नागढुङ्गा–मुग्लिङ सडकमा जोखिमयुक्त चट्टान काट्न सुरु
धादिङ : निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडक खण्डमा वर्षायामका बेला सडकमाथिबाट ढुङ्गा खस्ने जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त स्थानमा चट्टान काट्ने (कटिङ) को काम सुरु गरिएको छ ।
सडक विस्तारका क्रममा हेभी उपकरण प्रयोग गरेर काटिएका भीर तथा चट्टानका भागमा ठूला ढुङ्गा अड्किएर बसेकाले सामान्य वर्षामा समेत खस्ने जोखिम बढेको भन्दै आयोजनाले जनशक्ति परिचालन गरेर थप कटिङ तथा सफाइको काम थालेको जनाएको छ ।
निर्माणाधीन सडकको माथिल्लो भागमा अस्थिर अवस्थामा रहेका ढुङ्गा तथा चट्टान हटाउन प्राविधिकको निगरानीमा काम भइरहेको आयोजनाको भनाइ छ । वर्षा याममा यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै जोखिम बढी देखिएका क्षेत्रमा प्राथमिकताका साथ कटिङ कार्य अघि बढाइएको जनाइएको छ ।
आयोजनाका अनुसार सडक निर्माण जारी रहेका तथा पहिरो र ढुङ्गा खस्ने सम्भावना रहेका स्थानमा जनशक्ति प्रयोग गरी जोखिम कम गर्ने प्रयास भइरहेको छ । विशेष गरी वर्षातको समयमा यस सडक खण्डमा ढुङ्गा खस्ने र सवारी दुर्घटनाको जोखिम उच्च रहने भएकाले पूर्व सतर्कतास्वरूप काम तीव्र पारिएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !