११ शेर्पाले गरे सिजनको पहिलो सफल आरोहण
ओखलढुंगा : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्षको बाटो पूर्णरूपमा खुलेको छ । पर्वतारोहण सञ्चालक संघ नेपालको अगुवाइमा खटिएको डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीले बुधबार बिहान १०ः२५ बजे सगरमाथाको शिखरमा सफलतापूर्वक पाइला टेकेसँगै बाटो खुलेको हो।
योसँगै यस वर्षको वसन्तकालीन सिजनको पहिलो सफल सगरमाथा आरोहण समेत भएको छ । संघका महासचिव ऋषिराम भण्डारीका अनुसार प्रतिकूल मौसम र खुम्बु आइसफलको ढिलाइका बाबजुद टोलीले ३७ औं दिनमा शिखर पुगेर मार्ग पूर्णरूपमा खोल्न सफल भएको पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीले अन्नपूर्णलाई बताए ।
यी हुन् शिखर पुग्ने ११ शेर्पा आरोही
आरोहणमा कीर्तिमान र चुनौती
यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्यामा उत्साहजनक वृद्धि देखिएको छ । पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार यस सिजनका लागि ४६४ जना आरोहीले अनुमति लिएका छन्, जसमा १०० महिला र ३६४ पुरुष रहेका छन् । आरोहीहरूको यो संख्या र यसबाट संकलित रोयल्टीले नयाँ कीर्तिमान कायम गरेको छ ।
हवाई भाडा र सगरमाथा आरोहण शुल्कमा भएको वृद्धिले पर्यटन क्षेत्रमा केही दबाब सिर्जना गरे पनि आरोहणप्रतिको आकर्षण भने घटेको छैन । सरकारले सन् २०२५ सेप्टेम्बर १ देखि लागू हुने गरी आरोहण शुल्क प्रतिव्यक्ति ११ हजार डलरबाट बढाएर १५ हजार डलर पु¥याएको छ । जसका कारण सगरमाथा आरोहणको प्याकेज लागत औसत ४५ हजार डलरसम्म पुगेको छ ।
क्याम्पहरूमा चहलपहल
बाटो खुलेपछि आधार शिविर (बेस क्याम्प) मा रहेका सयौँ आरोहीहरू उत्साहित भएका छन् । धेरैजसो आरोहीहरू अहिले क्याम्प २ र ३ को आसपासमा वातावरण अनुकूलन (एक्लिमटाइजेशन) गरिरहेका छन् । मार्ग निर्माण सम्पन्न भएसँगै अब अनुकूल मौसमको प्रतीक्षामा रहेका आरोहीहरूले पालैपालो शिखर तर्फको यात्रा तय गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस !