उँभौलीयाम: गर्मी महसुस भएपछि आफै उँभो लाग्छन् भेडाबाख्रा

उँभौलीयाम: गर्मी महसुस भएपछि आफै उँभो लाग्छन् भेडाबाख्रा
सुन्नुहोस्

गोरखा : ‘जब गर्मी महसुस हुन थाल्छ, भेँडाबाख्रा आफैं लेकतिर पाइला बढाउन थाल्छन्’ भन्छन् चुमनुब्री ३ पाङसिङका भेँडा गोठाला बीरबहादुर गुरुङ। त्यसपछि उँभौलीयाम सुरु भएको मेसो पाउँछन् गोठालाहरू पनि। 

असोज, कात्तिकमा बेशी झरेका भेँडाबाख्रा उँभौलीको छनक देखिन थालेपछि आफसे आफ लेकतर्फ लाग्ने गुरुङको भनाइ छ। जिल्लाकै धेरै भेँडाबाख्रा पालन गर्ने चुमनुब्री ३ पाङसिङका हजारौं भेँडाबाख्रा अहिले लर्कन लागेर लेकतिर जान थालेका जगतका लक्ष्मण कार्कीको भनाइ छ। ‘दिनदिनै हुलका हुल भेँडाबाख्रा लेकतिर लागिरहेका छन्’, उनले भने, ‘चिसो बढ्न थालेपछि लेकबाट आरुघाट, र धादिङसम्म अनि उता धार्चे कटेर बारपाक र लम्जुङसम्म पनि पुग्ने रहेछन्। अहिले फेरि फर्काएर लेकतिर उकालो लागिरहेका छन्।’ दिनहुँ तीन चारसय जति भेँडा लेकतिर चढेका उनी बताउँछन्। ‘आज मात्र पनि तीन, चारजना गोठालाका करिब ४०० वटा भेँडा एकै पटक लावालस्कर लाएर उकालो लागेका छन्’, उनले भने। 

चुमनुब्री ३ को पाङसिङ, सिर्दिबास, न्याकफेदी, घट्टेखोला, नाग्चेत लगायत क्षेत्रका करिब ७० घरधुरी किसानले भेँडाबाख्रा पालन गरेका वडाध्यक्ष रामकुमार गुरुङको भनाइ छ। ‘भेँडाबाख्रा बेशीबाट गाउँमा ल्याउन थालेको केही दिन भयो। विस्तारै पाङसिङबाट माथि उकाल्न सुरु हुन्छ’, उनले भने, ‘अहिले लेक लागेपछि एकैचोटी असोज, कात्तिकमा तल झर्छ।’

हरेक वर्ष हिउँदो लागेपछि लेकका भेडाबाख्रा खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लम्जुङतिर झारिन्छ। कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने गर्छन्। चैत, वैशाख लागेपछि पुनः लेक लैजाने चलन रहेको वडाध्यक्ष गुरुङले बताएका छन्। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार पाँचसय भेँडा र आठहजार पाँचसय बाख्रापालन गरिन्छ। त्यस्तै ६ हजार पाँचसय याकचौरी पालन गर्ने केन्द्रले जनाएको छ।

लेकबाट बेशी झार्ने पनि मौलिक परम्परा छ। ‘लेकको गोठबाट वेशीचाहिँ राम्रो बार हेरेर झार्ने गर्छन्। लेकको गोठबाट पनि एकै दिनमा बेशी झार्दैनन्। हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइ पुर्‍याउँछन्’, पाङसिङका विकास गुरुङ भन्छन्, ‘अनि गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजानचाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ।’ 

अहिले धमाधम बेशीबाट गाउँमा भेँडा ल्याउन थालिएको उनको भनाइ छ। ‘गाउँमा ल्याएको भेँडाबाख्रा अब बिस्तारै बिस्तारै उँभौली लागेपछि जेठ दोस्रो सातासम्ममा लेकको गोठतिर पुर्‍याइन्छ’, उनले भने। भेँडाबाख्रा पालन गर्ने किसान धेरै भएकाले चुमनुब्री गाउँपालिका-३ मा गोठालाहरूलाई प्रोत्साहन कार्यक्रम लागु गरिएको छ। ‘गोठालाहरूलाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, गोठालाका लागि त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गर्ने गरेका छौँ’, चुमनुब्री ३ का वडाध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयंको २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ।’ 

पालिकाले भेँडाबाख्रा पालन गर्ने किसानलाई प्रोत्साहन दिन कार्यक्रम गरिरहे पनि बर्सेनि भेडाबाख्रा पालन गर्ने किसानको संख्या घटिरहेको उनको भनाइ छ। गोठालाहरूलाई प्रोत्साहन स्वरूप चुमनुब्री गाउँपालिकाले यस वर्ष घुम्ती गोठ सामाग्री वितरण कार्यक्रम सञ्चालन गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। कार्यक्रममा ९ वटा पशु फार्मको करिब डेढ सय जना आबद्ध रहेको उनले जानकारी दिए। गाउँपालिकाले भेडा गोठालाहरूलाई प्रोत्साहन गर्ने नीति सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.