गाउँको मुहार फेर्दै २२ वर्षका तन्नेरी वडाध्यक्ष
ग्रामीण क्षेत्रमा समस्याका चाङहरू भए पनि वडा सरकारसँग उपलब्ध सीमित स्रोत–साधनलाई सहभागितामूलक र सन्तुलित ढंगले उनले परिचालन गरिरहेका छन्।
बैतडीको मेलौली नगरपालिका–८ को नेतृत्व यतिबेला २५ वर्षीय तपेन्द्र विष्टको काँधमा छ। वि.सं.२०७९ सालको स्थानीय तह निर्वाचनमा मात्र २२ वर्षको उमेरमा वडाध्यक्ष निर्वाचित भएका विष्ट वर्तमान राजनीतिक परिदृश्यमा एक उदाहरणीय जनप्रतिनिधि मानिन्छन्। राजनीतिप्रतिको उनको लगाव भने निकै पहिलोदेखिको हो। २०७४ सालको निर्वाचनका समयमा १७ वर्षका रहेका विष्ट त्यतिबेलैदेखि सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय थिए। उमेर नपुगेका कारण अघिल्लो निर्वाचनमा मतदान गर्न नपाएका विष्टले त्यसपछिको निर्वाचनमा आफ्नो जीवनको पहिलो मत आफैंलाई हालेर वडाको बागडोर सम्हाल्ने अवसर पाए। युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्ने मेलौली–८ का जनताले उनलाई उत्साहजनक रूपमा साथ दिएका थिए।
सार्वजनिक सेवा प्रवाह, सडक पूर्वाधार, खानेपानी र विद्युतीकरणजस्ता आधारभूत आवश्यकतामा पछाडि परेको ग्रामीण क्षेत्रमा युवाले केही गर्नुपर्छ भन्ने अठोटका साथ विष्ट राजनीतिमा होमिएका थिए। जनअपेक्षा र जनताको विश्वासलाई शिरोधार्य गर्दै जिम्मेवारीमा पुगेका विष्टले निर्वाचित भएलगत्तै वडामा व्यापक रूपान्तरणको सूत्रपात गरेका छन्।
उनले विशेषगरी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने स–साना समस्यादेखि वडाको समग्र पहिचान बदल्ने योजनाहरूलाई प्राथमिकता दिएका छन्। विद्युतीकरणको पहुँच नपुगेको यस वडामा उनको कार्यकालमा हालसम्म ६५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुली बलिसकेको छ। यसअघि कच्ची भवनबाट सञ्चालन हुँदै आएको वडा कार्यालयको अहिले आफ्नै पक्की भवन निर्माण भएको छ।
वडावासीको मुख्य समस्याका रूपमा रहेको खानेपानी संकट समाधानका लागि दर्जनौं योजनाहरू कार्यान्वयनको चरणमा छन्। केही ठूला ‘लिफ्टिङ’ खानेपानी योजनाहरू निर्माणाधीन अवस्थामा छन् भने ‘एक घर, एक धारा’ अभियानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी संघीय सरकारसँग बजेट माग गरिएको छ। सडक पूर्वाधार निर्माण कार्यलाई पनि उनले विशेष प्राथमिकतामा राखेका छन्।
शिक्षा क्षेत्रको सुधारका लागि वडाभित्रका विद्यालयहरूको भौतिक पूर्वाधार विकास र आधारभूत आवश्यकता परिपूर्तिका कार्यहरू द्रुत गतिमा अघि बढाइएका छन्। सुशासनलाई मुख्य मन्त्र मानेका विष्टले वडाको सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाएका छन्। ‘आजसम्म एक जना पनि सेवाग्राहीले सेवा नपाएर फर्कनुपरेको उदाहरण छैन। जनताका अपेक्षाहरूलाई सन्तुलित ढंगले पूरा गर्न म हरदम तत्पर छु,’ विष्ट गर्वका साथ भन्छन्।
निर्वाचनका बेला जनतासँग गरेको वाचा र प्राप्त विश्वासलाई उनले कति पनि डगमगाउन दिएका छैनन्। ग्रामीण क्षेत्रमा समस्याका चाङहरू भए पनि वडा सरकारसँग उपलब्ध सीमित स्रोत–साधनलाई सहभागितामूलक र सन्तुलित ढंगले परिचालन गरिरहेको उनी बताउँछन्। वडा सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले साना–ठूला सबै समस्याहरू वडामा नै ठोक्किने उनको अनुभव छ। विष्ट भन्छन्, ‘सबैभन्दा नजिकको सरकार भएकाले केन्द्रबाट समाधान हुनुपर्ने विषयमा पनि जनताले वडासँगै अपेक्षा राखेका हुन्छन्। न्यून बजेट र स्रोतका बाबजुद हामीले न्यायोचित ढंगले काम गरिरहेका छौँ।’
पछिल्लो समय ‘जेन–जी’ आन्दोलनपछि मुलुकमा आएको राजनीतिक परिवर्तनलाई वडाध्यक्ष विष्टले सकारात्मक रूपमा लिएका छन्। ‘देशमा समयको अन्तरालमा परिवर्तन भइरहन्छन् र यसलाई स्वाभाविक रूपमा लिनुपर्छ। यसो भन्दै गर्दा पुराना दलहरूले केही गरेकै छैनन् भन्ने भाष्य भने गलत हो,’ उनी भन्छन्, ‘यो समयको माग र क्रमिक परिवर्तन हो। अब नयाँ जनादेश पाएका युवाहरूले परिणाम देखाउनुपर्ने चुनौती र अवसर दुवै आएको छ।’
प्रतिक्रिया दिनुहोस !