श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
गुल्मी : गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ का ४५ वर्षीय थमनबहादुर कुमालले घरयासी विवादपछि ४३ वर्षीया श्रीमती सुमित्रा कुमाललाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार मंगलबार बेलुका करिब ६ बजे दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा सामान्य विवाद हुँदा कुटपिट भएको बताइएको छ । घटनापछि स्थानीयले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी सहायक हवल्दार गुनबहादुर बोहोराको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । कुटपिटमा संलग्न थमन कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गम्भीर घाइते सुमित्राको मुखमा चोट तथा घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि राति ९ बजे जिल्ला अस्पताल तम्घास लगिएको थियो । उपचारकै क्रममा राति ११ः५१ बजे चिकित्सकले सुमित्रालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार सुमित्राको छातीका सात वटा करङ भाँचिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !