दीक्षा दाहालको टेबुलटेनिस यात्रा

दीक्षा दाहालको टेबुलटेनिस यात्रा

एक दशकभन्दा लामो समयदेखि टेबुलटेनिसमा सक्रिय रहँदै आएकी दीक्षाको खेलयात्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलिसकेको छ ।

दीक्षा दाहाल, यो नाम पछिल्लो समय नेपाली टेबुलटेनिस खेलमा चर्चामा छ । महिला टेबुलटेनिसकी उदयीमान खेलाडी दीक्षाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई प्रमाणित पनि गर्दै आएकी छन् । विगत एक दशकभन्दा लामो समयदेखि टेबुलटेनिसमा सक्रिय रहँदै आएकी दीक्षाको खेलयात्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलिसकेको छ ।

धरानबाट सुरु भएको यात्रा
धरान उपमहानगरपालिका–१० कलेज रोडको छेउमा एउटा टेबुलटेनिस हल छ । दीक्षा त्यही हलको अगाडिपट्टि बस्थिन् । टेबुलटेनिस हलमा दिनहुँ मानिसको चहलपहल भइरहन्थ्यो । त्यहाँ हुने खेल हेरेर धेरैले रमाइलो पनि मान्थे । दिनहुँको भिडभाड र होहल्लाले दीक्षालाई पनि आकर्षित गर्‍यो ।

उनी अरूले खेलेको हेरेर रमाइलो मान्थिन् । मानिस नभएको समयमा उनी साथीहरूसँग टेबुलटेनिस पनि खेल्थिन् । विस्तारै उनलाई टेबुलटेनिसले आकर्षित गर्‍यो । पहिले केही समयका लागि हलमा पस्ने दीक्षाको अधिकांश समय टेबुलटेनिस खेलेरै बित्न थाल्यो । टेबुलटेनिसमा भुल्न थालेपछि परिवारले रोक्न पनि खोजेको थियो । तर, उनको मनमस्तिस्कमा टेबुलटेनिस बसिसकेको थियो । 

त्यसैले परिवारले जति गरे पनि दीक्षालाई त्यसबाट टाढा राख्न सकेनन् । त्यही बेला विराटनगरमा बृहत् प्रतियोगिता आयोजना भयो । दीक्षा धरानको टिममा पर्न सफल भइन् । सो प्रतियोगितामा दीक्षा सम्मिलित धरानले तेस्रो स्थान हात पार्न सफल भयो । त्यसपछि भने उनलाई परिवारबाट रोकतोक भएन । उनले निष्फिक्री रुपमा खोल्न पाइन् । परिवारलाई मनाउन प्रशिक्षक विनोद शाक्यले पनि निकै मेहनत गरेका थिए ।

पेरिस ओलम्पिक छनोटको प्रारम्भिक टोलीमा
दीक्षा सन् २०२४ को पेरिस ओलम्पिकका लागि नेपालमै आयोजना भएको छनोट प्रतियोगिताका लागि नेपाल टेबुलटेनिस संघले छनोट गरेको प्रारम्भिक टोलीमा परेकी थिइन् । तर, उनी छनोट चरण पार गर्न असफल भइन् । ‘अन्तिम टोलीमा स्थान बनाउन निकै मेहनत गरेको थिएँ । तर, टोलीमा अटाउन सकिनँ’, दीक्षा भन्छिन्, ‘मेहनत गरेर पनि भाग्यले साथ नदिँदा निरास हुनु पर्‍यो ।’

इन्टरटेनमेन्ट प्रतियोगिता जितेपछि चर्चाको शिखरमा
गत चैत ७ मा सातौं संस्करणको इन्टरटेनमेन्ट टेबुलटेनिस प्रतियोगिताको उपाधि जितेपछि दीक्षाको चर्चा थप चुलिएको थियो । महेश श्रेष्ठ र रनोजमान थकुसँग दीक्षाले यो प्रतियोगिताको उपाधि जितेकी थिइन् । राष्ट्रिय खेलाडी विपुल महर्जन, एलेन महर्जन र रवि धाख्वाको टिमलाई पराजित गर्दै दीक्षा, महेश र रनोजमानको टिमले उपाधि जितेको थियो । प्रतियोगितामा पहिलो स्थान हात परेको दीक्षा दाहालको टिमले थाइल्यान्ड भ्रमणको पुरस्कार पाएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल
दीक्षाले केही अन्तर्राष्ट्रिय र थुप्रै राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेकी छन् । सन् २०१६ मा पाकिस्तानको कराँचीमा आयोजना भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबुलटेनिस च्याम्पियनसिपमा एक रजत र एक कांस्य पदक जितेकी उनले सन् २०१९ मा भारतको कालिम्पोङमा भएको प्रतियोगिताको महिला डबल्समा रजत पदक जितेकी थिइन् ।

यस्तै २०६८ मा धनगढीमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य पदक जितेकी उनले २०७३ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा रजत पदक हात पारिन् । आठौं राष्ट्रिय खेलकुदमा पनि उनले कांस्य पदक जित्न सफल भइन् । यससँगै थुप्रै उमेर समूह तथा राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै आएकी छन् । हालै सम्पन्न अल नेपा वडा च्याम्पियनसिपमा पनि उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

बालबालिकालाई सिकाउँछिन् टेबुलटेनिस
धरानको सानो टेबुलटेनिस हलबाट सुरु भएको उनको यात्रा अहिले निकै विस्तार भइसकेको छ । दीक्षा आफू प्रशिक्षण गर्नुका साथै विद्यालयका बालबालिकालाई पनि प्रशिक्षण गराउँदै आएकी छन् । पछिल्लो समय दीक्षाले नेपालटारमा रहेको बालवाटिका विद्यार्थीलाई टेबुलटेनिस सिकाउँदै आएकी छन् । 

दीक्षा आफूले सकुञ्जेलसम्म टेबुलटेनिसमै सक्रिय रहने बताउँछिन् । ‘आफूले सकुञ्जेलसम्म टेबुलटेनिसमै सक्रिय हुन्छु’, दीक्षा भन्छिन्, ‘अब केही वर्ष खेल्छु । नेपालको नम्बर एक खेलाडी बन्ने र ओलम्पिकमा खेल्ने लक्ष्य छ । त्यसपछि भने प्रशिक्षणमा सक्रिय हुन्छु ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.