संसदीय दलको नेता छान्न कांग्रेसलाई सकस

संसदीय दलको नेता छान्न कांग्रेसलाई सकस
सुन्नुहोस्

काठमाडौं : संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। सर्वसम्मत चयनका लागि भएको प्रयासमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति जुट्न नसक्दा शुक्रबार गर्ने भनिएको निर्वाचन पार्टीमा कुरा नमिल्दा हुन सकेन।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्न लाग्दा पनि संसदीय दलको नेता चुन्न कांग्रेस अक्षम देखिएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो। यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन्।

वार्ता टोली सदस्य तथा पार्टीका महामन्त्री गुरुराज घिमिरे यसको मुख्य कारण सर्वसम्मतिको प्रयास र संसदीय दलको विधान संशोधनमा सहमति जुट्न ढिलाइ हुनुलाई मान्छन्। उनी भन्छन्, ‘जुन हिसाबले बाहिर कुरा आएको छ, त्यस्तो होइन। सहमतिको प्रयास भइरहेको छ। सहमति नभए निर्वाचनमा जाने विकल्प त छँदैछ।’

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट ३८ मध्ये प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन्। यिनै सांसदमध्येबाट संसदीय दलको नेता छानिने हुन्। कांग्रेसमा २०६४ को निर्वाचनपछि संसदीय दलको नेता सर्वसम्मत चयन भएको छैन। निर्वाचनबाटै नेता छानिने गरेका छन्। २०७९ को निर्वाचनपछि महामन्त्री गगन थापा र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको थियो, जसमा देउवा विजयी भएका थिए।

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले दलको नेता चयन गर्न नसक्दा संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको छैन। थापा निकट एक नेताले शीर्ष नेतृत्वले व्यक्ति रोज्न खोज्दा समस्या देखिएको भन्दै भने, ‘नेताहरूको स्वार्थ बाझिएकाले पनि ढिलाइ भएको हो। यद्यपि अब मिल्नु र सकेसम्म सहमति गर्नु, नत्र चुनावकै विकल्प छैन।’

गगन थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य र उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अगाडि सार्न खोजेका छन्। आङ्देम्बे पाँचथरबाट समानुपातिकमा निर्वाचित सांसद हुन्। उनले थापाको स्पिरिटमा पार्टी र संसद्मा बलियो प्रतिपक्षको भूमिका निभाउने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘यति लामो जीवन पार्टीमै समर्पित गरेको छु। मलाई यो पक्ष र त्यो पक्षको नभनियोस्। म नेपाली कांग्रेसको इमानदार कार्यकर्ता हुँ। म सभापतिज्यूको स्पिरिटमा संसद्मा बलियो प्रतिपक्ष र पार्टीमा पनि त्यहीअनुसार काम गर्न चाहन्छु।’

अर्कोतिर थापाका नातामा ससुरा पर्ने शीर्ष नेता अर्जुननरसिंह केसी पनि बलियो दाबेदार छन्। थापा निकटका नेता भने केसीको पक्षमा देखिएका छैनन्। आकांक्षी आङ्देम्बे १४औं महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
कांग्रेसको संस्थापन पक्षबाट मोहन आचार्यले उम्मेदवारी दिँदैछन्। इन्जिनियर आचार्यले रसुवाबाट प्रत्यक्ष चुनाव जित्दै आएका छन्। उनी थापा निकटका व्यक्ति हुन्।

संसदीय दलको निर्वाचनलाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ। दलको नेता चयन भएसँगै संसद्मा कांग्रेसको भूमिका र प्रतिपक्षी मोर्चाको रणनीति अझ स्पष्ट हुनेछ।समीकरणअनुसार हेर्ने हो भने संस्थापन पक्ष बलियो छ। समानुपातिक र प्रत्यक्षमा संस्थापन तिरकै बहुमत छ। यद्यपि सहमति नजुटे पनि देउवा पक्ष भने जस्तोसुकै परिणाम आए पनि आन्तरिक रूपले आफूहरूको अस्तित्व देखाउन लागिपरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.