इरानी विदेशमन्त्री रुस भ्रमणमा जाँदै, पुटिनसँग भेटवार्ता गर्ने
मस्को : इरानी विदेशमन्त्री अब्बास अराघची रुसको भ्रमणमा जाने भएका छन्। राजधानी मस्कोमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
रुसका लागि इरानी राजदूत काजेम जलालीलाई उद्धृत गर्दै इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले यस भ्रमणबारे जानकारी दिएको हो। राजदूत जलालीका अनुसार यो भेटवार्ता आज अर्थात् सोमबार नै हुनेछ।
भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले रुसी अधिकारीहरूसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय ताजा परिस्थिति, युद्धविरामको प्रयास र त्यससँग सम्बन्धित घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ ।
रुसी विदेश मन्त्रालयले पनि आइतबार अराघची मस्को आउन लागेको कुरालाई पुष्टि गरेको छ।अब्बास अराघचीले पछिल्लो समय मध्यपूर्वको तनावपूर्ण परिस्थितिलाई लिएर कूटनीतिक सक्रियता बढाएका छन्। यसअघि उनले पाकिस्तान र ओमानको भ्रमण गरी त्यहाँका उच्च अधिकारीहरूसँग यस विषयमा गहन छलफल गरिसकेका छन्।
इरानी विदेशमन्त्री २४ घण्टाभित्रै दोस्रो पटक इस्लामाबाद पुगेका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध छिट्टै समाप्त हुने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !