कंगोमा इबोलाका कारण २४६ को मृत्यु, स्थिति चिन्ताजनक रहेको एमएसएफको चेतावनी

कंगोमा इबोलाका कारण २४६ को मृत्यु, स्थिति चिन्ताजनक रहेको एमएसएफको चेतावनी
सुन्नुहोस्

काठमाडाै‌ : प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि परिस्थिति 'अत्यन्तै चिन्ताजनक' बनेको चिकित्सा क्षेत्रको परोपकारी संस्था मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले चेतावनी दिएको छ।

संक्रमण महामारी घोषणा भएको दुई हप्ता पुग्दा एमएसएफका उप-निर्देशक डा. एलन गोन्जालेसले इतिहासमै यति छोटो अवधिमा 'यति धेरै संख्यामा' संक्रमित फेला परेको यो पहिलो पटक भएको बताएका छन्।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले भाइरस नियन्त्रणको प्रयासको निरीक्षण गर्न संक्रमणबाट सबैभन्दा बढी प्रभावित पूर्वी कंगोको इटुरी प्रान्तको भ्रमण गरेका छन्।

हाल डीआर कंगोमा इबोलाका शंकास्पद बिरामीको संख्या १,००० नाघेको छ भने कम्तीमा २४६ जनाको मृत्यु भइसकेको छ। छिमेकी देश युगान्डामा पनि ९ जनामा संक्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जनाइएको छ।

एमएसएफका उप-निर्देशक गोन्जालेसले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'महामारी घोषणा भएको दुई हप्तामै इटुरी प्रान्तको अवस्था भयावह बनेको छ। अनपेक्षित रूपमा फैलिएको यो महामारीलाई नियन्त्रण गर्ने हाम्रा प्रयासहरू अझै पनि पर्याप्त हुन सकेका छैनन्।'

उनले थपे, 'अहिलेको यथार्थ के हो भने यो महामारी कति भयानक र गम्भीर रूपमा फैलिएको छ भन्ने कसैलाई थाहा छैन। दैनिक नयाँ शंकास्पद बिरामीहरू थपिइरहेका छन्, तर सयौँ नमुनाहरू अझै परीक्षण हुन बाँकी नै छन्।'

सीमा र विमानस्थलहरू बन्द हुनु जस्ता प्रमुख अवरोधहरूका कारण नियन्त्रणका प्रयास र मानवीय सहायता सामग्री ढुवानीमा ढिलाइ भइरहेको गोन्जालेसले बताए। कंगोमा जारी सशस्त्र द्वन्द्वले पनि इबोला नियन्त्रणको कार्यलाई गम्भीर रूपमा बाधा पुर्‍याइरहेको डब्लुएचओले बारम्बार चेतावनी दिँदै आएको छ।

शनिबार इटुरीको प्रादेशिक राजधानी बुनियाँ पुगेका डब्लुएचओका प्रमुख टेड्रोसले स्थानीय समुदायलाई महामारी विरुद्धको लडाइँमा ठूलो भूमिका खेल्न आग्रह गरे।

स्थानीय संस्कृतिमा मृतकप्रति सम्मान प्रकट गर्ने संस्कारको महत्त्व आफूले बुझेको उल्लेख गर्दै उनले हालको अवस्थामा त्यो खतरनाक हुन सक्ने चेतावनी दिए। टेड्रोसले भने, 'इबोलाबाट ज्यान गुमाएकाहरूको शव छुँदा भाइरस अझ तीव्र रूपमा फैलिन सक्छ। हामीले आफन्त गुमाउँदा शोक मनाउनु स्वाभाविक हो, तर थप क्षति हुन नदिन र शोकको यो चक्र रोक्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ।'

बुनियाँ शहरमा भने सर्वसाधारणको दैनिक जीवन सामान्य रूपमा चलिरहेको देखिन्छ। यद्यपि, विमानस्थलमा ओर्लिने यात्रुहरूका लागि साबुनपानीले हात धुने अनिवार्य व्यवस्था गरिएको छ र स्थानीय भाषाहरूका साथै आधिकारिक भाषा फ्रेन्चमा रेडियो तथा टेलिभिजनमार्फत स्वास्थ्य सचेतनाका सूचनाहरू प्रवाह भइरहेका छन्।

डब्लुएचओ प्रमुखले बुनियाँस्थित राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान संस्थानको प्रयोगशालाको निरीक्षण गरेका छन् जहाँ अहिले २४ घण्टाभित्रै परीक्षणको नतिजा आउने व्यवस्था गरिएको छ। यसले डाक्टरहरूलाई छिटो संक्रमण पहिचान गरी उपचार सुरु गर्न मद्दत पुगेको छ। यसअघि नमुनाहरू परीक्षणका लागि १,५०० किलोमिटर टाढा राजधानी किन्सासा पठाउनुपर्ने बाध्यता थियो, जसका कारण नतिजा आउन ढिलाइ हुँदा भाइरस थप फैलिने जोखिम थियो।

यसैबीच, ब्राजिलको साओ पाउलो राज्यमा पनि भाइरसको आशंकामा एक ३७ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती व्यक्ति हालै डीआर कंगोबाट फर्किएका थिए।

के हो 'बुन्डिबुग्यो' स्ट्रेन?

अहिले फैलिएको इबोला भाइरसको यो प्रजाति एक दुर्लभ स्ट्रेन हो, जसलाई 'बुन्डिबुग्यो' भनिन्छ। हालसम्म यसको कुनै प्रमाणित खोप उपलब्ध छैन र यसले संक्रमितमध्ये झन्डै एक तिहाइ (करिब ३३%) को ज्यान लिने गर्दछ।

भाइरस कसरी फैलिन्छ?

इबोला भाइरस सामान्यतया चमेरो जस्ता जनावरबाट मानिसमा सर्छ। संक्रमित मानिसको रगत, बान्ता, पखाला, र्‍याल, पिसाब र पसिना जस्ता शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। साथै, संक्रमितले प्रयोग गरेका सुई, ओछ्यान वा लुगाफाटो छुँदा पनि यो भाइरस सर्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.