ऐसेलुखर्क गाउँपालिकामा सबैभन्दा कम बेरुजु, अरुको कति ?
सुनसरी : खोटाङको ऐसेलुखर्क गाउँपालिका जिल्लाकै सबैभन्दा कम बेरुजु कायम गर्ने स्थानीय तह बनेको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८३ अनुसार ऐसेलुखर्क गाउँपालिकाको बेरुजु शून्य दशमलव ४४ प्रतिशत मात्रै रहेको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु कायम गर्दै ऐसेलुखर्क पहिलो स्थानमा पुगेको हो ।
महालेखापरीक्षकको तथ्यांकअनुसार ऐसेलुखर्क गाउँपालिकाले १ अर्ब १४ करोड भन्दा बढी रकमको लेखापरीक्षण गराउँदा करिब ५० लाख रुपैयाँ मात्र बेरुजु देखिएको छ । न्यून बेरुजु कायम हुनु वित्तीय अनुशासन, पारदर्शिता र योजनाबद्ध खर्च व्यवस्थापनको परिणाम भएको पालिकाका लेखा अधिकृत पंकोज आचार्यले बताएका छन् ।
खोटाङका अन्य स्थानीय तहको बेरुजु विवरण हेर्दा हलेसी तुवाचुङ नगरपालिका दोस्रो स्थानमा आएको छ । हलेसीको ०.६२ प्रतिशत बेरुजु देखिएको छ । तेस्रो स्थानमा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका को ०.७८ प्रतिशत बेरुजु देखिएको छ । रावाबेँसी गाउँपालिका को १.५ प्रतिशत र साकेला गाउँपालिका को १.३ प्रतिशत बेरुजु देखिएको छ ।
केपिलासगढी गाउँपालिका को बेरुजु २.८३ प्रतिशत रहेको छ। खोटेहाङ गाउँपालिका को ३.९ प्रतिशत रहेको छ । जन्तेढुंगा गाउँपालिका को १.५४ प्रतिशत, बराहपोखरी गाउँपालिका को १.५६ प्रतिशत बेरुजु देखिएको छ । जिल्लाको सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका को बेरुजु भने तुलनात्मक रूपमा बढी १.७१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहहरूमा आर्थिक अनुशासन, सार्वजनिक खर्चको पारदर्शिता र विकास योजनाको प्रभावकारिता मापन गर्ने आधारमध्ये बेरुजु महत्वपूर्ण सूचक मानिन्छ । यस्तो अवस्थामा ऐसेलुखर्क गाउँपालिकाले जिल्लामै उत्कृष्ट वित्तीय अनुशासन कायम गर्दै उदाहरणीय काम गरेको भन्दै स्थानीय स्तरमा प्रशंसा हुन थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले पारदर्शी प्रशासन, नियमित अनुगमन र कानुनी प्रक्रिया पालना गरिएकै कारण बेरुजु न्यून राख्न सफल भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताए ।
प्रतिक्रिया दिनुहोस !