ऐतिहासिक शान्ति सम्झौतानजिक अमेरिका र इरान
वासिङ्टन (एजेन्सीहरू): विगत चार महिनादेखि भीषण युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक शान्ति सम्झौताको अन्तिम बिन्दुमा पुगेका छन्।दुवै देशबीच युद्ध अन्त्य गर्ने सम्झौताको मस्यौदा तयार भई आगामी २४ घण्टाभित्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने मध्यस्थकर्ता राष्ट्रहरूले दाबी गरेका छन् ।
ऐतिहासिक वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले दुवै पक्ष इतिहासमै पहिलोपटक शान्ति सम्झौताको सबैभन्दा नजिक पुगेको पुष्टि गरेका छन्।उनले दुवै देशबीच सहमति जुटेको र अब डिजिटल माध्यमबाट सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकासँगको लडाइँ अन्त्य गर्ने यो प्रयास निकै सकारात्मक मोडमा पुगेको र आउँदा केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने बताएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत वार्ताकारहरूले ठूलो सहमति कायम गरेको उल्लेख गर्दै इरानविरुद्ध तय गरिएका सैन्य आक्रमणहरू तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्।
प्रस्तावित सम्झौताअनुसार इरानले अन्तर्राष्ट्रिय व्यापारका लागि निकै महत्वपूर्ण मानिने र विगत केही समयदेखि ठप्प पारेको ‘हर्मुज जलडमरू मध्य’को जलमार्गलाई तत्काल खुला गर्नेछ।त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाह र ढुवानी जहाजहरूमाथि लगाउँदै आएको नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउनेछ।यो प्रारम्भिक सहमति लागू भएसँगै दुवै देशबीच ६० दिनको अस्थायी युद्धविराम र विशेष वार्ता अवधि सुरु हुनेछ, जसअन्तर्गत इरानको आणविक कार्यक्रम र युरेनियम नष्ट गर्ने ठोस प्रक्रियाबारे विस्तृत छलफल गरिनेछ।
सम्झौताको मस्यौदाअनुसार इरानले भविष्यमा कहिल्यै आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउनुपर्नेछ भने मध्यपूर्वमा हिजबुल्लाह लगायतका आफ्ना प्रोक्सी समूहहरूलाई
दिँदै आएको आर्थिक र सैन्य सहयोग बन्द गर्नुपर्नेछ।अमेरिकी अधिकारीहरूले यो सम्झौता आश्वासनमा नभई इरानको ‘कामको नतिजा’मा आधारित हुने स्पष्ट पारेका छन्।इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेको प्रमाणित भएपछि मात्रै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले रोक्का राखेको अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गरिनेछ।
लामो समयको सैन्य टकराव, तत्कालीन सर्वोच्च नेताको हत्या र चौतर्फी आर्थिक दबाबपछि इरान यो सम्झौताका लागि तयार भएको विश्लेषकहरूको भनाइ छ।यद्यपि, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षापरिषदभत्र सम्झौताका सर्तहरूलाई लिएर केही आन्तरिक मतभेदहरू अझै कायम छन्।इजरायल यो वार्ता प्रक्रियामा प्रत्यक्ष सामेल नभए पनि अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच यस विषयमा पूर्ण सहमति भइसकेको बताइएको छ।विश्व बजारमा इन्धन र ऊर्जाको मूल्य स्थिर राख्न तथा मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न यो सम्झौता कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !