अनि स्वीकार गरिन् फुन्जोले दुई श्रीमान्...
चुम उपत्यका (गोरखा) : चुमनुब्री गाउँपालिका–७ को निले गाउँ गोरखा र तिब्बत सीमाको नजिकै रहेको बस्ती हो। आधा बाटोसम्म गाडी चढेर जान सक्ने भएपछि यहाँ पुग्न अहिले दुई दिन र एक बिहान पैदल हिँड्नुपर्छ। यही गाउँको सबैभन्दा सिरानमा बस्छिन् फुन्जो डोल्मा। उनी अहिले ४० वर्षकी भइन्।
उनको काखमा दुई छोरा छन्, दुई वर्ष र तीन वर्षका। अनि, साथमा श्रीमान् पनि दुई जना छन्, निमा र सोनाम। निमा डुन्डुप ३९ वर्ष पुगे, अर्का सोनाम भर्खर ३० पुग्दै छन्।
निमाले उनलाई एकतर्फी प्रेम गरेको त २३ वर्षअघि नै हो। फुन्जोको जन्मघर चुमनुब्री–६ लोक्पा हो, जहाँबाट निले पुग्न एक दिनको बाटो पैदल हिँड्नुपर्छ। प्रेम कहानी सुनाउँदै उनी भन्छिन्, ‘त्यतिबेला हामी गहुँ, फापर काट्ने काम गर्न यहाँसम्म आउँथ्यौं।’
फुन्जो डोल्माले निमा र सोनामसँग बिहे गरेको भर्खर ४ वर्ष भयो। त्यसअघि उनी लोक्मामा बस्थिन्। त्यसभन्दा अझै अघि उनी काठमाडौंमा बस्थिन्। त्यतिबेला हातमुख जोर्ने जोहो गर्न दुबई गएकी थिइन्। कम्पनीमा काम गर्दा नेपालगन्जको बाहुन–क्षेत्री समुदायको एउटा पुरुष साथीसँग चिनजान भयो। चिनजानले माया प्रेमसम्म पुर्यायो। माया प्रेमले गर्भवती बन्ने अवस्थामा पुर्यायो। ‘म पक्का बिहे गर्ने हो भनेर बच्चा बोकायो’, उनले धोका खाएको कुरा सुनाइन्।
दुबईमा गर्भवती महिलालाई काम गर्ने वातावरण मिल्दैनथ्यो। ‘काम नगरी दुबईमा बस्न खर्च धान्न गाह्रो हुन्छ भनेर उसैले काठमाडौंमा फर्कायो’, फेरि तीतो विगत सम्झँदै फुन्जोले भनिन्, ‘बच्चा तीन महिनाको पुगेपछि ऊ पनि काठमाडौं आयो। सँगै बस्यो तर आठ महिनाको गर्भ भएपछि घर गयो। बच्चा जन्मिने बेलामा आउँछु भन्थ्यो। मोबाइलमा सम्पर्क त भइरहन्थ्यो तर बच्चा जन्मिने बेथा लागेपछि फोन गर्दा सम्पर्क हुन नसक्ने बनायो। त्यस दिनदेखि सम्पर्कमा छैन।’ उनी बेपत्ता भएपछि ११ वर्षकी छोरीको अहिलेसम्म जन्मदर्ता बनाउन नपाएको उनको गुनासो छ।
माइतीको सहयोगले उनी जसोतसो लोक्पा आइपुगिन्। छोरीलाई लामा गुरुले छात्रवासमा राखेर निःशुल्क पढाइरहेका छन्। माइतीघरमै रहँदा निमा डुन्डुप पुरानो प्रेमी खोज्दै लोक्पा पुगेका थिए। ‘पहिला त ऊ (निमा)ले मलाई माग्न चार जना इष्टमित्र पठायो। आमाले पनि दिन्न भन्नुभो, मैले पनि ‘भो जान्न भनें’, हाँस्दै भनिन्, ‘एकपल्टमै हस्, हुन्छ कसले भन्छ त हगि ?’ पछि आफूहरू फोनमा बोल्न थालेको उनले स्वीकार गरिन्।
पछि एक दिन साथीभाइ, दलबलको प्रयोग गरी जबरजस्ती तानेर ल्याएको निमाले बताए। ‘एक दिन उनीहरू रेन्जोममा काम गर्न आएको थाहा पाएँ’, निमा डुन्डुपले भने, ‘त्यस दिन मचाहिँ गइनँ। मैले सोनाम भाइ र अरू १२, १३ जना साथी पठाएँ। त्यहाँबाट च्यापचुप समातेर ल्याएको हो।’ उनको मौन स्वीकृतिअनुसार तानेर ल्याएको निमाले बताए।
आफूलाई तानेर ल्याएपछि दाजु र भाइ दुवैलाई श्रीमान् बनाउनुपर्ने सहमति भएको फुन्जो बताउँछिन्। ‘हामी माइतमा पनि दुःख पाएको मान्छे हो। यहाँ घरको अवस्था पनि उस्तै रहेछ। तानेर ल्याएको भोलिपल्ट सबै इष्टमित्रले खादा लगाएर दाजुभाइसँग मिलेर बस्नुपर्छ भन्नुभयो अनि मैले हुन्छ भनें’, फुन्जोले भनिन्, ‘दाजुभाइ मिलेर बस्न सकेमा यसरी बसेको धेरै राम्रो हो। अरूको कुरा सुन्नुहुँदैन। म बुढी हुँदै गए पनि उनीहरूले मन बिगारेर अन्त लाग्नुहुँदैन। कि पहिल्यै छट्टाछुट्टै बस्ने भन्नुपर्छ। पहिलाचाहिँ दाजुभाइले मसँगै बस्ने भने पनि पछि धोका दिन मिल्दैन।’
तर, निमा र सोनाम दुवैजना असाध्यै असल र एकदम मिल्ने भएकाले आफूले धोका नखाने उनले विश्वास व्यक्त गरिन् । ‘निमा र सोनाम दुवैजना धेरै असल छन्। सिधासादा छन्। मिल्छन्। मन बिगार्दैनन्’, उनले भनिन्, ‘उनीहरू दाजुभाइको कुरा ठूलो हो। मलाई तानेर ल्याउनु अघि नै दाजुभाइसँग बस्नुपर्छ भनेर कुरा गरिसकेपछि अहिले उमेर ठूलो हुँदै गएपछि अर्को कुरा गर्नु हुँदैन।’ सधंै मिलेर जीवन बिताउने विश्वास उनले व्यक्त गरिन्।
विवाह दर्ताको कागजमा पनि उनले जेठो श्रीमान्को नाममा निमा डुन्डप भनेर उल्लेख गरेकी छिन्। दुई सन्तानको जन्मदर्ता कागजमा पनि जेठो बुबाको नाममा निमा डुन्डप भनेर उल्लेख गरेको उनी बताउँछिन्। ‘बालबच्चाहरूले निमालाई बुबा भन्छन्। सोनामलाई काका भन्छन्’, उनले भनिन्, ‘तर, बच्चा दुवैको हो। माया दुवैले दुवैलाई बराबर गर्छन्।’
दाजुभाइको एकै श्रीमती हुँदा धेरै कुरामा फाइदा हुने निमा डुन्डुप बताउँछन्। ‘पहिलो कुरा त हामी थोरै जायजेथा हुनेले सम्पत्ति बाँड्नु परेन’, उनी भन्छन्, ‘अर्को कुरा त एक भाइ घरमा बसेर घरको, बुबाआमा, बालबच्चाको रेखदेख गर्यो भने अर्को भाइ जहाँ काम गर्न जान पनि पाउँछ। धेरै फाइदा छ।’ त्यसैले चुम उपत्यकाको हरेक टोलमा दाजुभाइले एउटै श्रीमती राख्ने परम्परा कायम रहेको उनले बताए। कसैकसैको त तीन दाजुभाइ पनि एउटै श्रीमतीसँग बसेका उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !