गाउँपालिका भन्छ– अध्ययनै भएन

गोक्योको लामो हिमनदीले ल्याउँदैछ त्रासदी

गोक्योको लामो हिमनदीले ल्याउँदैछ त्रासदी
खुम्बु क्षेत्रमा पर्ने गोक्योस्थित मुलुककै लामो हिमनदी ङ्गोजोम्पा। तस्बिर : बालकृष्ण बस्नेत
सुन्नुहोस्

गोक्यो (सोलुखुम्बु) : नेपालको सबैभन्दा लामो हिमनदी हो ङ्गोजुम्पा। जलवायु परिवर्तनका कारण खुम्बुको माथिल्लो गोक्यो भेगमा पर्ने यो नदीले दिनानुदिन खतरा निम्त्याइरहेको छ। तर, अध्ययन छैन, पर्याप्त बजेट पनि छैन। संघीय सरकारमात्र होइन, यससम्बन्धी अनुसन्धान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको समेत ध्यान पुगेको छैन।

परिणामतः दुई दशकको अवधिमा यो हिमनदीमा आनको तान फरक देखिएको छ। पृथ्वीको तापक्रम बढेसँगै हिमनदी पग्लिएर पानीको सतहमा व्यापक फेरबदल आएको छ। जमिनमाथि साना दुई दर्जनभन्दा बढी ताल उब्जिएका छन्। एकैचोटी हिमनदी पग्लिए वा विस्फोट भए परिणाम के हुने भन्ने त्रासदी कायमै छ।

हिमनदीमाथि देखिएका नाटकीय परिवर्तन र पोखरीहरूको संख्या देखेर विज्ञहरू आश्चर्यमा परेका छन्। यसै साता उक्त क्षेत्र पुगेका हिमनदी विज्ञ अरुणभक्त  श्रेष्ठ भन्छन्, ‘सबैभन्दा उल्लेखनीय परिवर्तन भनेको हिमनदीको तल्लो भागमा गेगरले ढाकिएको क्षेत्रमा भएको हिमनदी पग्लिएर सतह तल झर्नु हो। हिमनदी माथिका पोखरीहरूको संख्या र आकारमा भएको नाटकीय वृद्धि हो।’ श्रेष्ठका अनुसार यी पोखरीहरू पहिले तल्लो ‘टर्मिनस’ क्षेत्रमा मात्र केन्द्रित थिए। तर, अहिले माथिल्लो भागमा समेत देखिन थालेका छन्। ‘अबचाहिँ हामी गम्भीर हुनैपर्छ। विस्फोट हुनुअघि नै पर्याप्त अध्ययन, अनुसन्धान भई प्रकोपबाट जोगिनुपर्ने अवस्था टड्कारो छ।’

समुद्री सतहभन्दा ४ हजार ८ सय मिटरमाथि रहेको गोक्यो क्षेत्रमा एकातिर विभिन्न रमणीय ताल छन्। गोक्यो पहिलो, दोस्रो, तेस्रो, चौथोसम्म चर्चित छन्। जमिनको एकातिर रहेको ‘फ्रेस वाटर ताल’मा विभिन्न जीव आश्रित छन्। मनमोहक ती तालको दृश्य अवलोकन गर्न देश–विदेशबाट पर्यटकको घुइँचोसमेत लाग्ने गरेको छ। अर्को धारमा भने हिमनदीको त्रासदीपूर्ण अवस्था छ। तीमध्येकै एक हो– ङ्गोजुम्पा।

ङ्गोजुम्पा हिमनदी विश्वको छैटौं अग्लो हिमाल चोयुको फेदीमा अवस्थित छ। यो नेपालको सबैभन्दा लामो हिमनदी हो। यसको लम्बाइ झन्डै ३६ किलोमिटर छ। सगरमाथा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो हिमनदी गोक्यो क्षेत्रको पानीको महत्वपूर्ण स्रोतसमेत हो। र, यो दूधकोशी नदीको उद्गम स्थल हो। यति खतराजनक अवस्था नदेखिए पनि २ वर्षअघि यही हिमनदी रहेको गाउँपालिका खुम्बु पासाङल्हामुमा पर्ने थामेमा विशाल हिमपहिरो गएको थियो। त्यसले बस्ती नै बगाएको थियो। उक्त पहिरोपछि यूएनडीपी, इसिमोड, अमेरिका हिमालयन फाउन्डेसनसहितले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) मार्फत अध्ययन गर्दै पूर्वसूचना प्रणालीसमेत थामेमा जडान गरेका थिए।

गोक्यो क्षेत्रमा भने यति काम समेत हुन नसकेकामा चिन्ता व्यक्त गर्छन् गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पा। ‘कम्तीमा यो क्षेत्रमा समेत पूर्वसूचना प्रणाली हुनुपर्छ भनेर हामीले कराइरहेका छौं। संघीय सरकारलाई अध्ययन, अनुसन्धानका लागि पर्याप्त बजेट र समन्वय हुनुपर्छ भनेर झकझक्याइरहेका छौं,’ शेर्पा भन्छन्, ‘तर, हाम्रो सुनुवाइ भइरहेको छैन।’

जलवायु परिवर्तन र पर्यटन प्रबर्द्धनमा क्रियाशील संस्था ‘साथसाथै’ ले यसै साता यो क्षेत्रमा ‘गोक्यो क्लाइमेट समिट’ सम्पन्न गरेको छ। त्यसक्रममा विज्ञहरू, प्रशासक, वातावरण अभियन्ता, सञ्चारकर्मीसहित पुगेर त्यहाँको वस्तुस्थिति बुझ्दै अन्तक्र्रिया गरे। जलवायु परिवर्तनका दुष्परिणाम रोक्न, हिमाल बचाउन र हिमनदी विस्फोटबाट जोगाउन विभिन्न ९ बुँदे घोषणापत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गरिएको साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन्।

‘हिमनदी फुटेर हेलम्बु, मेलम्ची होस् या थामेको पहिरोले ल्याएको विनाशपछि चिन्ता गर्ने मात्र होइन, पहिले नै सरकार सजग भई प्रकृति विनाशबाट जोगाउनुपर्छ भन्ने हाम्रो मुख्य जोड हो,’ अध्यक्ष कार्कीले भनिन्।

सगरमाथाको अवरुद्ध बाटो खुल्यो
सर्वोच्च शिखर सगरमाथा प्रस्थान गर्ने क्रममा हिउँको ढिस्कोले रोकिएको बाटो मंगलबारदेखि खुलेको छ। सगरमाथा आधारशिविर र क्याम्प १ बीच ठूलो ढिस्कोले बाटो रोकिएपछि केही सातादेखि आरोहीहरू रोकिएका थिए।

‘तत्काललाई बाटो खुलेको छ। आरोहीहरू अघि बढेका छन्। यद्यपि पूरै खतरामुक्त भने छैन,’ खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अन्नपूर्णलाई बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.