एउटै कक्षामा पढ्ने तीन बालक एकसाथ बेपत्ता, चिन्तामा परिवार
रौतहट : कटहरिया नगरपालिकाको बजार क्षेत्र यतिबेला तीन जना विद्यालयका विद्यार्थी अचानक सम्पर्कविहीन भएपछि त्रसित बन्न पुगेको छ । एकै विद्यालय र एकै कक्षामा अध्ययनरत तीन बालक तीन दिनदेखि बेपत्ता भएपछि परिवारसँगै प्रहरी प्रशासन पनि खोजी कार्यमा जुटेको छ ।
कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकिल अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवनकुमार दास सरभंग गत सोमबारदेखि सम्पर्कबिहीन रहेको पारिवारिक श्रोतले जनाएको छ । सम्पर्कबिहिन तीनै जना विद्यार्थी सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका थिए । केही समयपछि बाहिर खेल्न जान्छौँ भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता घर नफर्किएको अभिभावकहरूले बताएका छन् ।
बालकहरू साँझसम्म सम्पर्कमा नआएपछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी थालेको भए पनि कुनै जानकारी नपाएपछि उनीहरुले फोटोसहित ईलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दर्ता गरिएका थिए । अभिभावकका अनुसार बेपत्ता भएकामध्ये सकिल अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट जानकारी साथीहरूबाट प्राप्त भएको छ । यद्यपि प्रहरीले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरका अनुसार बालकहरूको तस्वीर र हुलियासहितको विवरण सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको र नेपालभर प्रहरी परिचालन गरिएको तथा भारतीय प्रहरीसँग समन्वयका लागि प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै यो अपहरण, भागेर गएको वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्ष निकाल्न नसकिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !