पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु

पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु

काठमाडौं : नेपालमा मनसुन भित्रिएको ५ दिन बितिसक्दा पनि विस्तार हुन सकेको छैन। सामान्यतया कोशी प्रदेशबाट सुरु हुने मनसुन एक साताभित्रै देशको पश्चिमी भूभागसम्म फैलिने गर्छ। तर, यस वर्ष सुरुदेखि नै मनसुनी प्रणाली कमजोर रहेका कारण वायुको गति सुस्त बनेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताए। ‘सुरुदेखि नै मनसुन कमजोर देखिएको छ, तर यसलाई अहिले नै मनसुन ब्रेक भन्न भने मिल्दैन,’ दाहालले स्पष्ट पारे।

दाहालका अनुसार यतिबेला कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वीक्षेत्रमा मात्र मनसुनी वायुले पानी पारिरहेको छ। 

मंगलबार कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा भारी वर्षा समेत मापन गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अझै मनसुनी वायु पुग्न सकेको छैन। हाल त्यहाँ स्थानीय र पश्चिमी वायुको मिश्रित प्रभावले सामान्य वर्षा गराए पनि वास्तविक मनसुनी झरीका लागि भने अझै केही समय पर्खिनुपर्ने देखिन्छ। 

जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन समय लाग्ने जानकारी सोमबार नै गराएको थियो। मनसुन ढिलाइ हुँदा हाल सम्पूर्ण तराई क्षेत्र तातो हावाको चपेटामा परेको छ, जसको सबैभन्दा बढी मार पश्चिम नेपालले खेपिरहेको छ। लुम्बिनीदेखि सुदूरपश्चिमसम्म तातो हावाको लहर ‘लु’ चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् दाहालले आग्रह गरेका छन्।

के मनसुन ब्रेक भएको हो ?     
नेपालमा पूर्वबाट चल्ने हावाले वायुमण्डलको तल्लो तहमा अत्यधिक प्रभाव जमाउने गर्छ र यो क्रम मनसुन अवधिभर जारी रहन्छ। यही पूर्वी हावाका माध्यमबाट बंगालको खाडीबाट जलवाष्पयुक्त कणहरू नेपाल भित्रिन्छन्। यद्यपि, मनसुनको चार महिने अवधिमा सधैं एकैनासले पानी पर्दैन। कुनै बेला मनसुनी वायु सक्रिय हुँदा लगातार झरी पर्छ भने निष्क्रिय हुँदा मौसम सुक्खा रहन्छ। मनसुनकै अवधिमा लामो समय राम्रोसँग पानी नपर्नुलाई ‘मनसुन ब्रेक’ भनिन्छ, जुन एक नियमित प्राकृतिक प्रक्रिया हो।

मौसमविद् दाहालका अनुसार कहिलेकाहीँ मनसुन ब्रेक भएका कारण पनि मनसुनी वायु फैलिन समय लाग्छ, तर यसपटक भने मनसुन ब्रेक नभइकन नै वायुको आन्तरिक प्रणाली कमजोर हुँदा विस्तार हुन नसकेको हो। त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि हाल देशको पूर्वी भेगमा वर्षाको मात्रा कम भएको जनाएका छन्। आगामी शुक्रबारसम्म पूर्वमा पानी पर्ने क्रम थोरै घट्ने तर केही स्थानमा भने हल्का वर्षा जारी रहने उनको प्रक्षेपण छ।

सन् २०२५ र २०२६ को मौसमी अन्तरः 
एल निनोको प्रभाव
गत वर्ष र यस वर्षको मनसुनी प्रणालीलाई तुलना गर्दा निकै भिन्नता देखिएको अन्तर्राष्ट्रिय मौसम मोडेलहरूले औंल्याएका छन्। विश्व मौसम संगठन, युके मेट अफिस र दक्षिण एसियाली क्षेत्रीय जलवायु दृष्टिकोण मञ्चलगायतका संस्थाहरूका अनुसार यस वर्ष जुनदेखि सेप्टेम्बरसम्म प्रशान्त महासागरमा सिर्जना हुने ‘एल निनो’ प्रणालीको दबाब रहने प्रस्ट भएको छ। यसकै कारण नेपालमा मनसुन समयमै भित्रिए पनि पूर्णरूपमा सक्रिय हुन समय लागिरहेको हो, जुन हालको वास्तविक मौसमी अवस्थासँग हुबहु मिलेको देखिन्छ।

अन्तर्राष्ट्रिय मौसमी प्रक्षेपण अनुसार यस वर्ष दक्षिण एसियामै मनसुनको अवधि छोटो हुने सम्भावना छ। मनसुन बाहिरिने समय (सेप्टेम्बरको मध्य) सरदर मितिभन्दा केही चाँडो वा त्यसकै वरपर हुन सक्छ।

गत वर्ष र यस वर्षको तुलनात्मक विवरण
वर्षाको मात्राः सन् २०२५ मा मनसुनी प्रणाली सामान्य र केही बलियो रहेकाले राम्रो वर्षा भएको थियो। तर, यस वर्ष (सन् २०२६) प्रणाली कमजोर भएकाले सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ।

एल निनोको अवस्थाः गत वर्ष एल निनो तटस्थ अवस्थामा थियो, तर यस वर्ष यो पूर्ण रूपमा सक्रिय रहनेछ, जसले वर्षालाई अवरोध पुर्‍याउँछ। मनसुन भित्रिने र बाहिरिने समयः गत वर्ष सरदर मितिभन्दा ८ दिन अगावै मनसुन भित्रिएको थियो भने यस वर्ष सरदर मितिभन्दा ६ दिन ढिलो मात्र भित्रियो। त्यस्तै, गत वर्ष सरदर मितिभन्दा ३ दिन पहिले मनसुन बाहिरिएकोमा यस वर्ष त्योभन्दा पनि अगाडि नै बाहिरिने संकेतहरू देखिएका छन्।

भौगोलिक प्रभावः गत वर्ष देशभर बलियो मनसुनी प्रणाली रहे पनि यस वर्ष नेपालको दक्षिणी भेग तराईमा कमजोर र उत्तरी भेग हिमाली तथा पहाडी क्षेत्रमा केही बलियो हुने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.