मकवानपुरमा लामो समयदेखि रुग्ण अवस्थाका योजनाहरुले लिँदै गति
हेटौंडा : बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत लामो समयदेखि रुग्ण (अलपत्र) अवस्थामा रहेका ४३ वटा योजनामध्ये ३४ वटाको निर्माण कार्य पुनः सञ्चालनमा आएको छ । मन्त्रालयको ‘रुग्ण आयोजना सम्पन गर्ने’ नीतिअनुरूप पूर्वाधार विकास कार्यालय मकवानपुर अन्तर्गत पर्ने मकवानपुरगढीको सामरी, सिक्रे दोभान, लालझाडी पुल, राप्ती करिडोरलगायतका स्थानहरुको कामले गति पाएका हुन् ।
अलपत्र परेका योजनाहरुले यसरी लिँदैछन् निर्माण कार्यमा गति भाङटार खहरे खोला बक्सपुल आयोजना हेटौंडा उपमहानगरपालिका–६ र ७ जोड्ने भाङटार खहरे खोलाको बक्सपुल निर्माण अन्तिम चरणमा पुगेको छ । यसअघि उपमहानगरपालिकाले सुरु गरेर पूरा गर्न नसकेको यो पुल बागमती प्रदेश सरकारले करिब एक करोड ७९ लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण सम्पन्न हुने अवस्थामा पुगेको हो । करिब १८ मिटर लम्बाइ र ८.४० मिटर चौडाइ रहेको यस पुलको अब रेलिङ राख्ने काम मात्रै बाँकी छ। यस योजना अन्तर्गत ७६० घनमिटर जालीको काम सकिएको छ भने २७० घनमिटर प्लम वालको काम अन्तिम चरणमा छ । निर्माणको जिम्मा पाएको सरस्वती निर्माण सेवाले २०८३ जेठ १५ को म्याद अगावै पुल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।
लालझाडी पुलले लिँदै गति
राप्ती करिडोर : चौकीटोलदेखि राप्ती पुलसम्मको २.३४ किलोमिटर राप्ती करिडोर निर्माणको काम डिजाइन र सीमा विवाद समाधान भएपछि धमाधम भइरहेको छ । गजुरमुखी–शिवशक्ति–निशान जेभी काठमाडौंले २०७६ सालमा ठेक्का लिएको यस योजनाको लागत १३ करोड ८४ लाख रुपैयाँ रहेको छ । फिल्ड इन्जिनियर यादवका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ भने ९ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
हेटौंडा चक्रपथ स्तरोन्नति : चक्रपथ परियोजना अन्तर्गत हेटौंडा–१४ र १५ को खहरेमा ८५० मिटर ढलान, फुटपाथ ग्रेड र ग्याबियन वाल बनाइने काम भइरहेको छ । सुन्दर नेपाल–रोजा–स्यार्सेकाली जेभीले २ करोड ८९ लाखमा ठेक्का सम्झौता गरेको यस योजनामा वडा नं. १४ को काम सकेर १५ तर्फ काम सुरु गरिएको छ । हालसम्म यसको भौतिक प्रगति ३८ प्रतिशत रहेको छ ।

कर्रा खोला पुल : हेटौंडा–१७ र १८ जोड्ने कर्रा खोलाको निर्माणाधीन पुलको काम ८८ प्रतिशत सकिएर पनि अदालती प्रक्रियाका कारण रोकिएको थियो । २०७४ सालमा इलिट–सपना–विद्याञ्चल जेभीले ५ करोड २६ लाख रुपैयाँमा निर्माण जिम्मा लिएको यस पुलको विवाद हाल अदालतबाट निरूपण भइसकेको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर कृष्ण खनालका अनुसार अब काम पुनः सुरु हुने चरणमा छ भने म्याद २०८३ असार २५ गतेसम्म थपिएको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरले जिल्लामा लामो समयदेखि अलपत्र रहेका आयोजनाहरूलाई प्राथमिकतामा काम भईरहेको भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताए । उक्त योजनाहरुलाई छिटो छरिटो र गुणस्तरिय रुपमा सम्पन्न गर्न आफै हिजो मंगलबार मात्रै हेटौंडा–१ स्थित लालझाडी जोड्ने पुल, राप्ती करिडोर, वडा नं. ६ को भाङटार पुल, हेटौंडा चक्रपथ (रिङरोड) अन्तर्गत वडा नं. १५ को खहरे ढलान र वडा नं. १७ स्थित कर्रा खोला पुलको निर्माणाधीन संरचनाको निरीक्षण गएको बताए ।

अनुगमनको क्रममा मन्त्री डा. देवकोटाले सुरु भइसकेका योजनाहरू तोकिएको समय सीमाभित्रै सम्पन्न गर्न र रोकिएका योजनाहरू तत्काल अगाडि बढाउन निर्देशन दिएको बताए । यस्तै समयमै काम सम्पन्न गर्न आवश्यकता अनुसार कामदार थप्न निर्माण व्यवसायीलाई आग्रह गरेको छु, ‘जनतालाई प्रत्यक्ष लाभ हुने कुरामा हामी ढिलासुस्ती चाहँदैनौं । गुणस्तर हाम्रो पहिलो प्राथमिकता हो, त्यसमा कुनै सम्झौता हुँदैन । अझै कामदार थप्नुस्, समयमै काम सम्पन्न गरेर भुक्तानी लिनुस्, भुक्तानीमा कुनै समस्या हुने छैन ।’
यस्तै पूर्वाधार विकास कार्यालय मकवानपुरले जिल्लामा लामो समयदेखि अलपत्र रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले बताए । ‘विगतमा विभिन्न कारणले रोकिएका आयोजनाहरूलाई वर्गीकरण गरी काम सुरु गरिएको छ । मकवानपुरका प्रायः सबै ‘क्रोनिक’ (रुग्ण) आयोजनाहरूमा काम सुरु भइसकेको छ र धेरैमा प्रगति समेत हासिल भएको छ,’ उनले बताए ।
प्रतिक्रिया दिनुहोस !