गौरले सुरु गर्यो अबैध संरचना हटाउने कार्य
रौतहट : रौतहटको गौर नगरपालिकाले आफ्नो नगर क्षेत्रको अवैध घर, टहरा र अन्य संरचना हटाउन सुरु गरेको छ । पालिकाले एक महिनाअघि बाटो अवरोध गरेर निर्माण गरिएका अबैध संरचना हटाउन सूचना जारी हरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।
नगरपालिकाको सबै वडाहरुमा सार्वजनिक सडक खण्डको दायाँ बायाँको नालासहितको सडक अधिकार क्षेत्रभित्र परेको अबैध घर, टहरा, घुम्ती, पशु धन, खाद्यान्न सामग्री, निर्माण सामग्री र अन्य संरचना निर्माण गरी निरन्तर लामो अवधिसम्म राख्ने कार्य भएकाले खाली गर्न बारम्बार अनुरोध गर्दै आएको थियो ।
सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई आवागमनमा अवरोध पुर्याई यातायात सञ्चालन कार्यमा बाधा पुग्ने गरी सार्वजनिक रुपमा नागरिकलाई अहित हुने कार्य गरेको व्यापक जनगुनासो आएपछि डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको पौडेलले बताए ।
नगरलाई ब्यवस्थित बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै मेयर शम्भु साहले पालिकालाई स्वच्छ र ब्यवस्थित बनाउन आफू लागि परेको बताए । मेयर साहले वास्तविक भूमिहिनको पहिचान गरी ब्यवस्थापन गरिने हुँदा जथाभावी कब्जा गरेर संरचना नबाउन नगरबासीसँग अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !