‘नमुना ढिकी’का आविष्कारक
विराटनगर : खोटाङको पहाडी पाखामा एउटा यस्तो तन्नेरी छ, जसको हत्केलामा श्रमको ठेलामात्र छैन, सिर्जनाको जादु पनि छ। ३१ वर्षीय दीपक राई— जसलाई नजिकबाट चिन्नेहरू ‘जीवन देखाउने चित्रकार’ भन्छन् र कृषिमा भविष्य खोज्नेहरू ‘नमुना ढिकीका आविष्कारक’।
२०५२ साल असार ३० गते खोटाङको तत्कालीन खाल्ले (हालको दिक्तेल रूपाकोट मझुवागढी–४) मा जन्मिएका दीपकको जीवन नै एउटा रंगीन क्यानभासजस्तो छ। रामबहादुर र जयरानी राईका यी सुपुत्रको यात्रा दुर्गम पहाडको धुलोबाट सुरु भएको थियो।
दीपकको बाल्यकाल खेतबारीका कान्ला, परम्परागत औजार र माटोको सुगन्धबीच बित्यो। यही परिवेशले उनलाई कलाकार बनायो। २०६८ सालको कुरा हो, ‘राष्ट्रिय माइन जोखिम शिक्षा चित्रकला प्रतियोगिता’ मा देशभरबाट करिब ६५ हजार प्रतिस्पर्धी उत्रिएका थिए। कक्षा ९ मा पढ्दै गरेका दीपकले १० वर्षे सशस्त्र द्वन्द्वको घाउ र प्रभावलाई एउटा चित्रमा यसरी उतारे कि, निर्णायकहरू टक्क अडिए। उनी देशभरबाट सर्वोत्कृष्ट भए। त्यही एउटा पुरस्कारले पहाडको एउटा कुनामा लुकेको प्रतिभालाई राष्ट्रिय पहिचानको बाटो खोलिदियो।
दीपकका लागि चित्र सौन्दर्य होइन, इतिहास बुझ्ने आँखा हो। उनी भन्छन्, ‘मानव सभ्यता स्थिर छैन, यो त एउटा अनन्त यात्रा हो। म यही यात्रालाई क्यानभासमा कैद गर्छु।’ उनको कलामा ढुंगेयुगको संघर्षदेखि आधुनिक प्रविधिको कोलाहलसम्म भेटिन्छ। मानिस जन्मिने, संघर्ष गर्ने र अन्ततः माटोमै विलीन हुने शाश्वत सत्यलाई उनले ‘मानव सभ्यताको क्यानभास’ मार्फत दार्शनिक ढंगले प्रस्तुत गर्दै आएका छन्।
दीपकको परिचय चित्रकारितामा मात्रै रोकिएको छैन। उनी त हराउँदै गएको नेपाली मौलिकतालाई प्रविधिको इन्जिन जोड्ने ‘आविष्कारक’ पनि हुन्। नेपाली ग्रामीण जीवनको पर्याय मानिने ‘ढिकी’ लोप हुँदै गएकोमा उनलाई चिन्ता थियो। त्यसैले उनले जन्म दिए— ‘नमुना ढिकी’ को अवधारणालाई।
यो कुनै सामान्य ढिकीमात्र होइन। दीपकको परिकल्पनामा यो ढिकी सौर्य ऊर्जा, हावाको वेग, पानीको फोहोरा वा विद्युतीय प्रणालीबाट चल्न सक्छ। परम्परागत ढिकीमा चार जनाले गर्ने काम यो नमुना ढिकीमा एक जनाले मात्र गर्न सक्छ। प्रतिघण्टा ८० किलोसम्म चामल उत्पादन गर्ने र भुस एवं चामल आफैं छुट्ट्याउने यो प्रविधिले ग्रामीण कृषिलाई आधुनिक बनाउने दीपकको विश्वास छ।
उनी प्रविधिसँगै स्वास्थ्यको पनि कुरा गर्छन्। मिलमा पोलिस्ड गरिएको चामलभन्दा ढिकीमा कुटिएको अर्गानिक चामलले नेपालीको भान्छालाई स्वस्थ बनाउने उनको दाबी छ।
दीपकको जीवनशैली निकै सरल छ। उनी दिनभर माटोमा पसिना बगाउँछन्, तर साँझ परेपछि त्यही पसिनालाई कला र आविष्कारको मसी बनाउँछन्। उनले समाजका विसंगति, परिवारभित्रको असमझदारी र मानवीय चेतनाको विकासलाई सूक्ष्म रूपमा अध्ययन गरेका छन्। उनी भन्छन्, ‘समाजमा हुने द्वन्द्व र विसंगति पनि सभ्यताकै एउटा पाटो हो, जसले हामीलाई शान्तिको महत्व बुझाउँछ।’
खेतबारी खनजोत गर्दा होस् वा क्यानभासमा रङ भर्दा, दीपकको मनमा सधैँ एउटै कुरा खेलिरहन्छ— हाम्रो पुर्खाको ज्ञानलाई आधुनिक युगसँग कसरी जोड्ने ? कृषिलाई नै सभ्यताको मेरुदण्ड मान्ने उनी परम्परा र प्रविधिको फ्युजनबाट मात्रै नेपालको भविष्य उज्यालो हुने देख्छन्। खोटाङको दुर्गम भूगोलबाट सुरु भएको यो सिर्जनात्मक यात्रा फराकिलो क्षितिजमा फैलिएको छ। दीपक राई आज ती तमाम युवाका लागि प्रेरणा हुन्, जो आफ्नो माटोमा सुन फलाउन र आफ्नो कलाले संसारलाई जीवन बुझाउन चाहन्छन्।
प्रतिक्रिया दिनुहोस !