इरानी विदेशमन्त्री अब्बास अराघची रुस पुगे
काठमाडौं : इरानका विदेशमन्त्री अब्बास अराघची रुस पुगेका छन्। त्यहाँ पुगेपछि उनले आफू रुससँग निरन्तर सम्पर्कमा रहेको तर युद्धका कारण केही समयदेखि भेटघाट हुन नसकेको बताए।
रुसको सेन्ट पिटर्सबर्गमा पुगेर अराघचीले भने, 'हामीले हाम्रा रुसी साथीहरूसँग युद्धको अवस्था र वर्तमान परिस्थितिबारे छलफल गर्नेछौँ र ताजा अवस्थाको समीक्षा गर्नेछौँ। यसका लागि आवश्यक समन्वय गर्नु स्वाभाविक हो।'
पाकिस्तानको उल्लेख गर्दै अराघचीले भने, 'इरान-अमेरिका वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निभाएको छ। हामीले पाकिस्तानमा रहेका हाम्रा साथीहरूसँग राम्रो कुराकानी गर्यौँ, अल्लाहको कृपाले त्यो भ्रमण निकै सफल रह्यो।'
उनले थपे, 'हालसम्म के-के भयो भन्नेबारे हामीले समीक्षा गर्यौँ र आगामी वार्ता कसरी र कुन सर्तमा अगाडि बढ्न सक्छ भन्ने विषयमा पनि छलफल गर्यौँ।'
राजधानी मस्कोमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यसअघि अराघची पाकिस्तान र ओमान गएका थिए, जहाँ मध्यपूर्वको ताजा अवस्थाबारे विस्तृत छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस !