गाजामा इजराइलको हवाइ आक्रमण, हमासका सैन्य शाखा प्रमुख मारिएकाे दाबी
इजराइल : इजरायलले गाजामा गरिएको हवाई आक्रमणमा हमासको सैन्य शाखाका प्रमुख मोहम्मद ओदेह मारिएको दाबी गरेको छ । युद्धविराम कमजोर बन्दै गइरहेको समयमा यो घटना भएको हो । इजरायली अधिकारीहरूका अनुसार ओदेहलाई बुधबार गाजा सिटीको उत्तरी भागमा मंगलबार गरिएको आक्रमणमा मारिएको हो । यसबारे प्यालेस्टिनी समूह हमासले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
ओदेह पहिले हमासको गुप्तचर प्रमुख रहेका थिए । उनलाई इज्ज अल–दिन अल–हद्दादको स्थानमा कास्साम ब्रिगेड्स (हमासको सशस्त्र शाखा) को प्रमुख बनाइएको बताइन्छ, यद्यपि हमासले यो नियुक्ति आधिकारिक रूपमा पुष्टि गरेको थिएन । इजरायली रक्षामन्त्री इजरायल कात्जले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै भने, ‘गाजामा हमास आतंकवादी संगठनको सैन्य शाखाका नम्बर ४ कमान्डरलाई समाप्त गरिएको छ ।’
प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्रीले मंगलबार नै ओदेहलाई लक्षित गरी आक्रमण गरिएको बताएका थिए । इजरायली सेनाले पनि ओदेहको मृत्यु पुष्टि गर्दै उक्त आक्रमण महिनौँदेखि उनको गतिविधि निगरानीपछि गरिएको जनाएको छ । अल–शिफा अस्पतालका एक स्रोतका अनुसार गाजा सिटीको रेमाल क्षेत्रमा मंगलबार राति भएको आक्रमणमा ६ जनाको मृत्यु र २० जना घाइते भएका छन् ।
इजरायली सेनाले ओदेहलाई ७ अक्टोबर २०२३ मा भएको हमास नेतृत्वको आक्रमणको योजना र समन्वयमा संलग्न रहेको आरोप लगाएको छ । त्यस आक्रमणपछि इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको थियो, जसमा हालसम्म ७२ हजार ८०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । युद्धका क्रममा हमासका धेरै वरिष्ठ नेताहरू मारिएका छन्, जसमा पूर्व राजनीतिक प्रमुख इस्माइल हानिया, यह्या सिनवार, तथा सैन्य कमान्डर मोहम्मद दीफ पनि छन् । ११ अक्टोबरमा लागू भएको युद्धविरामपछि पनि गाजामा कम्तीमा ९०६ जनाको मृत्यु भइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !