खोला किनारमा हाल करिब ८ सय घरटहरामा ३ हजार ५ सय मानिस बसोबास गर्छन्। यो बस्तीमा बालबालिकाका लागि छुट्टै सामुदायिक विद्यालयसमेत छ। यही बस्तीकी बासिन्दा रीमा परियार हाल मध्यपुरथिमि नगरपालिकाकी निर्वाचित कार्यपालिका सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस !