भारतविरुद्धको युद्धमा चिनियाँ इन्जिनियरहरूले पाकिस्तानलाई सहयोग गरेको खुलासा

भारतविरुद्धको युद्धमा चिनियाँ इन्जिनियरहरूले पाकिस्तानलाई सहयोग गरेको खुलासा

नयाँ दिल्ली : गत वर्ष भारत र पाकिस्तानबीच भएको युद्धको समयमा आफ्ना इन्जिनियरहरूले पाकिस्तानलाई युद्धभूमिमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराएको चीनले पहिलो पटक पुष्टि गरेको छ। नयाँ दिल्लीमा 'अपरेशन सिन्दूर' नाम दिइएको उक्त सैन्य कारबाहीका बेला चिनियाँ इन्जिनियरहरूले सहयोग गरेको हङकङबाट प्रकाशित हुने 'साउथ चाइना मर्निङ पोस्ट' दैनिकले उल्लेख गरेको छ।

गत वर्ष अप्रिल २२ मा जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको थियो। उक्त आक्रमणको जवाफमा भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी अखडाहरूलाई निशाना बनाउँदै 'अपरेशन सिन्दूर' सैन्य कारबाही चलाएको थियो। भारतीय कारबाहीमा जैश-ए-मोहम्मद, लश्कर-ए-तैयबा र हिज्बुल मुजाहिद्दीन जस्ता प्रतिबन्धित संगठनसँग आबद्ध १०० भन्दा बढी सशस्त्र विद्रोहीहरू मारिएका थिए।

उक्त समाचार प्रतिवेदन अनुसार, चीनको राज्य-नियन्त्रित केन्द्रीय टेलिभिजन (सीसीटीभी) द्वारा प्रसारित एक अन्तर्वार्तामा 'एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना' का इन्जिनियरहरूले पाकिस्तानी सैन्य अभियानलाई प्रत्यक्ष रूपमा सहयोग गरेको विवरण दिएका छन्। भारत-पाकिस्तान द्वन्द्वमा चिनियाँ प्राविधिकहरूको भूमिका रहेकोबारे बेइजिङको तर्फबाट आएको यो नै पहिलो आधिकारिक स्वीकारोक्ति हो।

उक्त द्वन्द्वका क्रममा पाकिस्तानलाई प्राविधिक सहयोग उपलब्ध गराउनेहरूमध्ये चिनियाँ विमान उत्पादक कम्पनी अन्तर्गतको 'चेङ्द' विमान डिजाइन तथा अनुसन्धान संस्थान'का इन्जिनियर झाङ हेङ पनि एक थिए। यो संस्थान चीनको अत्याधुनिक लडाकु विमान र मानवरहित विमान (ड्रोन) विकास गर्ने प्रमुख राष्ट्रिय निकाय हो।

'सैन्य शिविरमा बस्दा हामीले लडाकु विमानहरू उडेको आवाज र हवाई आक्रमणको चेतावनी दिने साइरन निरन्तर सुन्थ्यौँ। मे महिनाको उत्तरार्धतिर त्यहाँको तापमान ५० डिग्री सेल्सियसको हाराहारीमा पुग्थ्यो। त्यो हाम्रा लागि मानसिक र शारीरिक दुवै रूपमा ठूलो परीक्षा थियो,' इन्जिनियर झाङ हेङले भनेका छन्।

पाकिस्तानी वायुसेनाले चिनियाँ विमान उत्पादक कम्पनीको भगिनी संस्थाद्वारा निर्मित जे-१० सीई लडाकु विमानहरू प्रयोग गर्दै आएको छ। इन्जिनियर हेङका अनुसार, उनको टोलीलाई चिनियाँ सैन्य उपकरणले युद्धको मैदानमा 'आफ्नो पूर्ण क्षमता प्रदर्शन गरोस्' भन्ने तीव्र इच्छा थियो।

'त्यो जे-१० सीई विमानको प्रविधि परीक्षण मात्र थिएन, बरु रातदिन सँगै काम गरेर बनेको हाम्रो गहिरो सम्बन्धको प्रमाण पनि थियो,' हेङले थपे।

सोही संस्थानका अर्का कर्मचारी सु दाले लडाकु विमानलाई आफ्नै 'बच्चा' सँग तुलना गरे। उनले भने, 'हामीले यसलाई निर्माण गर्यौँ, हेरचाह गर्यौँ र अन्ततः प्रयोगकर्ता (पाकिस्तान) लाई हस्तान्तरण गर्यौँ। युद्धको समयमा यसको कडा परीक्षा भइरहेको थियो। जे-१० सीईले जुन उत्कृष्ट नतिजा हासिल गर्‍यो, त्यसमा हामीलाई कुनै आश्चर्य लागेन। यो त निश्चित नै थियो।'

जे-१० सीई विमान साढे चार पुस्ताको अत्याधुनिक लडाकु विमान हो। चीन बाहेक पाकिस्तान मात्र यस्तो देश हो जसले यो विमान सञ्चालन गर्छ। इस्लामाबादले सन् २०२० मा ३६ वटा लडाकु विमान र २५० वटा पीएल-१५ क्षेप्यास्त्र खरिद गर्ने सम्झौता गरेको थियो।

सन् २०२५ जुलाईमा भारतीय सेनाले पाकिस्तानको कुल सैन्य सरसामान (हातहतियार र उपकरण) को ८१ प्रतिशत हिस्सा चिनियाँ मूलको रहेको र चीनले आफ्नो सैन्य प्रविधि परीक्षण गर्न पाकिस्तानलाई 'प्रत्यक्ष प्रयोगशाला' (लाइभ ल्याब) को रूपमा प्रयोग गरिरहेको दाबी गरेको थियो।

'स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान' (सिपरी) का अनुसार चीनले सन् २०१५ देखि पाकिस्तानलाई ८ अर्ब २० करोड डलर बराबरको हतियार बिक्री गरेको छ। सन् २०२० देखि २०२४ को अवधिमा चीन विश्वको चौथो ठूलो हतियार निर्यातक राष्ट्र बनेको थियो, जसको कुल हतियार निर्यातको ६३ प्रतिशत हिस्सा पाकिस्तानमा मात्र गएको थियो। यसले इस्लामाबादलाई चीनको सबैभन्दा ठूलो हतियार ग्राहक बनाएको पुष्टि गर्छ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.