लुम्बिनीलाई प्रधानमन्त्री बालेनद्वारा बेवास्ता, खल्लो भयो बुद्धजयन्ती

लुम्बिनीलाई प्रधानमन्त्री बालेनद्वारा बेवास्ता, खल्लो भयो बुद्धजयन्ती

लुम्बिनी : अन्तर्राष्ट्रिय पहिचान बोकेको बुद्धजयन्ती उत्सवलाई प्रधानमन्त्री वालेन्द्र शाहले अवमूल्यन गरिदिएका छन्। संयुक्त राष्ट्रसंघले समेत वैशाख डेका रूपमा लुम्बिनीसहित विश्वभरका मुलुकहरूमा बुद्धजयन्ती मनाउने परम्परा बसालेको छ।

लुम्बिनीमा हुने कार्यक्रममा नेपालका सरकारप्रमुख सहभागी हुने परम्परा रहेको थियो। तर यस पटक प्रधानमन्त्री शाह लुम्बिनीमा आयोजित समारोहमा उपस्थित भएनन्। उनले विगतदेखिको परम्परालाई नजरअन्दाज गरिदिएका हुन्।

लुम्बिनी दिवसमा सहभागी अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका अधिकारीहरू समेत वालेन्द्रको निर्णयले चकित बनेका थिए। लुम्बिनीमा आयोजित शुक्रबारको बुद्धजयन्ती समारोहमा विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका अधिकारीहरू सहभागी रहेका थिए। तर, प्रधानमन्त्रीले कार्यक्रम तय भएको अन्तिम घडीमा अनुपस्थित हुने जनाएपछि यस पटकको समारोह खल्लो भएको छ।

अघिल्ला वर्षहरूमा बुद्धजयन्तीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित दिनभर लुम्बिनीमा हर्षोल्लासका साथ उत्सव मनाउने गरिएको थियो। तर, प्रधानमन्त्रीकै कारण बिहान ६ बजे नै औपचारिक समारोह राखिएपछि शान्ति पदयात्रासहितका महŒवपूर्ण कार्यक्रमहरू स्थगित गरिएका थिए।

चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष कृष्णबहादुर गुरुङले यसपालिको बुद्धजयन्ती उत्सव समारोह खल्लो भएको प्रतिक्रिया दिए। ‘लुम्बिनी विकास कोषले स्थानीयलाई पनि समेटेर उत्सव मनाउन सकेन। प्रधानमन्त्री पनि आउँछु भनेर आउनु भएन’, उनले भने, ‘प्रधानमन्त्रीज्यूले अरू कुरामा खेलबाड गरे पनि धर्मका बारेमा खेलबाड गर्नु राम्रो लागेन।’ दिवसमा गरिएको कार्यक्रम धेरै फितलो भएको समेत उनको प्रतिक्रिया छ। बुद्धजयन्ती मनाउने बारेमा एक महिना अघिदेखि नै चहलपहल हुने गरे पनि यसपालि त्यस्तो अनुभूति गर्न नपाएको उनले सुनाए।

कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष खड्गप्रसाद पौडेल (गणेश), लुम्बिनी प्रदेश सरकारका प्रमुख र मन्त्रीहरू उपस्थित भएका थिए। मायादेवी मन्दिर परिसरमा भव्य समारोह गर्ने भनेर सजावट गरिएको मञ्च र खाली कुर्सीहरू हेरेर अतिथिहरू फर्केका छन्। लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा भएको चर्चा तथा परिचर्चा बुद्धजयन्तीका दिन गरिएन। 

सभामुख अर्यालले मायादेवी मन्दिरभित्र करिब आधा घण्टा ध्यान गरेपछि कार्यक्रम सम्पन्न भएको हो। सभामुख अर्यालसहित विभिन्न मन्त्री र प्रदेश प्रमुखहरू बुद्धजयन्ती उत्सवमा एक शब्द नबोली फर्किएका छन्। विकास कोषका अध्यक्ष एवं पर्यटन मन्त्री पौडेलले आफ्नै नामबाट प्रधानमन्त्री सहभागी हुने भनेर अतिथिहरूलाई निमन्त्रणा पठाएका थिए। प्रधानमन्त्री शाह अघिल्लो दिनसम्म आउने कार्यक्रम तय भए पनि एकाएक रद्द भएको विकास कोषका पदाधिकारीहरूले सुनाएका छन्। बुद्ध जन्मस्थल मायादेवी मन्दिर परिसरमा भएको समारोहमा विगतको जस्तो उत्साह देखिएको थिएन।

अघिल्लो दिनदेखि निरन्तर परिरहेको वर्षात्ले समेत दर्शन गर्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरू प्रभावित भएका छन्। पर्यटकहरूले मायादेवी मन्दिर सहज रूपमा दर्शन गर्नसमेत पाएनन्। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको सम्झनामा बुद्धजयन्ती मनाउने गरिन्छ। गौतम बुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रूपमा मनाउने गर्छन्।

भगवान् विष्णुको नवौं अवतारका रूपमा बुद्धलाई बुझिन्छ। त्यसकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी जयन्ती मनाउँछन्। लुम्बिनीमा भिक्षु, भिक्षुणीलगायत हजारौं श्रद्धालु भक्तजनहरू सहभागी भएका छन्। लुम्बिनीस्थित बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा विशेष पूजा अर्चना तथा धार्मिक कार्यक्रमको समेत आयोजना गरिएको छ। बौद्ध धर्मावलम्बीहरूले दान, ध्यान, प्रवचनलगायतका कार्य गरी बुद्धजयन्ती मनाउने गर्छन्।

सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा लुम्बिनी सूचीकृत भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मेका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा निस्किएका थिए। बुद्धजयन्तीका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.