नेपालमा प्रेस स्वतन्त्रता हनन् र दुर्व्यवहारका घटना बढ्दो

नेपालमा प्रेस स्वतन्त्रता हनन् र दुर्व्यवहारका घटना बढ्दो
सुन्नुहोस्

काठमाडौं : नेपाल पत्रकार महासंघले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको बताएको छ । विश्व स्वतन्त्रता दिवस (मे–३) को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सम्पूर्ण श्रमजीवि पत्रकार, सञ्चारगृह तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षामा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

इतिहासदेखि नै प्रेस स्वतन्त्रतामाथि विभिन्न तहबाट हस्तक्षेपको प्रयास हुँदै आएको बताउँदै अध्यक्ष शर्माले त्यसको सशक्त प्रतिवाद गर्दै आएको बताएकी छिन् ।  लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रता हननका घटनाहरू घट्नुको साटो बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताएकी छिन् । महासंघका अनुसार पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका १३१ वटा घटना अभिलेख गरिएको छ ।

 जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो । तीमध्ये पत्रकारमाथि  दुर्व्यवहार तथा धम्कीका ५१, सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेशागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ घटना छन् । यस अवधिमा दुई जना पत्रकार पक्राउ परेका छन् भने एक जनाको शंकास्पद मृत्यु भएको उल्लेख छ ।

२०८२ भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा मात्रै २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए । ती घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट तथा तोडफोड हुँदा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको महासंघले जनाएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।
अध्यक्ष शर्माले सरकारी विज्ञापनमा विभेद, लोककल्याणकारी विज्ञापनमा कटौती तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासप्रति पनि असन्तुष्टि व्यक्त गरिन् ।

यस्तै मिडिया काउन्सिल, सामाजिक सञ्जाल तथा सूचना प्रविधिसम्बन्धी विधेयकहरू प्रेस स्वतन्त्रतामा असर पार्ने खालका रहेको उनको आरोप छ । नयाँ सरकारप्रति संकेत गर्दै उनले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मौलिक हक र लोकतान्त्रिक मूल्यको संरक्षण हुने विषयमा महासंघ सशंकित रहेको बताइन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सुरुवात सन् १९९१ मा नामिबियाको विन्डहोकमा युनेस्कोको पहलमा भएको सेमिनारबाट भएको थियो । उक्त सेमिनारले ‘विन्डहोक घोषणापत्र’ जारी गरेपछि सन् १९९३ मा संयुक्त राष्ट्रसंघ महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्षको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ तय गरिएको छ । युनेस्कोले जाम्बियाको लुसाकामा विशेष कार्यक्रम आयोजना गर्दैछ भने अन्तर्राष्ट्रिय पत्रकार महासंघले पेरिसमा महाधिवेशनमार्फत दिवस मनाउने जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.