सुकुम्बासी व्यवस्थापनमा चुक्यो सरकार
भक्तपुर : पूर्व तयारी बिना खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा सरकार व्यवस्थापनमा चुकेको छ । काठमाडौंको होल्डिङ सेन्टर गुणस्तरीय नभएको र सबैलाई एकैलाइनमा सुताइएको भन्दै आलोचना बढिरहँदा काठमाडौंका सुकुम्बासीलाई भक्तपुर सारिएको छ ।
सरकारले चाँगुनारायणको खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुर थिमिस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुकुम्बासीलाई बसालेको हो ।
शनिबार खरीपाटीमा १ सय ३५ जनालाई राखिएको छ भने बोडेमा २६ जनालाई राखिएको छ । दुवै संस्थाले तालिम सञ्चालनका लागि स्थापना गरेका यी संरचना छुट्टाछुट्टै कोठा भएका र सुविधासम्पन्न मानिन्छन् । आफ्नै क्यान्टिन र खुला ठाउँ समेत भएकाले सरकारले आलोचनाबाट बच्न सुकुम्बासीलाई यहाँ सारेको एक सरकारी अधिकारीले बताए ।
दुवै संस्थामा तालिम सञ्चालन भइरहेकाले राख्न नसकिने भने पनि सरकारले जबर्जस्ती गरेको स्रोतले बतायो । सरकारी संरक्षणमा रहेका सुकुम्बासीले भने आफूहरूको शीघ्र व्यवस्थापन हुनुपर्ने बताएका छन् । आफूहरू सरकारले जहाँ लैजान्छ त्यहीँ जान बाध्य भएको उनीहरूले बताए । नयाँ शैक्षिक सत्र सुरु भएको तर, आफूहरूको बासस्थान सरकारले टुंगो नलगाउँदा बालबालिकालाई विद्यालय पठाउन समस्या भएको उनीहरूले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !