काभा महिला च्याम्पियनसिपमा नेपालसहित ८ टोली तयार
काठमाडौं : शुक्रबारबाट नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा काभा महिला च्याम्पियनसिप खेल्दैछ। यसमा नेपालसहित ८ टोलीले भाग लिँदैछन्।
प्रतियोगितामा नेपालसहित भारत, कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् भने इरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह बीमा छन्।
नेपाली महिला टिमकी कप्तान निरुता ठगुन्ना अनुभवी र युवा खेलाडीसहित टिम तयार रहेको बताउँछिन्। उनले बिहीबार आयोजना भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा नेपालको टोली प्रतियोगिताको लागि तयार रहेको बताएकी हुन्। ‘छोटो समयमा अनुभवी र नयाँ खेलाडीहरुसहित टिमको तयारी राम्रो भएको छ। ’ उनले अन्य कुरा भने खेलमा नै देखाउने बताएकी छिन्।
त्यस्तै, काभाको अघिल्लो संस्करणको विजेता भारत पनि उपाधि रक्षा गर्ने दाउमा रहेको छ। भारतीय टिमकी कप्तान नन्दना वलप्पिलले छोटो समयको तयारी रहे पनि आफूहरु उपाधि रक्षा गर्नेमा विश्वस्त रहेको बताइन्। त्यस्तै अन्य टोली पनि आफूहरु प्रतियोगिताको लागि तयार रहेको बताए। नेपालले समूह एको पहिलो खेल शुक्रबार भारतसँग खेल्दैछ।
प्रतिक्रिया दिनुहोस !