सगरमाथा आरोही सम्मानित
काठमाडौं : सगरमाथा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा ६ पटकसम्म सगरमाथा आरोहण गर्ने सहासी युवा मिग्मार दोण्डु शेर्पा सम्मानित भएका छन्। जिरी नगरपालिका, दोलखाका शेर्पालाई ‘एक्सप्लोर नेपाल नेटवर्क’ले सम्मान गरेको हो।
उनले पहिलोपटक २०७९ वैशाख २४ गते सगरमाथा आरोहण गरेका थिए। उनी पर्वतारोहण प्रशिक्षकका रूपमा कार्यरत छन्। उनले संसारका ८ हजार मिटर अग्ला ८ ओटा हिमाल आरोहण गरिसकेका छन्।
सम्मान कार्यक्रममा शेर्पालाई माउन्टेन गाइड एसोसियसन नेपाल (मोगान)का अध्यक्ष सञ्जिब गुरुङले सम्मानपत्र र अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। त्यसैगरी आयोजक संस्थाका अध्यक्ष लिलाराम खड्काले उनलाई कोसेली हस्तान्तरण गरेका थिए। उक्त अवसरमा प्रधान सम्पादक बस्नेतले शेर्पाको सहासिक कामले सम्पूर्ण युवालाई प्रेरणा दिएको बताए।
‘नेपालका हिमाल चिनाउन पर्वतारोहीले गरेको योगदान प्रशंसनीय छ’, पर्यटन विकास एवं जलवायु न्यायमा सक्रिय संस्था साथसाथैका संस्थापक समेत रहेका बस्नेतले भने, ‘पर्वतारोहणमा लाग्ने श्रमजीवीको राज्यले उचित कदर गर्नुपर्छ।’
स्वदेशमा नियमित काम र राम्रो आम्दानीको अभावमा पर्वतारोहण क्षेत्रमा लागेका मजदुरहरू विदेश जानेक्रम तीव्र भइरहेको विषय शेर्पाले चर्चा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवम् मोगानका अध्यक्ष गुरुङले पर्वतीय पर्यटनमा समर्पित मजदुरहरूको हकहितमा हातेमालो गर्नुपर्नेमा जोड दिए। ‘हामीले हाम्रा हिमाल जोगाउनु पर्छ’, उनले भने, ‘साथै पर्वतीय पर्यटनमा समर्पित मजदुरहरूलाई सधैं खुसी राख्नु पर्छ।’ पर्वतारोहण मार्फत् जिरीको मात्र नभई समग्र देशकै गौरब बढाएकाले शेर्पालाई सम्मान गरिएको अध्यक्ष खड्काले बताए।
सम्मानित भएका सगरमाथा आरोही मिग्मार दोण्डु शेर्पा
प्रतिक्रिया दिनुहोस !