गाउँकै पहिलो अधिकृत

युवा शक्ति

गाउँकै पहिलो अधिकृत

सरकारी सेवामा प्रवेश गरेका घर्तीको पहिचान गाउँकै पहिलो नायब सुब्बामा मात्र सीमित रहेन, नेपाल सरकारको शाखा अधिकृत पदमा पनि गाउँकै पहिलो व्यक्ति हुने रेकर्ड उनकै नाममा कायम रह्यो।

गुल्मी जिल्लालाई निजामती कर्मचारीहरूको उर्वर भूमिको रूपमा चिनिन्छ। एक घर, एक सरकारी कर्मचारीको पहिचान बनाएको यस जिल्लाले सामान्य तहदेखि मुख्य सचिवसम्मका उच्च पदस्थ व्यक्तित्वहरू मुलुकलाई सुम्पिएको छ। तर, गुल्मीकै एउटा यस्तो गाउँ पनि छ जहाँ सरकारी कर्मचारी भेट्टाउन ‘शिला’ खोज्नुपर्ने अवस्था थियो।

जिल्लाको पश्चिम भेगमा अवस्थित मदाने गाउँपालिका–१, अग्लुङका नारायण घर्तीले सन् २००९ (२०६६ साल) मा पहिलो पटक सरकारी सेवामा प्रवेश गरेर सिंगो गाउँको गौरव बढाए। नायब सुब्बा पदबाट जागिरे जीवनको सुरुवात गरेका उनको पहिलो पदस्थापन पुनरावेदन अदालत, जनकपुरमा भएको थियो।

‘काठमाडौँमा काम गर्दै पढ्दै थिएँ,’ घर्तीले विगतका दिनहरू स्मरण गर्दै भने, ‘तीन महिनाको स्वअध्ययन पछि दिएको पहिलो प्रयासमै नाम निस्किएछ। गोरखापत्रमा नाम प्रकाशित भएको आठ दिनपछि मात्र मैले आफू सफल भएको थाहा पाएको थिएँ।’ उनका अनुसार त्यसबेला गाउँका अधिकांश साथीसंगीहरू नेपाल प्रहरी र नेपाली सेनामा भर्ती हुन रुचाउँथे, लोकसेवातिर कसैको रुचि थिएन। तर, काठमाडौँमा रहँदा छिमेकी गाउँका साथीहरूसँगको संगतले उनलाई निजामती सेवातर्फ आकर्षित गर्‍यो।

सरकारी सेवामा प्रवेश गरेका घर्तीको पहिचान गाउँकै पहिलो निजामती कर्मचारी (नायब सुब्बा) मा मात्र सीमित रहेन, नेपाल सरकारको शाखा अधिकृत पदमा पनि गाउँकै पहिलो व्यक्ति हुने रेकर्ड उनकै नाममा कायम रह्यो। उनी सरकारी सेवामा रहँदाको लामो समयसम्म गाउँबाट अन्य कसैले पनि लोकसेवा उत्तीर्ण गर्न सकेका थिएनन्। नायब सुब्बा भएको पाँच वर्षपछि वि.सं. २०७० भदौ १९ गते उनी शाखा अधिकृत पदमा निर्वाचित भए।‘अधिकृतको परीक्षा दिँदा पनि मैले कुनै तयारी कक्षा लिनु परेन,’ उनी भन्छन्, ‘सुब्बादेखि अधिकृतसम्मको सफलता स्वअध्ययनबाटै सम्भव भयो।’

निजामती सेवामा प्रवेश गर्नुअघि घर्ती कलाकारिता क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए। लोकदोहोरी क्षेत्रमा उनको रुचि आज पनि उत्तिकै छ। जागिरे जीवनकै क्रममा पाँच वर्षअघि उनले दसैँ–तिहार लक्षित गरी ल्याएको ‘म परदेशी’ बोलको गीतले निकै चर्चा कमाएको थियो। उनी निजामती कर्मचारी वृत्तमा एक अत्यन्त सरल र सादगी स्वभावका व्यक्तिका रूपमा परिचित छन्। आफ्नो कार्यकालमा उनी जहाँ जहाँ पुगे, त्यहाँ एउटा अमिट र गर्विलो छाप छाड्न सफल भएका छन्।

सेवाग्राहीप्रति उनी जहिल्यै विनम्र र शालीन भएर प्रस्तुत हुन्छन्। उनको यही सरल जीवनशैलीले सरकारी कर्मचारीप्रति आम नागरिकले राख्ने नकारात्मक दृष्टिकोणलाई चिर्न मद्दत पुर्‍याएको छ। ‘अहिले गाउँका केही भाइबहिनीहरू बिस्तारै निजामती सेवातिर आकर्षित हुन थालेका छन्,’ उनी खुसी व्यक्त गर्छन्, ‘मैले सकेसम्म नयाँ पुस्तालाई आवश्यक सहयोग र परामर्श दिने गरेको छु।’

यद्यपि, उनले नयाँ पुस्तालाई एउटा महŒवपूर्ण सुझाव पनि दिएका छन्— धेरै पैसा कमाउने र विलासी जीवन बिताउने सपना बोकेर निजामती सेवामा नआउनु। ३९ वर्षीय घर्ती भन्छन्, ‘यो क्षेत्र टन्न पैसा कमाउने र रमाउने ठाउँ होइन, यो त विशुद्ध जनताको सेवा गर्ने सोचका साथ आउने थलो हो।’ उनले जागिरको सिलसिलामा राज्यका नीति निर्माताहरूसँग समन्वय गरेर गाउँको विकास निर्माणका काममा समेत योगदान पुर्‍याउँदै आएका छन्।

गुल्मीको पश्चिम भेगमा पर्ने अग्लुङ जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ, जुन प्यूठानको गौमुखी गाउँपालिकासँग जोडिएको छ। तर, पछिल्ला केही वर्षयता भइरहेको विकासले यो गाउँ सुगम बन्ने दिशामा अघि बढिरहेको छ। घर्ती सरकारी सेवामा लागेको करिब १० वर्षपछि सोही गाउँका भेषराज चन्दले शाखा अधिकृतमा नाम निकाल्न सफल भए। हाल अग्लुङबाट नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत कर्मचारीहरूको संख्या दुई पुगेको छ।

राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) गरेका नारायण घर्ती हाल जिल्ला प्रशासन कार्यालय, गुल्मीमा प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्। गुल्मीलाई कर्मचारीहरूको खानी भनिए तापनि अग्लुङको परिवेश र संघर्ष भने अलि भिन्नै र प्रेरणादायी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.