गरिबीको पीडा : बगरमा वृद्ध श्रमिकहरुको संघर्ष

गरिबीको पीडा : बगरमा वृद्ध श्रमिकहरुको संघर्ष

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १२ अन्तर्गत पर्ने कुर्खेन्नी खोला किनारमा बालुवा चालेर जीविका चलाउने श्रमिकहरूको जीवन निकै कष्टकर रहेको छ । नदि किनारमा रहेको बगरमा कोही बालुवा चाल्छन्, कोही गिट्टी कुट्छन्, कोही खोलामा डुङ्गा खोज्दै पानीसँग जुधिरहेका भेटिन्छन् । नदि किनारमा घाम टाउकोमा चर्किएर पर्दा, बगरको बालुवा र गिट्टी तातेर पोल्छ । त्यही तातो ढुङ्गामाथि नाङ्गो खुट्टाले टेक्दै ९१ वर्षीय वृद्ध रामबहादुर स्याङतानको हातहरूले दिनभरि खोला बगरमा बालुवा कोट्याई रहेका भेटिन्छन् । 

वैशाख महिनाको गर्मी त्यसमा पनि बिहानको १२ बजेको घाम, चिरिक्क चर्केर टाउको पोल्दा समेत स्याङतानका सहासी हातहरू रोकिदैनन् । आफ्नो पुरानो घर मनहरी तार्सिगोठ बताउने उनी चर्किलो घामका पसिनाले भिजेका आफ्नो शरीरमाथिको बस्त्र खोलेर नदिको बगरका बालुवामा जीवन खोजिरहेका भेटिन्छन । छेउमा ओत लाग्न छाता–बालुवामाथि नै गाडेर काम गर्दै गरेका स्याङतानले उक्त काम गर्ने थालेको १७-१८ वर्ष भइसकेको सुनाए । 

स्याङतानले भने, ‘पहिले परिवारमा १-१ जना छोराछोरी र श्रीमती थिए । अहिले श्रीमती वितेको पनि १९ वर्ष भइसक्यो भएको एउटा छोरा पनि ४÷५ वर्ष आगाडि मात्र वितेको कुरा आखाँभरी आँशु पार्दै सुनाए । अहिले बनस्थलीमा रहेको छोरी ज्याईको घरमा बसेर यो काम गर्छु । बिहान ७ बजे खोलामा आउँछु ११ बजेतिर खाना खान जान्छु घरमा बस्न मन लाग्दैन फेरि यही फर्केर आएर बेलुकासम्म काम गर्छु । अहिले काम गर्न सक्दिनँ १७ -१८ दिन लाग्छ एक ट्याक्टर बालुवा खोज्न । त्यसबापत २ हजार रुपैंयाँ मात्र पाउने बताए । 

यस्तै एक ट्याक्टर गट्टिको १२ सय रुपैया र एक ट्याक्टर ढुङ्गाको पैसा ५ सय देखि ८ सय रुपैंयाँसम्म पाउने उनले बताए । त्यो पनि प्रहरी प्रशासन आएर हैरान पर्ने गरेको भन्दै काम गरेर खान पनि नदिएको भन्दै दुःख व्यक्त गरे । सोही स्थानमा बालुवा चाल्दै गरेको अवस्थामा ७६ वर्षीय सूर्यकुमारी वाइवा समेत भेटिइन् । सूर्यकुमारी वाइवालाई ९१ वर्षीय वृद्ध रामबहादुर स्याङ्ताने बहिनी बनाएका रहेछन् ।

दुवै जना बनस्थलीमा एकै ठाउँ बस्ने र सूर्यकुमारी बिमार भइरहेको अवस्था र स्याङतान वृद्ध अवस्था भएपछि दुवैले मिलेर काम गर्ने निधो गरेका रहेछन् । खोला बगरमा बुढा स्याङतान घामबाट जोगिन सानो छातामुनि बस्दै ढुंगा टिपिरहेका रहन्छन् । छेउमै उनकी बहिनी, हातमा सानो औजार, बालुवा खन्ने गर्छिन् । उनीहरूका अनुहारमा थकान स्पष्ट देखिन्छ, तर त्योभन्दा ठूलो देखिन्छ—बाँच्नुपर्ने बाध्यता भेटिन्थ्यो । सूर्यकुमारीको आफ्नो घर छैन । उनी बनस्थलीमा भाडामा कोठा लिएर बस्छिन् । परिवारमा छोरा, बुहारी, २ नाती र आफूसहित ५ जना रहेको भन्दै फूर्सदमा छोराले पनि खोलामा आएर सघाउने गरेको सुनाइन् ।
 

२०५९ सालदेखि खोला बगरमा काम गर्न थालेकी उनले महिनाको २ हजार रुपैया त कहिले त्यति पनि कमाउन नसकेको कुरा सुनाइन् । घरमा काम नगुर्न भन्छन् । तर, छोराले कमाएको बुहारीको हातमा दिन्छ । आफ्नो हातले कमाएको आफैलाई हुन्छ, लाउन खान पाइन्छ भनेर काम गर्न आउँछु । ‘सरकारले दिने गरेको बृद्धा भत्ताले खानबस्न पुग्दैन ।’

सरकारले हामी जस्तो खोला बगरमा काम गर्ने समस्यामा परेकालाई राहत दिनुपर्ने बताइन् । म त झन रोगी छु । औषधी खान जचाउन समेत पैसा नभएको कुरा बताइन् । सरकारले सञ्चालन गरेको स्वाथ्य विमासम्बन्धी बेखबर उनी स्वाथ्य विमा नहुदाँ उपचार र औषधी गर्न धौ–धौ रहेको सुनाइन् । आफूलाई घुँडा दुख्ने, निहुरेर काम गर्न नसक्ने र पेट दुख्ने रोग भएकोले गहुङ्खो काम नगर्न डाक्टरको सुझाव रहेको सुनाइन् । तर,बाच्नको लागि त काम गर्नुपर्ने नै हुन्छ, नत्र ३–४ थरी औषधी किन्न पैसा हुँदैन भन्दै दुःख व्यक्त गरिन् । यस्तै उनले सरकारले हामी जस्ता गरिबलाई गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गरिन् । 

उनले भनिन्, ‘समय समयमा खोलामा पुलिस आएर खेदाउने गरेको छ ।’ अघिल्लो वर्षको घटना सम्झँदै गहभरि आँशु पादै आफ्नो दुःख यसरी सुनाइन्, ‘अघिल्लो वर्ष काम गर्दै थिएँ । २–४ जना पुलिस आएर बुढेसकालमा चौकीमा बस्नुपर्ला भन्दै थर्काए, धम्की दिए ।’ मैले खान लाउन गाह्रो भएर हो यस्तो काम गर्नु परेको भने । तर टेरेन यहाँबाट नगए चौकीमा लगरे थुनदिने भन्दै झनै बढी कराए । रहरले हाइन बाध्यताले बिहानदेखि घाम पानी नभनी काम गरेर खान्छौ भन्दा नि सरकारले गरिखान दिँदैन भन्दै दुःख व्यक्त गरिन् ।

यस्तै बगर छेउ उनीबाट अलि पर बगिरहेको खोलाबाट ढुङ्खा निकाल्दै गरेको अवस्थामा भेटिए ३० वर्षिय सुकुराम थिङ । कुख्रेन्नी खोलामा बगिरहेको पानीसँगै, उनीहरूको पसिना पनि बगिरहेको थियो । तर त्यो पसिनाले उनीहरूमा आशाका किरणहरु झनै बढी जगाईरहेको स्पष्ट देखिन्थ्यो । परिवारमा २ छोरा, श्रीमती र आफू रहेको बताँउदै श्रीमती समेत आफैसँग काम गर्न आउने गरेको थिङले बताए । खोलामा एक ट्याक्टर गिट्टी, बालुवा ढुङ्खा खोजे बापत १५ सय पाउने तर ३-४ दिन लाग्ने बताए । आफूसँग सीप छ तर लगानी छैन । दैनिकी खर्च जोहो गर्न विहान वेलुका खान लाउन गाह्रो भएपछि यसरी काम गर्न बाध्य भएको उनले सुनाए । घाम पनि भन्न पाईदैन दुःख विमार भए नि सुख छैन । काम गर्न गाह्रो छ । त्यसमा पनि प्रहरी आएर हैरान गर्ने गरेको उनले सुनाए । 

यस्तै श्रीमती सुकुमाया उमेरले २७ वर्ष भइन् । खोलामा आउँदा श्रीमानसँगै आउने उनको २ छोरा रहेको बताइन् । सरकारले कि काम गर्न दिनुप¥यो हाइन भने हामीलाई दाल, चामल लगायत कुराहरु दिनुपर्ने उनीहरुको भनाई थियो । सोही स्थानमा बालुवा चाल्दै गरेको अवस्थामा भेटिइन् ७२ वर्षीया कान्छीमाया तितुङ । परिवारमा श्रीमानको ५ वर्ष अघिदेखि प्यारलाइसिस भएको र ५ भाइ छोरा पनि कोही कता कोही बाहिर रहेको सुनाइन् ।

महिनाको २ हजार जति कमाई हुने भन्दै तयो पैसा बुढाको औषधी र आफ्नो औषधी उपचार गर्न समेत निकै गाह्रो परेको बताइन् । परिवारले काम गर्न नजानु भन्छन– घरमै सुतेर कस्ले पैसा दिन्छ ? र त्यही भएर खोलामा आउने गरेको बताइन् । मेरो किड्नीमा पानी जमेको छ । गाह्रो काम नगर्नु भनेको छ डाक्टरले तर यहाँ कहा सुख पाइन्छ र ? प्रेसर पनि छ रोग नै रोग बोकेर हिडेको छु भन्दै सरकारले हेर्दिनु पर्ने बताइन् । काम पनि राम्रो छैन काम निकै गाह्रो छ, राम्रो कमाई हुँदैन तर सुख पनि छैन काम नगरी भन्दै आफ्नो गुनासो पोखिन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.