छात्रावासले गाउँमै थामिए बालबालिका

छात्रावासले गाउँमै थामिए बालबालिका
चुमनुब्री–७ छेकम्पारमा हालै सञ्चालनमा आएको छात्रवाससहितको बुद्ध आधारभूत विद्यालय । शिव उप्रेती
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखा, हिमाल पारिका बालबालिका पढाइका लागि सहर जाने र उतैबाट विदेश पलायन हुन थालेपछि अभिभावक गाउँ रित्तिने चिन्तामा छन्। पढ्नकै लागि बाल्यकालमा सहर गएपछि बालबालिकाले आफ्नो भाषा, संस्कृति, लिपि, रीतिथिति, भेषभूषा, आफ्नो पुर्खा, पुर्ख्यौली सम्पत्ति सबै बिर्सने भन्दै अभिभावक पिरोलिएका हुन्। 

विद्यालय शिक्षाका लागि बाल्यकालमै गाउँ छाड्ने र उच्च शिक्षाका लागि भन्दै उतैबाट बिदेसिने गर्दा गाउँ वृद्धाश्रम जस्तो बनेकोमा अभिभावकको चिन्ता छ। ‘बच्चै छँदा पढ्न सहर गएपछि उनीहरू उतैबाट उच्च शिक्षा पढ्ने निहुँमा बिदेसिन्छन्। अनि, उतै हराउँछन्। यहाँ फर्केर आउँदैनन्’, उनी भन्छन्, ‘सहरमा गएकाहरूले आफ्नो भाषा, संस्कृति, पुर्खा, पुख्यौली सम्पत्ति, लिपि केही पनि जान्दैनन्। जान्ने रुचि पनि गर्दैनन्। गाउँलेहरू एकदम चिन्ता गर्छन्।’ 

भौगोलिक विकटताका कारण बिदाका बेलामा पनि बालबच्चा भेट्न अभिभावकलाई धौ धौ भएको उनको भनाइ छ। ‘बिदाका बेला बालबच्चा फर्केर गाउँ आउन सक्दैनन्। बाबुआमा नै सहर जानुपर्छ। सहरमा घर छैन, डेरा छैन। होटलमा बस्नलाई पैसा छैन। अनि, बालबच्चा भेट्न नपाएर पराइ हुन्छन्’, लामा भन्छन्, ‘यो हाम्रो हिमाली भेग जहाँतहीँको समस्या हो।’अहिले केही विद्यालयले छात्रावासको व्यवस्था गरेपछि बालबालिका गाउँमै रहन थालेका छन्। अहिले बालबालिका गाउँकै विद्यालयमा पढ्न पाएपछि स्थानीयबासी खुसी भएको प्रमुख लामा पासाङ फुन्जो बताउँछन्। 

बालबालिका शून्य बन्दै गएका हिमाली गाउँहरूमा अचेल बालबालिका देख्न पाइन्छ। युवा बिदेसिने र बालबालिका सहर गएपछि वृद्धाश्रम जस्तो बन्दै गएका गाउँहरूमा आजभोलि बालबालिकाको चहलपहल पनि देख्न पाइएको हो।

सरकार तथा सामाजिक संघसंस्थाले छात्रावासको व्यवस्था गरेपछि बालबालिका गाउँकै विद्यालयमा पढ्न थालेका स्थानीयको भनाइ छ। ‘अघिल्लो वर्ष हाम्रो गाउँको वुद्ध आधारभूत विद्यालयमा पुगनपुग १५, १६ जना मात्र विद्यार्थी थिए। अहिले हामीले छात्रावास बनाएर पढ्ने व्यवस्था मिलायौं। यस वर्ष ५० भन्दा धेरै विद्यार्थी भएका छन्’, चुमनुब्री–७ छेकम्पारका प्रमुख लामा पासाङ फुन्जोले भने, ‘गाउँको चुमगुम्बा परिसरमा जोसेफ फर डिग्निटी नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा छात्रावास बनायौं। सरकारी र गैरसरकारी संस्थाको सहयोगमा सबै बालबालिकालाई यही छात्रावासमा राखेर पढाउन थाल्यौं। छात्रावासमा ४३ जना छन्, नर्सरीमा पढ्नेहरू घरबाटै आउँछन्। सबै गरेर ५० जनाभन्दा धेरै विद्यार्थी भएका छन्।’ छात्रावासले गर्दा अहिले बालबालिका पनि खुसी, अभिभावक पनि खुसी भएका लामाको भनाइ छ।

यसअघि यस भेगका अभिभावकले बर्सेनि स्पोन्सर(लामा गुरु)को मद्दत माग्दै आफ्ना छोराछोरी पढाउन काठमाडौं तथा भारतका विभिन्न गुम्बाहरूमा पढ्न पठाउने गरेका थिए। यसरी पठाएका बालबालिका फेरि फर्केर गाउँमा नआउने समस्याको चपेटामा गाउँले थिए। ‘काखको छोराछोरी पढाउन भनेर स्पोन्सर खोजेर काठमाडौं, इन्डिया पठाउँछन्। उतै पढ्छन्, हुर्किन्छन्, बढ्छन् अनि यो भीर पहाड चढेर फर्केर आउँदैनन्। अहिले गाउँमा त युवाको मुख हेर्न रहर भइसक्यो’, प्रमुख लामा पासाङ फुन्जो भन्छन्, ‘अब होस्टेल बनाएर खान, बस्न, लगाउन, कापी कलम सबै दिएपछि यतै पढाउँछन्। गाउँले धेरै खुसी भएका छन्।’ गाउँको विद्यालयमा तिब्बती भाषा, धर्म, संस्कृतिका बारेमा पनि पढाइ हुने गरेको उनको भनाइ छ।

गाउँलेको समस्या बुझेर आफूले दाता खोजेर गाउँको विद्यालयमा छात्रावास बनाएको लामाको भनाइ छ। ‘चुम गुम्बा र करुणा स्वास्थ्य संस्था मिलेर स्पोन्सर खोज्दै यहाँका बालबालिकालाई खाद्यान्न, स्टेसनरी सामान, लुगा कपडा जुटाएको छ’, लामा भन्छन्, ‘विदेशी संस्थाहरूले स्वयंसेवक शिक्षक पनि पठाउँछन्। आवश्यक सामान पनि पठाउँछन्। त्यसैले धानेको छ।’ गोरखाको चुम उपत्यकामा दुई, नुब्री उपत्यकामा चार र पालिकाको केन्द्र फिलिममा एक विद्यालयमा छात्रावासको व्यवस्था छ। वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालय, वडा नं. २ को ल्हो माध्यमिक विद्यालय, वडा नं. ३ को बुद्ध माध्यमिक विद्यालय, वडा नं. ४ को नुब्री आधारभूत विद्यालय, वडा नं. ५ को सेराङ(गुम्बा हिमाली) आधारभूत विद्यालय, वडा नं. ६ को सिद्ध गणेश आधारभूत विद्यालय र वडा नं. ७ को बुद्ध आधारभूत विद्यालयमा छात्रावास सञ्चालन रहेको पालिकाको शिक्षा शाखाले जनाएको छ। 

छात्रावासमा राखेर पढाउन पाएपछि विद्यार्थी गाउँमै टिक्न थालेका नुब्री आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश ढकाल बताउँछन्। ‘हाम्रो विद्यालयमा २०७४ सालदेखि होस्टलको व्यवस्था हुन थालेको हो’, उनी भन्छन्, ‘होस्टल भए पनि विद्यार्थी संख्या ह्वात्तै बढेका छन्। अहिले हाम्रो विद्यालयमा ७० जनाभन्दा धेरै विद्यार्थी छन्।’ छात्रावासको आकर्षणले बालबालिका गाउँकै विद्यालयमा पढेको उनको भनाइ छ। ‘हामीले निःशुल्क खान, बस्न, लुगा कपडा र स्टेसनरी सामान पनि जुटाइदिन्छौं। यसले गर्दा बालबालिका गाउँकै विद्यालयमा पढ्छन्’, प्रअ ढकालले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.