सगरमाथामा एकै पटक उत्साह र शोक : बाटो खुल्यो, तर शिखर नचुम्दै अस्ताए पाँच आरोही
ओखलढुङ्गा : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्षको बाटो पूर्णरूपमा खुलेको छ । पर्वतारोहण सञ्चालक संघ नेपालको अगुवाइमा खटिएको डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीले बुधबार बिहान १०ः२५ बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यस सिजनको आरोहण औपचारिक रूपमा सुरु भएको हो ।
सेभेन समिट ट्रेक्स र इम्याजिन नेपालका शेर्पाहरू सम्मिलित ११ सदस्यीय टोलीले प्रतिकूल मौसम र खुम्बु आइसफलको चुनौतीलाई छिचोल्दै ३७ औं दिनमा शिखर पुगेर मार्ग निर्माण सम्पन्न गरेको हो । बाटो खुलेको खबरले आधार शिविरमा रहेका ४६० भन्दा बढी आरोहीहरूमा उत्साह थपेको भए पनि हिमालमा भएका मानवीय क्षतिले भने पर्वतारोहण क्षेत्रलाई स्तब्ध बनाएको छ ।
जो शिखर नचुमी अस्ताए
सोलुखुम्बु निवासी लाक्पा डेन्डी शेर्पाको वैशाख २० गते आधार शिविर नजिकै, विजय घिमिरेको वैशाख २७ गते खुम्बु आइसफलमा र फुरा गेलजेन शेर्पाको वैशाख २८ गते तेस्रो शिविर (क्याम्प ३) मा निधन भएको विभागले जनाएको छ । उनीहरू विभिन्न एजेन्सीमार्फत आरोहीहरूलाई सुरक्षित शिखर पु¥याउने जिम्मेवारीमा खटिएका थिए ।
सगरमाथामा मात्र नभई छिमेकी हिमाल मकालुमा पनि यसै साता दुई विदेशी आरोहीहरूले ज्यान गुमाएका छन् । चेक रिपब्लिकका नागरिक डेभिड रोविनेकको वैशाख २१ गते ७ हजार ३ सय मिटरको उचाइमा र अमेरिकी नागरिक जोहानेस शेलीको वैशाख २८ गते ७ हजार २ सय मिटरको उचाइमा निधन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । बाटो खोल्ने टोलीले सफलता प्राप्त गरिरहँदा यी आरोहीहरू भने शिखर नचुम्दै हिमालमै अस्ताएका हुन् ।
हवाई भाडा र आरोहण शुल्कमा भएको वृद्धिका बाबजुद यस वर्ष सगरमाथा आरोहणका लागि आरोहीहरूको आकर्षण निकै देखिएको छ । सरकारले सगरमाथा आरोहण शुल्क प्रतिव्यक्ति १५ हजार डलर पु¥याएको भए पनि यस सिजनमा ४६९ जनाले अनुमति लिएका छन्, जुन हालसम्मकै उच्चमध्येको एक हो । बाटो खुलेसँगै अब अनुकूल मौसमको प्रतीक्षामा रहेका सयौँ आरोहीहरूले शिखरको यात्रा तय गर्नेछन् । यद्यपि, सुरुआती चरणमै भएको मानवीय क्षतिले आरोहणमा सुरक्षा र सतर्कतालाई उच्च प्राथमिकता दिनुपर्ने चुनौती थपिदिएको छ ।
खुम्बु आइसफल क्षेत्रमा ज्यान गुमाएका सगरमाथा आरोही बिजय घिमिरे ।
प्रतिक्रिया दिनुहोस !