करारका सहप्राध्यापकलाई निर्देशकको जिम्मेवारी
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठता र स्थापित प्रशासनिक मर्यादालाई बेवास्ता गर्दै करार सेवाका कर्मचारीलाई कार्यकारी जिम्मेवारी सुम्पिएपछि गम्भीर विवाद उत्पन्न भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २४ को मन्त्रीस्तरीय निर्णयअनुसार करार सेवामा कार्यरत सहप्राध्यापक विनम्र विष्टलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यालय प्रमुख (निर्देशक)को जिम्मेवारी दिइएको हो। सरकारले हालै ल्याएको अध्यादेशका कारण प्रतिष्ठानका ३४ जना पदाधिकारी तथा कर्मचारी पदमुक्त भएपछि रिक्त रहेको नेतृत्व सम्हाल्न विष्टलाई अर्को व्यवस्था नभएसम्मका लागि यो जिम्मेवारी तोकिएको हो। मन्त्रालयको यो निर्णयसँगै प्रतिष्ठानभित्र विधि र प्रक्रियाबारे तीव्र असन्तुष्टि सुरु भएको छ।
प्रतिष्ठानमा हाल विष्टभन्दा माथिल्लो तहमा ८ जना करार प्राध्यापकहरू कार्यरत छन् भने स्थायी सेवातर्फ उनी सरहका ८ जना सहप्राध्यापक रहेका छन्। दुई जना पूर्वउपकुलपति समेत हुन्। यस्तो अवस्थामा वरिष्ठ र अनुभवी प्राज्ञहरूलाई पाखा लगाएर करारका कर्मचारीलाई नेतृत्व सुम्पिनुले संस्थागत परिपाटीमाथि प्रहार गरेको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन्। यसअघि उपकुलपति वा रजिस्ट्रार पद रिक्त हुँदा वरिष्ठताका आधारमा निमित्त जिम्मेवारी दिने अभ्यास थियो। यसपटक त्यसलाई पूर्णतः मिचिएको छ।
नवनियुक्त निमित्त निर्देशक विष्टको विगतका गतिविधि र उनीमाथि परेका उजुरीका कारण पनि यो नियुक्ति थप विवादित बनेको छ। प्रतिष्ठानको फरेन्सिक विभागमा कार्यरत रहँदा उनी विभिन्न समयमा गम्भीर विवादमा मुछिएका थिए। २०८० साल चैत १४ गते अस्पतालको मूल गेट तोडफोड गरेको र सुरक्षागार्डमाथि हातपात गरेको भन्दै ६ जना सुरक्षाकर्मीले उनीविरुद्ध संयुक्त उजुरी दर्ता गराएका थिए। त्यस्तै, २०८१ साल चैतमा ओसिएमसीमा कार्यरत आकृति धितालले आफूलाई धम्क्याएको भन्दै उजुरी दिएकी थिइन् भने २०८२ असारमा डा. निरञ्जन श्रेष्ठले आफू र परिवारलाई धम्की दिएको भन्दै उजुरी दिएपछि मानसिक दबाबका कारण जागिर नै छाड्नुपरेको स्रोतको दाबी छ।
- स्वास्थ्य मन्त्रालयले करारमा रहेका सहप्राध्यापक विनम्र विष्टलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्ता निर्देशक नियुक्ति गरेको छ।
- प्रतिष्ठानमा विष्टभन्दा वरिष्ठ र स्थायी सेवाका प्राध्यापकहरू हुँदाहुँदै नियुक्ति गरिएको भन्दै कर्मचारीहरूले आपत्तिा जनाएका छन्।
फरेन्सिक विभागमा रहँदा पोस्टमार्टमका लागि आएका शवहरू लामो समयसम्म रोकेर सेवाग्राहीलाई दुःख दिएको आरोप पनि उनीमाथि लाग्दै आएको छ। यिनै विवादित घटनाहरूका आधारमा २०८२ साल असार ८ गते तत्कालीन अस्पताल निर्देशक कमल थानीको अध्यक्षतामा बसेको बैठकले विष्टलाई करार सम्झौताको बुँदा नम्बर ८.२ अनुसार सेवाबाट बर्खास्त गर्नसमेत सिफारिस गरेको थियो। बर्खास्तको सिफारिसमा परेका व्यक्तिलाई नै संस्थाको बागडोर सुम्पिँदा प्रतिष्ठानको प्रशासनिक र शैक्षिक विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ। कर्णालीजस्तो संवेदनशील क्षेत्रको स्वास्थ्य संस्थामा निर्विवाद नेतृत्व हुनुपर्नेमा सरकारले गरेको निर्णयले प्रतिष्ठानको भविष्यमाथि नै अन्योल थपिदिएको सरोकारवालाहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !