दुई कित्ता : परिवर्तन कि भ्रम ?

अग्रमत

दुई कित्ता : परिवर्तन कि भ्रम ?

आज शेरबहादुर देउवाको स्थानमा गगन थापा। हाल कांग्रेस दुई कित्तामा उभिएको छ।

रिचर्ड काड्रेको मर्मस्पर्सी भनाइ छ— ‘यदि तिमी जल्दै गरेको घरमा पैदा भएका हौ भने, तिमीलाई लाग्दछ कि पूरा दुनिया“मा आगो लागिसकेको छ। तर त्यस्तो होइन।’ सन् १९५७ मा अमेरिकामा जन्मिएका काड्रे विख्यात उपन्यासकार, लेखक र फोटोग्रााफर हुन्। नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको नया“ नेतृत्वप्रति काड्रेको यो कथन बिम्बात्मक रूपमा तुलना गर्न सकिन्छ।

भदौ २३ र २४ गतेको जेन—जी विद्रोहमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन—विश्वलगायत अधिकांश नेताको निवासमा आगो लगाएर ध्वस्त पारियो। उसो त एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाललगायत धेरै नेताका निजी निवास खरानी बनाइए। यद्यपि यो लेख मूलतः कांग्रेस र यसका नवनिर्वाचित सभापति थापा तथा उपसभापति शर्माप्रति लक्षित छ। त्यो हत्या, विद्रोह, ध्वंस र आगोको लप्कापश्चात् अन्ततः विशेष महाधिवेशनमार्फत कांग्रेसले नया“ र ऊर्जाशील भनिएको नेतृत्व प्राप्त गर्‍यो ।

मानिसहरू जान्दछन्, गगन कांग्रेसभित्र भन्दा गैरकांग्रेसीजनमा अधिक लोकप्रिय छन्। कारण, उनीमा जनमानसको अपेक्षा बुझेर तालिका खातिर एवं सार्वजनिक खपतका निम्ति आकर्षक भाषण गर्ने कला छ। मिडिया, सामाजिक मिडिया प्रयोगमा उनी चतुर छन्। अन्यथा कार्य कुशलता र क्षमताका दृष्टिले महामन्त्रीद्वयको कार्यकाल खास प्रभावकारी भने देखिएन। अतः गगन कांग्रेस सभापति बन्दा गैरकांग्रेसीजन रोमाञ्चित भएका थिए, छन्। कांग्रेसीजन कति खुसी भए, त्यो भने निर्वाचन परिणामले देखाइदियो। किनकि खराब परिस्थितिबीच गगन—विश्वमाथि कांग्रेसको जनमत कम्तीमा यथावत् राख्ने चुनौती थियो। 

नेपाली कांग्रेस लोकतन्त्रको निम्ति निरन्तर लडेको पार्टी हो। स्मरणीय छ, राजाको जेठो छोरो नै राजा हुने २४० वर्षे पारिवारिक विरासत बोकेको शाही राजतन्त्रको अन्त्य कांग्रेसकै नेतृत्वमा भएको हो। माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व र २०६२÷०६३ सालको १९ दिने जनआन्दोलनको जगमा तत्कालीन संसदादी सात दल र विद्रोही माओवादीबीचको सम्झौताबाट मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । त्यो ऐतिहासिक उपलब्धिका निम्ति कांग्रेसको स्थापित लोकतान्त्रिक छवि तथा सभापति गिरिजाप्रसाद कोइरालाको निर्णय क्षमता एवं ‘टावरिङ पर्सनालिटी’ले मुख्य र निर्णायक भूमिका खेल्यो।

यही आलोकमा प्रश्न उठ्ला, पहिलो— राजतन्त्रको विरुद्ध वा गणतन्त्र स्थापना निम्ति गगन थापा स्वयं कांग्रेसभन्दा अघि संघर्षमा उत्रिएका व्यक्ति हुन्। अर्काे प्रश्न, उनीहरू कांग्रेसमा कोइराला परिवार वा गणेशमान सिंह आदि नेताका पारिवारिक विरासतका व्यक्ति पनि होइनन्। अनि गगन—विश्वलाई कसरी कांग्रेस विरासतका युवराज घोषणा गर्न मिल्छ ? प्रश्न जाग्नु स्वाभाविक छ।

कांग्रेस कस्तो र कसको पार्टी ? :

नेपाली कांग्रेसका प्रमुख संस्थापक नेता हुन्, विश्वेश्वरप्रसाद (बीपी) कोइराला। टंकप्रसाद आचार्य, बीपी हु“दै हाल गगन थापासम्म गरी जम्मा नौ जना कांग्रेसका सभापति बने। जसमा सुवर्णशमशेर राणा (राणा), शेरबहादुर देउवा (ठकुरी) र गगन थापा (क्षत्री) गरी तीन जना गैरब्राह्मणबाहेक अन्य ६ जना पहाडे बाहुन हिन्दु पुरुष नै कांग्रेस सभापति बने। अर्थात् हालसम्म आर्य—खसबाहेक अन्य जातीय, धार्मिक समुदाय र महिला कांग्रेस सभापति पदमा अयोग्य ठहरिँदै आएको छ। र निकट भविष्यमा कोही बन्ने सम्भावना पनि देखिँदैन।

दलित, आदिवासी जनजाति, मुस्लिम, महिला आदि समुदाय कांग्रेसको सर्वाेच्च पद सभापतिमा कांग्रेसको अस्तित्व रहुञ्जेल पुग्ने सम्भावना शून्य प्रायः छ। यति दाबी गर्नु अतिरञ्जना हु“दैन। अतः आर्य—खस प्रतिनिधिका हैसियतले गगन—विश्व स्वाभाविक रूपमै नेतृत्व दाबी गर्ने विरासतका ‘युवराज’ थिए र हुन्। (अन्य अर्थ नलागेमा गगन—विश्वलाई यहा“ प्रतीकको रूपमा लिइएको छ।) उनीहरू पश्चात् पनि सोही समुदायकै अरु कोही हुनेमा प्रायः निश्चिन्त छ।

कांग्रेस लोकतान्त्रिक समाजवादी सिद्धान्तलाई अवलम्बन गर्दै आएको दल हो। उसको अवस्था ‘सेन्टर टु लेफ्ट’ अर्थात् वामपन्थ हो। कांग्रेसका प्रमुख नेता बीपी कोइराला माक्र्सवादबाट निकै प्रभावित थिए। भन्नेले त कांग्रेस भन्नु नै बीपीको समाजवाद हो भन्ने गर्छन्। यद्यपि लोकतान्त्रिक समाजवादका प्रणेता बीपी किमार्थ होइनन्। यो सिद्धान्तप्रति गगन नेतृत्व सकारात्मक छैन भन्ने गरिन्छ, त्यो भविष्यमा प्रस्ट होलान् नै। कांग्रेसको मूल आदर्श र विधि ‘फ्रिडम फर डिस्कसन, युनाइट फर एक्सन(बहसमा स्वतन्त्रता र निर्णयमा एकता ) हो।’

आश्चर्य यो छ कि, यो मान्यता माक्र्सवादीहरूको भएता पनि कांग्रेसले अनुसरण गरेको छ। कांग्रेस प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख अर्थात् सभापतीय प्रणालीबाट शासित छ। तर मुलुकको शासकीय पद्धति भने त्यस संसदीय व्यवस्थामा जीवन पर्यन्त अविचलित हु“दै आएको छ। यो अर्काे विवादास्पद काम हो। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसका जेलमा रहेका नेता टंकप्रसाद आचार्यको सभापतित्वमा बीपी कोइराला कार्यवाहकसभापति र अन्यसहित देवव्रत परियार सदस्य बने।

यसरी कांग्रेस संस्थापक सदस्य दलित समुदायका व्यक्ति समावेश थिए। पछि २००९ सालमा वीरगन्जमा सम्पन्न पाँचौं महाधिवेशनबाट धनमान सिंह परियार महामन्त्री नियुक्त भए। परशुनारायण चौधरी (पछि दरबारिया बन्दै राजपरिषद् स्थायी समितिका सभापतिसमेत बनेका), महेन्द्रनारायण निधि आदि व्यक्तिहरू पनि कांग्रेस महामन्त्री बने। यद्यपि, कांग्रेसमा सभापति नै मुख्य कार्यकारी पद हुने हु“दा सभापतिबाहेक अन्य पदाधिकारी करिब नाम मात्रका हुने अभ्यास र परम्परा छ।

काठमाडौं महानगरपालिकाका मेयर हुँदै वालेन्द्र शाह हाल मुलुकको प्रधानमन्त्री छन्। काठमाडौं महानगर प्रमुखमा वालेन्द्रको अप्रत्याशित जितमा गगन थापाको प्रत्यक्ष÷परोक्ष सहयोग रहेको राजनीतिक वृत्तमा आशंका गरिन्छ। यसलाई पुष्टि गर्ने केही आधार छन्। २०७८ मंसिरमा कांग्रेसको चौधौं महाधिवेशन सम्पन्न भएको थियो। कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिका उम्मेदवार शेखर कोइरालालाई सहयोग गर्ने अपेक्षा शेरबहादुर देउवालाई विजयी बनाउन सहयोग गरे। परिणामतः देउवाले जिते। शेखर समूहबाट महामन्त्री निर्वाचित भएका गगनको काठमाडौंमा राम्रो प्रभाव थियो।

प्रकाशमानकी श्रीमतीसमेत रहेकी मेयरमा कांग्रेसकी तत्कालीन उम्मेदवार सिर्जना सिंहलाई गगन समूहले सहयोग नगरेका कारण वालेन्द्र शाहले मेयरमा बाजी मारे। जसका कारण उनको यो राजनीतिक उचाइ प्राप्त भएको एकाथरीको बुझाइ छ। २०७९ पुस ६ गते प्रनिनिधिसभा कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले अर्का प्रत्यासी गगन थापालाई पराजित गरे। केही समय चुप लागेका पराजित थापा पुनः संसदीय दलको नेता बन्ने घोषणा गर्दै हि“डे। त्यतिमात्रै होइन, त्यसको केही समयपश्चात् फेरि शेखर कोइरालालाई दल नेता बन्न सार्वजनिक आग्रह गर्न थाले। यस्ता क्रियाकलापले उनको नेतृत्व क्षमता र परिपक्वतामाथि प्रश्न खडा गर्‍यो ।

त्यस्तै, कोशी प्रदेश संसदीय दलमा गगन—शेखर समूहले गरेको विद्रोह र पार्टीको निर्णय एमालेको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाइएको घटना संसदीय व्यवस्थाको मर्यादा, अभ्यास र परम्परा प्रतिकूल थियो। सभापति देउवाको सदासयता नभइदिएको भए, त्यो कदम उतिबेलै पार्टी फुटको कारण बन्न सक्थ्यो। २०८२ जेठ ४ गते एक अनलाइनस“ग कुरा गर्दै तत्कालीन महामन्त्री गगन थापाले निकै विवादित र असंवैधानिक अभिव्यक्ति दिए।

गगनको मत थियो— ‘राज्यको धर्म हुन्छ, त्यसैले नेपाल धर्मनिरपेक्ष हुन मिल्दैन’ (रातोपाटी)। उनले धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता हुनुपर्ने आफ्नो अप्रत्याशित मत व्यक्त गरे। हुन त उनले चातुर्यपूर्वक राज्यको कर्तव्य र दायित्वलाई राज्यधर्मको रूपमा व्याख्या गरे। तथापि उनको मुख्य अभिव्यक्ति स्पष्ट थियो। गगन—विश्वले भन्दै आएका छन्, सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच बनेको हठात् सत्ता गठबन्धनको पूर्व जानकारी हामीलाई थिएन। हामीस“ग सल्लाह गरिएन, हामीले पनि मिडियामार्फत नै थाहा पायौं। महामन्त्रीद्वय सरकारमा सहभागी भएनन्। यो सूचनालाई पुष्टि हुने गरी सरकारले लगानीसम्बन्धी गरेको केही ऐन संशोधनमा गगनले सार्वजनिक अपनत्व पनि स्वीकार गरे। अब प्रश्न उठ्छ, अब भविष्यमा कांग्रेसले लिने विविध निर्णयहरूमा गगन—विश्वले निर्णय गर्दा उनका महामन्त्रीहरूले पनि मिडियामार्फत नै थाहा पाउनुपर्ने विडम्बनाको अन्त्य होला ?  

कांग्रेस अहिले पनि जातीय विरासतमै संस्थागत भएको छ। सभापतिदेखि महामन्त्रीद्वयसम्म कही“ पनि जातीय, क्षेत्रीय समावेशीता लागू गरिएन। हिजो कोइरालाहरूको ठाउ“मा देउवा आए। आज देउवाको स्थानमा थापा। उमेरको बाहेक जात, समुदाय, क्षेत्र मुद्दा, भिजनमा कुनै फरक छैन। गगन थापाले कांग्रेस हारको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा गरे। उनको केन्द्रीय कार्य समितिले गगनको राजीनामा अस्वीकार गर्‍यो । उनी पुनः निर्लज्ज पदमै रहे। अरूमाथि सवाल उठाउन माहिर थापालाई नैतिकता सिकाउने हैसियत यो मुलुकमा सायदै कोही कसैस“ग होला ? 

हाल कांग्रेस दुई कित्तामा उभिएको छ। बालेनले सरकार सम्हालेलगत्तै एमाले अध्यक्ष ओली तथा उनी नेतृत्वको सरकारका गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ परे। उक्त घटनाको प्रतिरक्षा निम्ति एमाले संघर्षमा उत्रियो। एमालेले लेखकको समेत रिहाइको माग गर्‍यो । कांग्रेसमा भने देउवा पक्षले विरोध गरे पनि गगन पक्ष मौन रह्यो। रास्वपाको झन्डै दुइतिहाइको बलियो सरकार भएको अवस्थामा संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका रचनात्मक र महत्वपूर्ण हुने गर्दछ। तथापि, कांग्रेस यो ऐतिहासिक भूमिका निर्वाह गर्न अझै तयार र योग्य देखिँदैन। 

त्यसैले आम जनसाधारण, उत्पीडित समुदाय गगन—विश्वको नेतृत्वप्रति हर्षविभोर हुनुको वस्तुगत आधार छैन। यसो भनिरह“दा पंक्तिकारमाथि निराशा फैलाएको आरोप लाग्न सक्छ। तर जिम्मेवार नेतृत्वमा रहेकाले सार्वजनिक प्रश्नहरूको जवाफ दिन सधैं तयार रहनु पर्दछ। अन्त्यमा फ्रान्सेली दार्शनिक तथा ज्यामिति गणितका आविष्कारक रेने देकार्तको प्रासंगिक भनाइ राख्दै लेख टुंग्याउछु। उनी भन्छन्— ‘सत्यको खोजका लागि जीवनमा कमसे कम एक पटक हरेक चिजमाथि सन्देह गर्नु आवश्यक छ।’ प्रश्नभन्दा माथि कोही छैन, हुनु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.