वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँकेको खजुरा गाउँपालिका-२ घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यानको कुमाख गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् ।
पक्राउ मध्ये सञ्जय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै २२ लाख रुपैयाँ, मो. अलतावले बुल्गेरिया पठाइदिन्छु भन्दै ५१ लाख रुपैयाँ र केशवले क्यानडा पठाइदिन्छु भन्दै १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलेलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !