आलो सुत्केरी, कठिन परीक्षा
एउटा भनाइ नै छ, मानिसमा दृढ इच्छाशक्ति हुने हो भने मानिसले जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो लक्ष्य पूरा गरेरै छाड्छ। ललितपुरको लुभुकी बबिता राजथलाको जीवनमा पनि यही भनाइ दुरुस्तै लागु हुन्छ। गत जेठ ३ गते नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले पाँचौं र छैटौं डानको परीक्षा सञ्चालन गरेको थियो। ललितपुरस्थित त्रिभुवन आर्मी क्लबको हलमा सञ्चालन भएको ग्रेडिङमा पाँच महिनाकी सुत्केरी बबिता पनि सहभागी भएकी थिइन्। सानो बच्चा बोकेरै ग्रेडिङमा सहभागी हुन पुगेकी उनले सम्पूर्ण परीक्षा उत्तीर्ण गरिन् र पाँचौं डान प्राप्त गर्न सफल भइन्।
उनको यो एक उपलब्धिमा मात्र सीमित छैन, करिब दुई दशकदेखिको लामो तपस्या, संघर्ष र खेलप्रतिको अटुट समर्पणको प्रतिफल हो। बबिता पनि खेलप्रतिको लगाव र मायाकै कारण ‘सिजरिङ’ गरेको आलो घाउ बोकेरै ग्रेडिङमा सहभागी भएको बताउँछिन्। ‘ग्रेडिङ परीक्षा निकै गाह्रो हुन्छ। परीक्षाका विभिन्न चरणहरू छन्। ग्रान्डमास्टर डा. राजेन्द्र बलानले लिनु भएको सम्पूर्ण चरणहरू सफलतापूर्वक पूरा गरें’, बबिता भन्छिन्, ‘सुत्केरी अवस्थामै पनि पाँचौं डानजस्तो कठिन परीक्षा उत्तीर्ण गर्दा खुसी लागेको छ।’ पाँचौं र छैटौं डानको ग्रेडिङ केही समय अघि नै सञ्चालन हुने भनिएको थियो।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पूर्वअध्यक्ष प्राडा चाङ उनको निधन भएपछि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले केही समय पछि सारेको थियो। बबिताले भने ग्रेडिङका लागि पहिलेदेखि नै तयारी गर्दै आएकी थिइन्। ‘ग्रेडिङको सूचना धेरै पहिले आएको थियो। कोरियाको गुरु बित्नु भएका कारण केही समय पछि सरेको थियो। मैले भने पहिलेदेखि नै तयारी गरेको थिएँ। पहिलेदेखि नै धेरै दुःख गरेकाले ग्रेडिङमा अलि सहज नै भयो’, उनी भन्छिन्, ‘मैले धेरै मेहनत गरेको थिएँ। त्यही मेहनत अनुरुप नै ग्रेडिङमा पनि पास भएँ।’शारीरिक चुनौती र पारिवारिक जिम्मेवारीका बाबजुद उनले आफूलाई अब्बल सावित गरिन्। सानो बच्चालाई काखी च्यापेरै कोटमा उत्रिएको दृश्य साँच्चै प्रेरणादायी थियो। ‘आमा बनेपछि महिलाको खेल जीवन सकिन्छ’ भन्ने पुरातन सोचलाई चुनौती दिँदै उनले सशक्त उदाहरण प्रस्तुत गरेकी थिइन्।
अन्तर्राष्ट्रिय पहिचान
बाल्यकालदेखि नै खेलकुदमा गहिरो अभिरुचि राख्ने बबिता राजथला नेपाली तेक्वान्दो क्षेत्रकी एक परिचित र स्थापित नाम हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउँदै धेरै पटक सफलता प्राप्त गरिसकेकी छन्। उनी पहिलो र दोस्रो दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपकी पदक विजेता हुन्। सन् २०१४ मा नेपालमै आयोजना भएको पहिलो दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्णसहित तीन पदक जितेकी थिइन्। उनले ग्रुपमा पहिलो, स्पाइरिङमा दोस्रो र प्याट्रनमा तेस्रो स्थान हात पारेकी थिइन्। दोस्रो दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा भने उनले स्पाइरिङमा रजत पदक जितेकी थिइन्। यस्तै पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी उनले महासंघले आयोजना गरेको १३औं राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण पदक जितिन्। उनले त्यसबेला विभागीय टोली एपीएफ क्लबबाट प्रतिस्पर्धा गरेकी थिइन्।
अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका
उनको प्रतिभा केवल म्याटमा खेल्ने खेलाडीका रूपमा मात्र सीमित छैन, बबिताले धेरै पटक अन्तर्राष्ट्रिय रेफ्रीको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरिसकेकी छन्। सक्रिय खेलाडीका रुपमा थुप्रै प्रतियोगिता खेल्दै पदक जितेकी उनले खेल क्षेत्रमा रेफ्री र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गर्दै आएकी छन्। उनको यो बहुआयामिक व्यक्तित्व नयाँ पुस्ताका खेलाडीहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। बबिताले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदलगायतका प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन्। उनले सन् २०१८ मा नेपालमा आयोजना भएको १०औं सिनियर एसियन गेम्सका अवसरमा आयोजना गरिएको रेफ्री सेमिनार कोर्स उत्तीर्ण गरेकी थिइन्।
नयाँ खेलाडी उत्पादन
बबिता पछिल्लो समय ललितपुरको लुभुमा नयाँ पुस्ताका खेलाडी उत्पादनमा सक्रिय छिन्। यस क्षेत्रमा तेक्वान्दो खेलको विकास र विस्तारमा उनले ठूलो योगदान पुर्याएकी छन्। स्थानीय स्तरमा धेरैभन्दा धेरै खेल प्रतिभाहरू पहिचान गर्ने र उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने एक कुशल र सफल प्रशिक्षकको भूमिका उनले निर्वाह गर्दै आएकी छन्। उनको प्रशिक्षणमा तयार भएका खेलाडीहरूले विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले बालकुञ्ज विद्यालयमा प्रशिक्षण गराउँदै आएकी छन्। ६/७ सयभन्दा बढी खेलाडी उत्पादन गरिसकेकी उनले दुई सयभन्दा बढी ब्ल्याकबेल्ट खेलाडी तयार भइसकेका छन्।
सफलताको आधार : पारिवारिक सहयोग
कुनै पनि सफल व्यक्तिको पछाडि परिवारको ठूलो हात हुन्छ भन्ने कुरालाई बबिताको जीवनले पनि पुष्टि गर्दछ। उनको यस चुनौतीपूर्ण तर सफल यात्रामा श्रीमान् रामकुमार श्रेष्ठले पनि अतुलनीय सहयोग गर्दै आएका छन्। लुभुकी बबिता विवाह गरेर रामेछापको खाँडादेवी–१ राकाथुम पुगिन्। फरक ठाउँ, फरक परिवेश र फरक मानिसहरूकाबीचमा पुग्दा पनि उनी खेलकुदबाट भने टाढा हुनु परेन। खेल क्षेत्रमै रुचि राख्ने श्रीमान् रामकुमारले बबिताको हरेक पाइलामा बलियो साथ दिँए।
विशेषगरी सुत्केरी अवस्थामा खेल र प्रशिक्षणलाई निरन्तरता दिन उनले घरभित्र र बाहिर पु¥याएको सहयोगले नै बबितालाई आज पाँचौं डानको सफलतासम्म पुर्याउन सहज भएको हो। खेल, मातृत्व र पारिवारिक जिम्मेवारीलाई सँगसँगै अगाडि बढाउन सकिन्छ भन्ने उनको यो उदाहरण आगामी पुस्ताका महिला खेलाडीका लागि मार्गदर्शक बन्न सक्नेछ। बबिता आफूले सकुञ्जेलसम्म तेक्वान्दोमै सक्रिय हुने र प्रशिक्षणलाई निरन्तरता दिने बताउँछन्। ‘खेल जित हार मात्रै होइन। यो अनुशासन पनि हो। मैले कुलतमा लागेका थुप्रैलाई खेलकुदमा लगाएको छु। उनीहरूलाई कुलतबाट छुटाएको छु’, उनी भन्छिन्, ‘कुलतबाट छुटाएका खेलाडीको अभिभावक खुसी हुँदा मलाई पनि गर्व महसुस हुन्छ।’
प्रतिक्रिया दिनुहोस !