गुम्बाका अमूल्य सम्पदा चोर्नेविरुद्ध गाउँलेद्वारा किटानी उजुरी
गोरखा : गाउँका प्रचीन गुम्बाका बहुमूल्य सामग्री चोरिएको भन्दै उत्तरी गोरखाका स्थानीयबासीले अनुसन्धान गर्न किटानी उजुरी दिएका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङका प्राचीन नाम्ला गुम्बा, सतुल छ्योलिङ गुम्बा र पाङ्दाङ गुम्बाका बहुमूल्य सामान चोरी भएको भन्दै स्थानीयबासीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर लेखिएको माग पत्रमामा शंकास्पद दुई जना व्यक्तिहरुको नाम किटान गरिएको छ । उनीहरुले गुम्बाको संरक्षण गर्ने नाउँमा तालाचाबी लिएका तर केही समयपछि बहुमूल्य सामान हराएको थाहा भएको दावी गरिएको छ ।
‘गुम्बाको संरक्षण र मर्मत गर्ने बहानामा त्यहाँभित्र रहेका माटोबाट बनेका हजारौं बर्ष प्राचीन वुद्धका मूर्तिहरु, गुम्बाको सन्दुकभित्र रहेका बहुमूल्य माला तथा अरु मूर्तिहरु, सुनका गरगहनाहरु चिज बस्तुहरु चोरी तस्करी गरी, गराई तिब्बततिर पुर्याएको कुरा हाल हामी स्थानीयबासीले जानकारी पाएका छौँ’, सो निवेदन दिनेहरुले भने, ‘ती सामान तस्कर गर्ने तस्करहरुबाट हाम्रो जिउ, ज्यानमा खतरा पुग्ने भएकाले हामीले हाम्रो नाम नखुलाई यो निवेदन गरेका छौँ।’
सो उजुरीमा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई तस्करीमा संलग्नहरुको नाम, ठेगाना किटानीका साथ खुलाएर दिएको जानकारी दिए । उनीहरुले बहुमूल्य सामान चोरी तस्करी गरी बहुमूल्य सामान तिब्बत पुर्याएको भन्दै उनीहरुले झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता समेत लिइसकेको दाबी गरेका छन् ।
‘उनीहरुले गरेको कर्तुतका बारेमा समाजले प्रश्न गर्दा ज्यान मार्ने धम्की समेत आएको छ’ उजुरीकर्ताहरुले भनेका छन्, ‘अपराध गर्नेहरुलाई तत्काल पक्राउ गरी घटनाको अनुसन्धान र सत्यतथ्य छानबिन गर्न हामीले जोडदार माग गरेका छौँ ।’ उनीहरुले घटनाका अनुसन्धान गर्न सहयोग पुग्ने कागजात पनि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !