खेलाडीदेखि नीति निर्माणसम्म

खेलाडीदेखि नीति निर्माणसम्म

तेक्वान्दो खेलाडीबाट अन्तर्राष्ट्रिय निर्णायक र सफल प्रशिक्षकसम्मको यात्रा तय गरेका खड्गी अहिले खेलकुद प्रशासन र सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै नयाँ पुस्ताका लागि उदाहरण बनेका छन्।

विक्रम खड्गीको नाम नेपाली खेलकुद क्षेत्रमा जति चर्चित र लोकप्रिय छ, खेलकुदप्रति उनको लगाव, मेहनत, परिश्रम र समर्पण पनि उत्तिकै पुरानो र गाढा छ। सरल र मृदुभाषी व्यक्तित्वका धनी उनी विनम्र, शालीन र अनुशासित व्यक्तिका रुपमा परिचित छन्।

बाल्यकालदेखि नै खेलकुदप्रति गहिरो रुचि राख्दै आएका उनले अनेकौं चुनौती र कठिनाइ पार गर्दै आफ्नो यात्रालाई निरन्तर अघि बढाएका छन्। उनको दृढ इच्छाशक्ति, अटल आत्मविश्वास र अथक मेहनत नै सफलताको आधार बनेको छ। हारलाई पाठका रूपमा ग्रहण गर्दै र जितलाई अझै राम्रो गर्ने प्रेरणाका रूपमा लिँदै अघि बढ्ने उनको सकारात्मक सोच प्रशंसनीय छ।

विक्रमले केवल एक खेलकर्मीका रूपमा मात्र होइन, एक प्रेरणादायी व्यक्तित्वका रुपमा पनि आफूलाई स्थापित गरेका छन्। उनले देखाएको समर्पण, लगनशीलता र इमान्दारिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गरिरहेको छ। आफ्नो लक्ष्यप्रति पूर्णरूपमा समर्पित उनी उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

घरबाट सुरु भएको खेलकुद यात्रा
विक्रमले खेलकुदमा लाग्न धेरै संघर्ष गर्नु परेन। उनका जेठा दाजु प्रकाश खड्गी आफैं तेक्वान्दोका खेलाडी थिए। उनी प्रशिक्षणका लागि दैनिक रुपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आउजाउ गरिरहन्थे। उनले आफूले सिकेका कला विक्रमलाई पनि घरमै सिकाउँथे। सुरुमा घरबाटै सुरु भएको विक्रमको प्रशिक्षण २०५४ सालमा काभ्रेस्थली डोजाङ स्थापना भएपछि थप विस्तार भयो। बोरामा बालुवा भरेर विक्रमलगायतका खेलाडीले त्यतिबेला प्रशिक्षण गर्थे। 

विक्रम केही समयपछि प्रशिक्षणका लागि दशरथ रंगशाला जान थाले। घरबाट रंगशालासम्म पुग्न निकै सास्ती खेप्नुपथ्र्यो। त्यतिबेला गाउँसम्म सार्वजनिक यातायात सुरु भइसकेको थिएन। गाडी चढ्नका लागि पनि बालाजुसम्म पुग्नुपथ्र्यो। त्यसमाथि चाहेका बेला गाडी पनि पाइँदैन्थ्यो। त्यसैले उनी काभ्रेस्थलीबाट दौडिँदै रंगशालासम्म पुग्थे। प्रशिक्षण सकेर त्यसैगरी घर फर्किन्थें।

पढाइका कारण उनको तेक्वान्दो यात्रा केही वर्ष रोकियो। पढाइ पूरा गरेपछि फेरि २०५९ बाट उनी तेक्वान्दोमा लागे। त्यसयता निरन्तर रुपमा तेक्वान्दोमै समर्पित रहँदै आएका छन्। उनी २०६० सालमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि परेका थिए। दक्षिण एसियाली खेलकुदलाई लक्षित गरेर सञ्चालन गरिएको प्रशिक्षणमा उनी परेका थिए। तर, प्रशिक्षणका क्रममा उनको खुट्टाको लिगामेन्टमा समस्या देखियो। त्यसपछि उनले तेक्वान्दो खेल्न छाडेर प्रशिक्षणलाई अगाडि बढाए। त्यही बेला विश्व तेक्वान्दोले पुम्से विधा सुरु गरेकाले विक्रमले पनि त्यसलाई अंगाले। सन् २००७ मा उनले राष्ट्रिय रेफ्री परीक्षा उत्तीर्ण गरे। त्यसपछि विभिन्न प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरे। 

तेक्वान्दोमय परिवार
विक्रमको सिंगो परिवार नै तेक्वान्दोमय छ। परिवारमा १३ जना त ब्ल्याकबेल्ट मात्रै छन्। तर, पछिल्लो समय उनीसँगै भाइ सुदीप र भतिज प्रवीण मात्रै तेक्वान्दोमा सक्रिय छन्। परिवारका अरु सदस्यले भने तेक्वान्दो छाडिसकेका छन्। ‘सिंगो परिवार नै एउटै खेलमा भएका कारण रमाइलो हुन्छ। गफ पनि तेक्वान्दोकै हुन्छ’, विक्रम भन्छन्, ‘सबै जना खेलकुदमा हुँदा अनुशासनमा चाहिँ बस्नुपर्छ।’

डोजाङलाई निरन्तरता 
नेपालका पुरानो तेक्वान्दो डोजाङमध्येमा पर्छ, काभ्रेस्थली डोजाङ। २०५४ सालमा प्रकाश खड्गीले स्थापना गरेको यो डोजाङलाई अहिले विक्रमले सञ्चालन गर्दै आएका छन्। विक्रमलाई प्रशिक्षणमा प्रवीण र सुदीपले पनि सहयोग गर्दै आएका छन्। यस डोजाङबाट थुपै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेको छ। डोजाङका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल पनि सावित गरिसकेका छन्। यससँगै उनी विभिन्न विद्यालयमा पनि तेक्वान्दो प्रशिक्षण गराउँछन्। उनले प्रारम्भ वल्र्ड स्कुल र हिमरश्मी स्कुलमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएका छन्। 

तेक्वान्दो पुस्तक

विक्रमले तेक्वान्दो खेलसम्बन्धी पुस्तक नै लेखेका छन्। उनले २०७२ मा तेक्वान्दोको गाइड बुकका रूपमा पुस्तक प्रकाशन गरेका थिए। जसमा तेक्वान्दोको जुनियर गाइडलाइन समावेश गरिएको छ। बेल्ट अनुसारको प्रशिक्षण विधि र पाठ्यक्रम पुस्तकमा समावेश गरिएको छ। जुन पुस्तक चौथो संस्करणसम्म प्रकाशन भइसकेको छ। उनले पुस्तकको दोस्रो भागमा भने पाँचौं डानसम्मको पाठ्यक्रम तयार पारिरहेका छन्। 

अन्तर्राष्ट्रिय निर्णायक
विक्रम तेक्वान्दोको ग्योरोगी तथा पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक पनि हुन्। उनले सन् २०२३ मा थाइल्यान्डमा ग्योरोगी र २०१८ मा भारतको मुम्बईमा भएको पुम्से रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। उनले सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद, सन् २०२५ मा चीनको उसी सहरमा आयोजना भएको १३औं एसियन क्लब तेक्वान्दो च्याम्पियनसिप, सन् २०२५ मै काजकिस्तान ओपन तेक्वान्दो च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्।

यस्तै घरेलु भूमिमा आयोजना भएको तेस्रो तथा चौथो माउन्ट एभरेष्ट इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, काठमाडौं इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप र कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपलगायतका प्रतियोगितामा रेफ्रीको भूमिका कुशलतापूर्वक निभाइसकेका छन्। यससँगै नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको रेफ्री सेमिनारमा प्रशिक्षकका रूपमा देशैभर खटिएका थिए। 

काठमाडौं जिल्ला संघको नेतृत्व
विक्रमले काठमाडौं जिल्ला तेक्वान्दो संघको सदस्य, सहसचिव हुँदै अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्। निर्वाचित अध्यक्ष कारवाहीमा परेपछिको प्रतिकूल अवस्थामा भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए। उनी अध्यक्षमा निर्वाचित भएको साढे दुई वर्ष भएको छ। यो अवधिमा उनले संघको कार्यालयलाई व्यवस्थित बनाउनुका साथै थुप्रै काम गरिसकेका छन्। पहिले दिनमा १÷२ घण्टा मात्र खोलिने कार्यालय अहिले सात घण्टा नै सञ्चालन भइरहेको छ। यसैगरी उनी अध्यक्ष भएपछि ग्रेडिङ प्रणालीलाई पनि आधुनिक रुपमा सञ्चालन गरिएको छ। जुनियर ग्रेडिङ पनि प्रश्नपत्र नै तयार गरेर लिखित रूपमा लिने गरिएको छ। यस्तै जिल्ला तथा डोजाङस्तरका प्रतियोगिता सञ्चालनलाई पनि निकै व्यवस्थित रुपमा सञ्चालन गरिएको छ। हरेक प्रतियोगिता कम्प्युटराइज्ड भएको छ। प्रतियोगिता सञ्चालनका लागि आवश्यक सामग्री जिल्लाले उपलब्ध गराउँदै आएको छ। 

यस्तै प्रशिक्षकको प्रोत्साहन गर्ने नीति अनुसार २५ वर्षभन्दा बढी समयदेखि क्रियाशील व्यक्तिलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्दै आएको छ। यसैगरी विश्व वरीयता प्राप्त जी–वानभन्दा माथिका प्रतियोगितामा सहभागी हुने जिल्लाका खेलाडीलाई खेल सामग्री प्रदान गर्दै आएको छ भने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई पनि सम्मान गर्दै आएको छ। डोजाङ, प्रशिक्षक र खेलाडीको तथ्यांकका लागि सफ्टवेयर निर्माण गरिरहेको जिल्ला संघले पहिलो पटक बृहत् प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता पनि भव्य रूपमा आयोजना गरिसकेको छ। 

विक्रमले काठमाडौं जिल्लाको नेतृत्वमा आउनुअघि बागमती प्रदेश तेक्वान्दो संघको केन्द्रीय सदस्यसहित सचिवालय सचिव भएर पनि काम गरेका थिए। उनले प्रदेश कार्यालयलाई चुस्त र व्यवस्थित रुपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

तारकेश्वरलाई खेलकुदको हब बनाउन भूमिका 
विक्रमले तारकेश्वर नगर खेलकुद विकास समितिको नेतृत्व पनि गर्दै आएका छन्। समितिको नेतृत्व लिएपछि खेलकुद कार्यविधि निर्माणसँगै नगरको खेलकुद विकासका लागि विभिन्न दीर्घकालीन योजना तयार पारेका छन्। समितिमा खेलकुदमा संलग्न व्यक्तिहरू मात्रै बस्न पाउने व्यवस्था गरिएको छ। 
उनी नेतृत्वमा आएपछि तारकेश्वर नगरपालिकाले काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल भएको छ। यस्तै चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजनासँगै खेलाडी प्रोत्साहन र सम्मानलाई पनि महत्वपूर्ण रुपमा अगाडि बढाउन भूमिका खेल्दै आएका छन्। 

सामाजिक काममा पनि उत्तिकै सक्रिय
विक्रम खेलकुदसँगै सामाजिक काममा पनि उक्तिकै सक्रिय रहँदै आएका छन्। विभिन्न मठमन्दिर बाटोघाटो प्रत्यक्ष संलग्न हुनुका साथै निरन्तर रुपमा सहयोगसमेत गर्दै आएका छन्। २०७२ को विनासकारी भूकम्पको समयमा बोधिसत्व प्रतिष्ठानको सहकार्यमा पीडितको उद्वार, राहतमा दिनरात खटिएका उनले काभ्रेस्थली विद्यालयको भवन निर्माणका लागि पनि सहयोग जुटाएका थिए। 

यस्तै ज्ञानोदय आधारभूत विद्यालयको मैदान निर्माणलगायतका काममा पनि विक्रम अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए। यस्तै दक्षिण कोरियाको बोधिचित्त प्रतिष्ठानको सचिव पदमा रहेर मासिक रुपमा विद्यार्थीहरूलाई छात्रवृत्तिलगायतका सामाजिक काम गर्दै आएका छन्। यससँगै विक्रमले नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद विभागको सदस्य भएर पनि काम गर्दै आएका छन्। उनले चेम्बरलाई खेलकुदसँग जोड्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.