तिमी अरू जे बन्नू, तर शिक्षक नबन्नू !
निःसन्देह, शिक्षक भएर विद्यालय वा कलेजलाई राजनीतिक अखडा बनाउनु हुँदैन। शिक्षकको मूल भूमिका भनेको नैतिक तथा बौद्घिक रूपमा सक्षम नागरिक तयार गर्नु हो। शिक्षकको जिम्मेवारी पाठ्यक्रम अध्यापन गर्नु, विद्यार्थीको प्रगतिको मूल्यांकन गर्नु, सुरक्षित तथा समावेशी सिकाइ वातावरण निर्माण गर्नु र विद्यार्थीको बौद्घिक विकासमा सहजीकरण गर्नु हो।
‘केही गर्न नसक्नेहरू शिक्षक बन्छन्’ भन्ने हाम्रो समाजमा रहेको कतिपय भाष्य नै गलत छ। हरेक मानिस असफल भएर वा अन्य केही बन्न नसकेर शिक्षक बनेका हुँदैनन्। कतिपय मानिसलाई शिक्षण–सिकाइ गराउनुमा आनन्द र आत्मसन्तुष्टि प्राप्त हुन्छ, त्यसैले पनि उनीहरू यो पेसामा लागेका हुन्छन्। इन्जिनियर, डाक्टर, नर्स, वकिलजस्ता विभिन्न पेसाका व्यक्तिहरू पनि शिक्षकको भूमिकामा देखिन्छन्। उनीहरूले आफ्ना विषयसम्बन्धी ज्ञान विद्यार्थीलाई प्रदान गरिरहेका हुन्छन्।
अरू धेरै देशहरूमा शिक्षक र शिक्षण पेसालाई अत्यन्त सम्मानका साथ हेरिन्छ। तर हाम्रो देशमा भने यो पेसालाई प्रायः अन्तिम विकल्पको रूपमा लिने गरिन्छ। अझ यो पेसामा लागेका व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोण नै फरक देखिन्छ। यद्यपि पछिल्ला दिनहरूमा यस्तो धारणामा फेरबदलसमेत पाउन सकिन्छ । मलाई अझै सम्झना छ, मेरी गुरुआमाले एकपटक भन्नुभएको थियो—‘तिमी अरू जे बने पनि बन्नू, तर शिक्षक नबन्नू।’
त्यो बेला उहाँले किन त्यसो भन्नुभएको होला भन्ने मैले बुझ्न सकेकी थिइनँ। तर आज फर्केर हेर्दा लाग्छ— उहाँले आफ्नै अनुभव र भोगाइका आधारमा त्यो कुरा भन्नुभएको रहेछ। हाम्रो जस्तो देशमा शिक्षण पेसालाई सम्मानित पेसाको रूपमा पूर्ण रूपमा स्वीकारिएको छैन, र शिक्षकले न्यूनतम सम्मानसमेत नपाउने अवस्था देखेर उहाँले त्यसो भन्नुभएको हुनुपर्छ।
सन् २०२४ को सुरुवातमा एजुकेसन, २०३० का लागि इन्टरनेसनल टास्क फोर्स अन टिचर्सले प्रकाशित गरेको अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार चीन, दक्षिण कोरिया, मलेसिया, ताइवान र सिंगापुरजस्ता एसियाली राष्ट्रहरूमा शिक्षकप्रति ‘कल्चर अफ रेस्पेक्ट’ रहेको उल्लेख गरिएको छ। ती देशहरूमा शिक्षकलाई डाक्टरसरह सम्मान दिइन्छ। हामी पनि एसियाकै देश हौं, तर हाम्रो समाजमा शिक्षकप्रति राखिने भावना र व्यवहार देख्दा दुःख लाग्छ।
केवल विद्यार्थी वा अभिभावकमात्र होइन, कतिपय निजी विद्यालय तथा कलेजहरूले शिक्षकका मौलिक प्रमाणपत्र नै धितोको रूपमा राख्ने, समयमा पारिश्रमिक नदिने, सेसन पूरा गरेर शिक्षकले संस्था छाड्दा पनि पूरा तलब नदिनेजस्ता प्रवृत्तिहरू अहिले पनि विद्यमान छन्। राम्रो कार्य वातावरण नपाउने, सधैं दबाबमा काम गर्नुपर्ने, जागिरको सुनिश्चितता नहुने र निरन्तर असुरक्षाबीच काम गर्नुपर्ने अवस्था के शिक्षकप्रति गरिने उचित व्यवहार हो ?शिक्षकलाई सम्मान त्यही एक दिन गुरु पूर्णिमाको दिनमा दिएको देख्छु, तर त्यो पनि उत्सवको नाममा हाम्रो पूर्वीय संस्कृतिभन्दा पृथक् तरिकाले मनाउन थालिएको छ।
सबैभन्दा पीडादायी अवस्था त त्यो हो, जब अभिभावक स्वयंले आफ्ना बालबालिकाको कलिलो मस्तिष्कमा यस्तो सोच रोपिदिन्छन्—‘शिक्षक भनेको हामीले तिरेको शुल्कबाट तलब खाने व्यक्ति हो। तिमीलाई गाली ग¥यो भने हामीलाई भन्नू, हामी त्यो शिक्षकको जागिर खाइदिन्छौं।’ कठै त्यो सोच, कठै त्यो मानसिकता, के भन्नु ? अनि कहाँबाट शिक्षकप्रति सकारात्मक सोच राख्लान् र विद्यार्थीले ?
अर्कोतर्फ, कतिपय विद्यालय तथा कलेज प्रशासनले पनि ‘सर र म्यामले केही गर्नुभयो भने सीधै हामीकहाँ आएर उजुरी गर्नू’ भनेर विद्यार्थीलाई शिक्षकमाथि निगरानी गर्न प्रोत्साहित गर्छन्। यसले विद्यार्थी र शिक्षकबीचको विश्वास र सम्मानलाई कमजोर बनाउँछ। जब शिक्षकको गरिमा नै कमजोर बनाइन्छ भने विद्यार्थीले शिक्षकलाई कसरी सम्मान गर्न सक्छन् ?
निःसन्देह, शिक्षक भएर विद्यालय वा कलेजलाई राजनीतिक अखडा बनाउनु हुँदैन। शिक्षकको मूल भूमिका भनेको नैतिक तथा बौद्धिक रूपमा सक्षम नागरिक तयार गर्नु हो। शिक्षकको जिम्मेवारी पाठ्यक्रम अध्यापन गर्नु, विद्यार्थीको प्रगतिको मूल्यांकन गर्नु, सुरक्षित तथा समावेशी सिकाइ वातावरण निर्माण गर्नु र विद्यार्थीको बौद्धिक विकासमा सहजीकरण गर्नु हो।
शिक्षकले आफ्नो कर्तव्य र जिम्मेवारी कहिल्यै बिर्सनु हुँदैन। आफ्नो काम पूर्ण इमानदारी र समर्पणका साथ गर्नुपर्छ। शिक्षक हजारौं भविष्यका कर्णधारसँग जोडिएको व्यक्ति भएकाले स्वयं नैतिक रूपमा सही हुनुपर्छ। आफूमा भएका नैतिक मूल्यहरू व्यवहारमा उतार्दै ती नै मूल्य विद्यार्थीलाई सिकाउनुपर्छ। शिक्षक अनुशासनको प्रतिमूर्ति हुनुपर्छ।
दुःख लाग्ने अर्को कुरा के हो भने, जीवनमा सफल भएपछि केही मानिसहरू ‘म त आफ्नै मेहनतले यहाँ पुगेको हुँ, शिक्षकहरूले मलाई केही सिकाएका होइनन्’ भन्ने गर्छन्। हो, अहिलेको आधुनिक युगमा प्रविधिको मद्दतले पाठ्यसामग्री आफैं अध्ययन गर्न सकिन्छ, तर के त्यो भावनात्मक साथ, अगाडि बढ्नका लागि गुरुहरूले दिने हौसला पनि प्रविधिले दिन सक्छ ? आफ्ना विद्यार्थी उत्कृष्ट हुँदा स्याबासी दिने हात पनि कम्प्युटरको हुन्छ ? हारेको बेला अगाडि बढ्न प्रेरणा दिने ती वाणीहरू पनि कृत्रिम बुद्धिमत्ताबाट पाइन्छ ? अवश्य पाइन्न ।अहिले शिक्षण–सिकाइमा बालमनोविज्ञानलाई प्राथमिकता दिइँदै शारीरिक सजायप्रति शून्य सहनशीलताको नीति अपनाइएको छ। शिक्षकबाट त्यस्तो व्यवहार भएको पाइए कानुनी कारबाही हुनु स्वाभाविक हो।
म स्वीकार गर्छु— सबै शिक्षक सधैं सही हुँदैनन्, र सबै विद्यार्थी सधैं गलत हुँदैनन्। गल्ती शिक्षकबाट पनि हुन सक्छ। तर कुनै शिक्षकलाई कालो मोसो दलेर, जुत्ताको माला लगाएर सार्वजनिक रूपमा अपमान गर्नु के उचित हो ? कानुनी शासन भएको देशमा कानुनी प्रक्रियाबाट कारबाही हुनु पर्दैन र ? यस्तो घटनाले त्यो शिक्षक र उहाँको परिवारको मनोविज्ञानमा कति गहिरो असर पार्छ भन्नेबारे हामीले सोच्नु पर्दैन ?
मेरो विनम्र आग्रह यत्तिमात्र हो— जसरी हामी आफ्नो पेसालाई गर्वका साथ परिचय दिन्छौं, त्यसरी नै शिक्षण पेसा र शिक्षकलाई पनि सम्मान गर्न सिकौं। शिक्षकले तपाईंको जीवनमा ठूलो योगदान नगरेका भए पनि, कम्तीमा रातो कलमले अंक दिएर उत्तीर्ण त गराएकै होलान्। आफ्नो पेसामात्र महान् र शिक्षक भने सबै अल्छी, अयोग्य वा ठग हुन् भन्ने कतै सोच छ भने त्यो पनि त्यागौं।
एउटा शिक्षकले आफ्ना विद्यार्थीलाई कहिल्यै प्रतिस्पर्धीको रूपमा हेर्दैन। विद्यार्थी जीवनमा शिक्षकलाई ‘हराउनु’ भनेको शिक्षकभन्दा अझ सफल बन्नु हो, र प्रत्येक शिक्षक यही चाहन्छ— उसका विद्यार्थी ऊभन्दा पनि बढी काविल होस् ।
लेखक नेपाली सैनिक प्रतिष्ठानमा अध्यापक हुन् ।
प्रतिक्रिया दिनुहोस !