विशेष क्षमता भएका रोल्पाका सन्देश बुढालाई शिवम् सिमेन्टले माध्यमिक तहसम्म पढाउने
काठमाडौं : शिवम् सिमेन्ट्सले आर्थिकरूपमा कमजोर तथा विशेष क्षमता भएका रोल्पाका एक बालकलाई शैक्षिक सहयोग गर्ने भएको छ। रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगर जन्मजात दुबै हात नचल्ने अवस्थामा रहेका छन्। उनी हालसम्म खुट्टाको सहाराले लेख्दै अध्ययन गर्दै आएका छन् । उनले कक्षा ५ उत्तीर्ण गरिसकेका छन्।
तर,रोल्पामा अपाङ्गमैत्री विद्यालयको अभाव तथा कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा कठिनाइ देखिएको पारिवारिक स्रोतले जनाएको छ। शिवम् सिमेन्ट्सले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय,जोरपाटीसँग समन्वय गरेको छ। साथै,उनको आवास र हेरचाहका लागि अपाङ्ग नवजीवन केन्द्र सँग सहकार्य गरिएको छ।
उक्त व्यवस्था अनुसार,अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास,हेरचाह तथा अध्ययन व्यवस्थापन गर्नेछ भने खगेन्द्र नवजीवन विद्यालयमा उनको अध्ययन सुनिश्चित गरिनेछ। सन्देशको माध्यमिक तहसम्मको शैक्षिक खर्च शिवम् सिमेन्ट्सले अर्धवार्षिक रूपमा केन्द्रमार्फत उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार,समाजका सबै वर्गको विकासमा योगदान गर्ने लक्ष्यअनुसार विशेष आवश्यकता भएका बालबालिकालाई उपयुक्त शैक्षिक अवसर प्रदान गर्न पाउँदा आफूहरू गौरवान्वित रहेको बताएको छ। शिक्षा नै सशक्त भविष्यको आधार भएकाले यस्ता बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्ने कम्पनीको भनाइ छ।
मगरको संघर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउने कम्पनीले अपेक्षा गरेको छ। कम्पनीले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !