भक्तपुरबाट सरुवा भएका सीडीओ ढकालले अझै लिएनन् रमाना

भक्तपुरबाट सरुवा भएका सीडीओ ढकालले अझै लिएनन् रमाना
सुन्नुहोस्

भक्तपुर : भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको सरुवा भएको करिब एक महिना भयो। गृह मन्त्रालयले वैशाख दोस्रो साता नै उनलाई बागमती प्रदेशमा सरुवा गरेको भए पनि उनले रमाना लिएका छैनन्।

जिल्लामा नेपाल सरकारको प्रमुख प्रशासनिक प्रतिनिधिका रूपमा रहने प्रमुख जिल्ला अधिकारीको  महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। जिल्लाको शान्ति सुरक्षा कायम गर्ने, सरकारी निकायबीच समन्वय गर्ने, विपद् व्यवस्थापन गर्ने र सरकारको निर्णय कार्यान्वयन गर्ने लगायतका महत्त्वपूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले बहन गर्नुपर्छ। तर, सिंहदरवारको नाकैनेर भक्तपुरको प्रमुख जिल्ला अधिकारीलाई हचुवाको भरमा चलाउँदा सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न सकेको छैन।  

गृह मन्त्रालयले नियमित प्रशासनिक नेतृत्व फेरबदल गर्ने क्रममा भक्तपुरका ढकाललाई समेत सरुवा गरेको बताए पनि कार्यकाल सम्हालेको करिब ६ महिनामै सरकारले सरुवा गरिदिएकोले उनले त्यसलाई स्वीकार गर्न सकेका छैनन्। ढकाल आफ्नो सरुवालाई लिएर असन्तुष्ट रहेका जिप्रका स्रोतले जनाएको छ। 

गृह मन्त्रालयले सिनियर सहसचिवलाई प्रदेश पठाउने नीतिबमोजिम ढकालको सरुवा गरेको बताए पनि ढकाल यसअघि पनि प्रदेशमा बसिसकेकाले जान अनिच्छुक देखिएका छन्। उनी सरुवा बदर गराउन सक्रिय रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले गृह मन्त्रालय आफूसँगै राखेका छन्। प्रमुख जिल्ला अधिकारी जस्तो महत्त्वपूर्ण पद गृह प्रशासनले हचुवामा चलाएको कारण निर्णय कार्यान्वयनमा समस्या उत्पन्न भएको  विश्लेषक उमेश कायस्थ बताउँछन्। सरुवा भइसकेका प्रमुख जिल्ला अधिकारीलाई नटेर्ने मनोविज्ञानले कार्यसम्पादन प्रभावकारी नहुने उनले चिन्ता व्यक्त गरे। ‘सरुवा भइसकेका कर्मचारीलाई स्वभावैले काममा उत्साह हुँदैन र कार्यसम्पादन कर्मकाण्डी बन्छ।’ उनले भने।

स्थानीय सरकारका जनप्रतिनिधिले पनि समय नपुगी सरुवा गर्ने काम गलत भएको र सरुवा भएपछि नयाँ नेतृत्वलाई जिम्मेवारी दिन नसक्नु फेरि अर्को गल्ती गरिएको प्रतिक्रिया दिएका छन्। निजामती सेवा ऐन २०४९ ले सरकारले खटाइएको स्थानमा हाजिर हुन नजाने कर्मचारीलाई विभागीय  कारबाहीको व्यवस्था गरेको छ। तर, जिप्रकाले भने भक्तपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी नतोकिएकाले प्रमुख जिल्ला अधिकारी ढकालले रमाना नलिएको भन्दै उनको बचाव गरेको छ।

‘उहाँले बरबुझारथ गर्न पहिला नयाँ सिडियो जिम्मेवारी लिन आउनुपर्‍यो नि !’ एक कर्मचारीले भने। स्रोतका अनुसार गृहका उच्च अधिकारीले नै प्रजिअ ढकाललाई सरुवा पुनर्विचारको आश्वासन दिएकोले उनी ढुक्क छन्। ‘उनको सरुवा नमिलाई नयाँ प्रजिअ नपठाउने निश्चित भइसकेको छ ,’ स्रोतले भन्यो।

मनसुनको समय र सम्भावित विपद्को प्रतिकार्यमा जुट्नुपर्ने बेलामा प्रमुख जिल्ला अधिकारीको अन्योलताले भक्तपुर आश्चर्यचकित मात्र छैन यसले सिंहदरबारलाई समेत गिज्याइरहेको पनि छ । यसबारे गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र सूचना अधिकारी रमा आचार्य सुवेदीसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि आइतबार उनीहरूको मोबाइल उठेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.