कप्तान दीपेन्द्रसिंह ऐरी

कप्तान दीपेन्द्रसिंह ऐरी
सुन्नुहोस्

अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

यसअघि ‘टाइगर’ उपनामले चिनिँदै आएका दीपेन्द्रसिंह ऐरीको नाममा अर्को परिचय थपिएको छ, कप्तान। नेपाल क्रिकेट संघ (क्यान) ले गत वैशाख ४ गते नयाँ घोषणा गरेको थियो, एकदिवसीय र टीट्वेन्टी टोलीको छुट्टाछुट्टै कप्तान।

नियमित कप्तान रोहित पौडेललाई एकदिवसीयको कप्तानको जिम्मेवारी दिँदै दीपेन्द्रसिंह ऐरीलाई भने संयुक्त अरब इमिरेट्स (यूएई) सँगको घरेलु मैदानमा आयोजना भएको ऐतिहासिक ‘अन्डर लाइट्स’ टीट्वेन्टी शृंखलाका लागि कप्तानको जिम्मेवारी सुम्पिएको थियो। यसअघि रोहित पौडेलले एकदिसवीय र टीट्वेन्टी दुवैको कप्तानी गर्दै आएका थिए। भारत र श्रीलंकामा आयोजना भएको आईसीसी टीट्वेन्टी विश्वकपमा पनि रोहितले नै नेपालको कप्तानी गरेका थिए। क्यानले पहिलो पटक एकदिवसीय र टीट्वेन्टी क्रिकेटका लागि दुई फरक टोली घोषणा गर्दै टिमको कप्तान पनि फरक तोकेको हो। 

क्यानले एक दिवसीयमा अनुभवी खेलाडीलाई प्राथमिकता दिँदा टीट्वेन्टीमा भने युवा र नयाँ खेलाडीलाई समावेश गरेको थियो। नेपालले गत वैशाख ७ र ८ गते घरेलु मैदानमा पहिलो पटक फ्लडलाइटमा टीट्वेन्टी खेल खेलेको थियो। यसै खेलबाट दीपेन्द्रले आधिकारिक रूपमा नेपालको सिनियर टोलीको कप्तानी गरेका हुन्।

यसअघि उमेर समूहमा कप्तानी गरिसकेका दीपेन्द्रले घरेलु क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा भने कप्तानी भूमिका निभाइसकेका छन्। टीट्वेन्टी  क्रिकेटमा दीपेन्द्र नेपालको पाँचौं कप्तान बनेका छन्। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलले नेपालको कप्तानी गरेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। केही समयअघि भारत र श्रीलंकामा सम्पन्न आईसीसी टीट्वेन्टी विश्वकपमा दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले टीट्वेन्टी विश्वकपमा लगातार दुई अर्धशतक प्रहार गरेका थिए। नेपाललाई १२ वर्षपछि टीट्वेन्टी विश्वकपमा पहिलो जित दिलाउन पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको थियो। 

उनले वेस्ट इन्डिजसँगको खेलमा ५८ र स्कटल्यान्डविरुद्ध अविजित ५० रन बनाएका थिए। इङ्ल्यान्डसँगको पहिलो खेलमा पनि उनले ४४ रन बनाएका थिए। वेस्ट इन्डिजसँगको खेलमा अर्धशतक बनाएपछि दीपेन्द्र १२ वर्षपछि टीट्वेन्टी विश्वकपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेका थिए। यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा टीट्वेन्टी विश्वकपमा डेब्यु गर्दा सुवास खकुरेलले अफगानिस्तानसँगको खेलमा अर्धशतक बनाएका थिए।

दीपेन्द्रकै कप्तानीमा नेपालको यू–१९ टिमले भारतको यू–१९ टोलीलाई पराजित गरेको थियो। सन् २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू–१९ एसिया कपमा कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। दीपेन्द्रकै कप्तानीमा सीवाईसी अत्तरियाले सन् २०१९ मा धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको थियो। नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि उनकै कप्तानीमा सुदूरपश्चिम रोयल्सले दुवै संस्करणमा फाइनलसम्मको यात्रा गरेको थियो। 

६ छक्का र दुर्लभ कीर्तिमान
दीपेन्द्रको नाममा विश्व कीर्तिमान छ। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुर्लभ कीर्तिमान बनाएका छन्। दीपेन्द्रले एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान बराबरी गर्दा टीट्वेन्टीमा नौ बलमै अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान पनि बनाएका छन्।
 

एसीसी टीट्वेन्टी प्रिमियर कप क्रिकेटअन्तर्गत कतारविरुद्धको खेलमा उनले लगातार ६ छक्का प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका थिए। ओमानमा आयोजना भएको एसीसी प्रिमियर कप क्रिकेटमा कतारका बलर कमरान खानको ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेका थिए। उनले २१ बलमा सात छक्का र तीन चौकाको मद्दतमा अविजित ६४ रन बनाएका थिए। उनले त्यसबेला १९ बलमै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रोपटक हो। यसअघि चीनको हाङझावमा आयोजना भएको १९औं एसियाली खेलकुदमा उनले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाउने क्रममा दुई ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने कतारविरुद्धको खेलमा हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने दीपेन्द्र पाँचौं खेलाडी हुन्। यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्स, सन् २००७ मै भारतका युवराज सिंहले टीट्वेन्टी विश्वकपमा इङ्ल्यान्ड, वेस्टइन्डिजका काइरन पोलार्डले श्रीलंका र अमेरिकाका जसकरण मलहोत्राले पपुवा न्युगिनीविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। युवराज सिंह र काइरन पोलार्डले टीट्वेन्टी र हर्सल गिब्स र जसकरण मलहोत्राले एकदिवसीय क्रिकेटमा ६ छक्का प्रहार गरेका हुन्।

दीपेन्द्रले सन् २०१८ मा लड्र्समा नेदरल्यान्ड्ससँगको खेलबाट टीट्वेन्टी क्रिकेटमा डेब्यु गरेका थिए। उनले सन् २०१८ मै घरेलु मैदानमा आयोजना भएको एकदिवसीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलबाट डेब्यु गरेका थिए। उनले ९४ टीट्वेन्टी खेलमा दुई हजार एक सय २५ रन बनाएका छन्। जसमा एक शतक र १२ अर्धशतक समावेश छ। यस्तै टीट्वेन्टीमा उनले ६० विकेटसमेत लिएका छन्।

यस्तै ६८ एकदिवसीयमा दीपेन्द्रले एक शतक र पाँच अर्धशतकसहित एक हजार दुई सय ४१ रन बनाउनुका साथै ४२ विकेट लिएका छन्। उनले पाकिस्तान सुपर लिग, ईयू टीट्वेन्टी बेल्जियम लिग, क्यानडाको ग्लोबल टीट्वेन्टी लिग र संयुक्त अरब इमिरेट्स (यूएई) को आईएल टीट्वेन्टी लिगजस्ता फ्रेन्चाइज लिग खेलिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.