महोत्तरीको रामनगरमा देशकै ठूला तीन उद्योग

महोत्तरीको रामनगरमा देशकै ठूला तीन उद्योग

गौशाला (महोत्तरी) : महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर औद्योगिक हबका रूपमा विकसित भएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ६ किलोमिटर दक्षिणमा रहेको यस वडामा देशकै तीनवटा ठूला उद्योगहरू सञ्चालनमा छन्। यहाँ एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज, नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज र युवरानी मत्स्य तथा एग्रो इन्डस्ट्रिज सञ्चालित छन्।

यी उद्योगहरूको स्थापनासँगै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना भएका छन्। यहाँका करिब प्रत्येक तीन घरमध्ये एक घरका व्यक्तिले उद्योगमा रोजगारी पाएका छन्। स्थानीयस्तरमै रोजगारी उपलब्ध भएपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ भने स्थानीयको जीवनस्तरमा सुधार आएको छ। महोत्तरीको गौशाला–१ मा देशकै ठूलो चिनी उद्योगको रूपमा एभरेस्ट सुगर मिल सञ्चालनमा छ। २०५१ सालमा उद्योगपतिहरू शशिकान्त अग्रवाल र सुरेश सर्राफलगायतको संयुक्त लगानीमा स्थापित यस उद्योगले सिजनमा ५ सय जना र अन्य समयमा करिब २ सय कामदारलाई रोजगारी दिँदै आएको छ। जसमा अधिकांश स्थानीय मजदुर छन्।

उद्योगले तत्कालीन समयमा सडक निर्माण, बाटो मर्मत, सार्वजनिक भवन निर्माण तथा खानेपानी जस्ता पूर्वाधारमा सहयोग गरेको पूर्वकर्मचारी रामपुकार महतो बताउँछन्। स्थानीय समाज र उद्योगबीचको राम्रो सम्बन्धका कारण द्वन्द्वकाल र मधेस आन्दोलनमा समेत उद्योग निर्बाध सञ्चालन भएको थियो। आधुनिक प्रविधि भित्रिएसँगै पछिल्लो समय मजदुरको संख्यामा केही कटौती भए पनि उद्योगमा आवासगृह र अन्य अत्याधुनिक सुविधा उपलब्ध छन्।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजः कागजमा आत्मनिर्भरताको प्रयास
एभरेस्ट चिनी उद्योगभन्दा २ किलोमिटरको दूरीमा देशकै ठूलो र व्यवस्थित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा छ। काठमाडौंका चन्द्रप्रसाद ढकाल, जनकपुरका गौतम सर्राफ र सर्लाहीका अरुण भण्डारीसहितका उद्योगपतिहरूको करिब २ अर्ब रुपैयाँको लगानीमा स्थापित यस उद्योगले २०८१ देखि उत्पादन सुरु गरेको हो। यहाँ दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन हुन्छ।

आइएमी ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार यस उद्योगले प्रत्यक्ष रूपमा ३ सयभन्दा बढी र अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिएको छ, जसमा ५० प्रतिशतभन्दा बढी स्थानीय र महिला छन्। भृकुटी कागज कारखाना बन्द भएपछि उत्पन्न कागजको अभावलाई कम गर्न यो उद्योग सहयोगी बनेको छ।

युवरानी मत्स्य तथा एग्रो इन्डस्ट्रिज
वार्षिक ३० हजार मेट्रिक टन दाना उत्पादन क्षमता भएको युवरानी एग्रो इन्डस्ट्रिज पनि यसै वडामा सञ्चालित छ। यस कम्पनीले गाईवस्तु, कुखुरा र माछाका लागि दाना उत्पादन गर्नुका साथै व्यावसायिक माछापालन, कुखुरापालन र वार्षिक ४० देखि ५० हजार चल्ला उत्पादन गर्ने ह्याचरीसमेत सञ्चालन गर्दै आएको छ।

गएको वर्षसम्म उद्योगले ६५ करोड १० लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ। कम्पनीको व्यापारिक वृद्धिदर औसत ८५ प्रतिशत छ। प्रवर्धकहरूबाट थप १५ करोड लगानी भएपछि यसको वित्तीय अवस्था सुदृढ बनेको छ र कम्पनीले अब आईपीओमार्फत पुँजी परिचालन गरी प्रशोधित मासु व्यवसायमा प्रवेश गर्ने लक्ष्य राखेको छ।

प्रदूषणको सास्ती र व्यवस्थापनको चुनौती
उद्योगहरू बस्ती नजिकै हुँदा स्थानीय बासिन्दाले फोहोर, दुर्गन्ध र ध्वनि प्रदूषणको सास्ती खेप्नुपरेको छ। उच्च ध्वनिका कारण राति सुत्न समस्या हुने गरेको स्थानीय गृहणी सुनिता कुमारी महतोको गुनासो छ।

उद्योगको चिम्नीबाट निस्कने धुवाँ र खरानीका कण खाना र पिउने पानीमा मिसिँदा स्थानीयमा दम, मुटुरोग, आँखाको समस्या र श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढेको स्थानीय मुकेश कुशवाहा बताउँछन्। स्थानीय वीरेन्द्रकुमार यादवका अनुसार यी समस्याबारे पटक–पटक मौखिक र लिखित ध्यानाकर्षण गराउँदा पनि उद्योग प्रशासनले ठोस पहल गरेको छैन। एउटै वडामा तीनवटा ठूला उद्योग भए पनि यहाँका सडकहरू जीर्ण र साँघुरा छन्। पूर्ववडाध्यक्ष भीमबहादुर रानाका अनुसार उद्योगले वार्षिक करोडौं राजस्व तिरे पनि सरकारी स्तरबाट र उद्योग पक्षबाट सडक पूर्वाधार विकासमा आवश्यक पहल भएको छैन। साँघुरो सडकमा मालबाहक सवारी चल्दा र बिजुलीका तारहरू व्यवस्थित नहुँदा समस्या थपिएको छ।

उद्योग नजिकैको जंघा नदीमा पुल नहुँदा ढुवानीका साधनहरू घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्। वर्षायाममा खोलामा बाढी आउँदा कामदार समयमा पुग्न नसकी उद्योगको काम प्रभावित हुने गरेको उद्योग पक्षको भनाइ छ।

गौशाला नगरपालिकाकी पूर्वउपमेयर आशा लामाका अनुसार विगतमा पालिकालाई उद्योगग्रामका रूपमा रूपान्तरण गर्न गौशाला–८ स्थित सोनी खोला किनारको ३ सय बिघा बगर जग्गा आरक्षित गरी प्रक्रिया अगाडि बढाइएको थियो। तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवको पहलमा चिनियाँ उद्योगपतिहरूले स्थलगत निरीक्षणसमेत गरेका थिए। तर, कोरोना महामारी र त्यसपछिको विश्वव्यापी आर्थिक संकटका कारण चिनियाँ लगानीकर्ता पछि हट्दा सो परियोजना हाल अलपत्र परेको छ।

गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोले एउटै वडामा देशकै ठूला उद्योगहरू सञ्चालन हुनु नगरका लागि गौरवको विषय भएको बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.