बढ्यो सार्वजनिक सवारीको कर
काठमाडौं : सरकारले व्यावसायिक तथा भाडामा प्रयोग हुने विभिन्न प्रकारका सार्वजनिक सवारी साधनहरूको वार्षिक आयकरको दरमा भारी वृद्धि गरेको छ।
यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा गाडी धनीले अनिवार्य बुझाउनुपर्ने वार्षिक करको दर परिमार्जन भएसँगै अब सानादेखि ठूला र विद्युतीय सवारी साधनको सञ्चालन लागत महँगो हुने भएको छ। नयाँ व्यवस्थाअनुसार सवारी साधनको वर्गीकरण र क्षमताका आधारमा वार्षिक करमा १ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ।
परिमार्जित दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको वार्षिक कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ भने ४००० सीसीभन्दा माथिका ठूला सवारीले अब ११ हजार रुपैयाँ तिर्नुपर्नेछ। मध्यम तथा ठूला व्यावसायिक सवारीतर्फ मिनी ट्रक र मिनी बसको कर ९ हजार ५ सय तथा ठूला ट्रक र बसको कर १२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
हेभी मेसिनरी उपकरण, तेल ट्यांकर र ग्यास बुलेटको कर सबैभन्दा बढी १७ हजार ५ सय रुपैयाँ पु¥याइएको छ। विद्युतीय सवारी साधनका लागि क्षमताअनुसार ४ हजारदेखि ९ हजार ५ सय रुपैयाँसम्मको नयाँ कर निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !