मनसुनको लहर, देशैभरि असर
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भनेको छ, ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ।’ मंगलबार पूरै देशमा फैलिएको मनसुनले भारी वर्षा गराउने भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ।
करिब दुईसाता पहिलेदेखि नै पूर्वीनेपालमा मनसुन सुरु भएको थियो। तर, पश्चिममा वर्षा हुन सकेको थिएन। केही दिनदेखि पश्चिमसम्मै वर्षा सुरु भए पनि मंगलबार मात्रै देशैभर मनसुन विस्तार भएको विभागले जनाएको छ। विभागका अनुसार यस वर्ष मनसुन पूर्णरूपमा विस्तार हुन १२ दिन लागेको छ।
सरदर मितिभन्दा ६ दिन ढिला गरी असार ५ गतेदेखि पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो। मौसमविद्हरूले सामान्यतः मनसुन भित्रिएको सातादिनसम्ममा नेपालका सम्पूर्ण भू–भागमा विस्तार हुने बताउने गर्थे। तर, पछिल्ला वर्षहरूमा ७ दिनभन्दा पछि मात्रै मनसुन विस्तार हुने गरेको देखिएको छ। यस वर्षको मनसुन भित्रिएको मंगलबार १२ दिन भइसकेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मंगलबार देशभरका सम्पूर्ण भू–भागमा मनसुन फैलिएको बताए। उनका अनुसार महाशाखाले मनसुन विस्तार भएको या नभएका बारेमा केही दिनदेखि अवलोकन गरिरहेको थियो।
मनसुन विस्तार हुन यसपटक किन समय लाग्यो ? भन्ने प्रश्नको जवाफमा दाहालले भने, ‘मनसुन छिर्दाखेरि नै कमजोर थियो। पश्चिमी वायुले झन् दबाब दियो। त्यसैले खुलेर सक्रिय हुन सकेन। मनसुन कमजोर हुँदा पश्चिमसम्म पुग्नलाई समय लम्बिएको हो। मनसुनी वायु बलियो हुँदा मात्रै लगातार विस्तार हुन सक्छ।’ तर, मौसमविद्हरूले यस्तो प्रक्रियालाई स्वाभाविक नै मानेको पनि उनले बताए।
मौसम विस्तार हुने प्रक्रिया अवरोध हुनुको कारण मौसमी प्रणाली ‘एल निनो’को प्रभाव पनि मान्न सकिने सम्भावना छ। तर, मौसमलाई विभिन्न कुराले प्रभाव पार्ने भएकाले ‘एल निनो’को मात्रै प्रभाव भने भन्न नसकिने उनले बताए। उनका अनुसार यतिबेला मनसुनी वायुको प्रभाव धेरै भएकाले हिमाली क्षेत्रमा कम वर्षा भए पनि अन्य भू–भागमा वर्षा भइरहेको छ। मनसुनी वायुको साथसाथै पूर्वीवायुको पनि प्रभाव रहेको छ।
पश्चिममा यसकारण भारी वर्षा
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले मनसुनी न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिममा धेरै पानी परिरहेको बताए। उनका अनुसार यतिबेला मनसुनी वायु नै सक्रिय रहेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विज्ञान विभागका अर्का सहप्राध्यापक मदन सिग्देलले यस वर्षको मनसुनी प्रणाली सुरुदेखि नै कमजोर रहेकाले पूर्ण विस्तारमा ढिला भएको बताए।
गत वर्ष पनि कोशी प्रदेशमा मनसुन भित्रिए पनि ८–१० दिन अड्किएर बसेको उनले उदाहरण दिए। ‘एक त ढिला सुरु भयो, त्यसमाथि पनि कमजोर थियो,’ सिग्देलले भने, ‘त्यसैले यसको विस्तार हुन समय लाग्यो। त्यसलाई अझ पश्चिमी वायुको दबाबले झन् कमजोर बनायो। मनसुन विस्तार हुनलाई उपयुक्त वातावरण बनेन। मनसुन विस्तार हुनलाई जति आद्र्रता चाहिने थियो, त्यो पनि बनेन।’
मंगलबार भने भारतको उत्तराखण्डसम्मै मनसुन विस्तार भएको छ। यसको मतलब पश्चिमतिर मनसुन बढी सक्रिय रहन्छ। कुनै–कुनै स्थानमा भारी वर्षा पनि छ। कुनै ठाउँमा सोहोरिएर भारी वर्षा हुन्छ। अब जुलाईबाट झनै ‘एल निनो’को प्रभाव सुरु हुन्छ। पहिलो साता राम्रो वर्षा भए पनि त्यसपछि वर्षा कम हुँदै जाने आकलन छ। त्यसैले फेरि तातो हावा ‘लु’ को सामना गर्नुपर्ने पनि हुन्छ। तर, पानी कम पर्ने भए पनि कुनै ठाउँमा सोहोरिएर भारी वर्षा हुने हुँदा विपद्को जोखिम उच्च नै हुन्छ।
मनसुन पूरै सक्रिय भएपछि एकैनासे वर्षाभन्दा पनि एकैठाउँमा थुप्रिएर वर्षा हुँदा गम्भीर समस्या निम्त्याउने गर्छ। सन् २०२४ मा सुदूरपश्चिममा मनसुन पुग्दा चौबीस घण्टाको अवधिमा ६२४ मिमि वर्षा भएको रेकर्ड पनि थियो। तर, पश्चिमी वायुले छेकेर मनसुन पूर्वमा
अड्किएको समयमा कोशी प्रदेशमा डरलाग्दो बाढी, पहिरो निम्त्याउने हुन्छ। तर, एउटै समयमा पूर्वमा विपद् आउँदा पश्चिम नेपाल खडेरीमा हुन्छ। यस वर्ष पनि यस्तै अवस्थाबाट गुज्रिएको थियो।
विभागले बुधबार भारी वर्षा हुने भन्दै सचेत गराइसकेको छ। दाहालका अनुसार भारी वर्षाले पहाडी क्षेत्रमा पहिरो र बाढी ल्याउने हुन्छ। अरू बेला पानी नहुने साना खहरेहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सचेत हुनुपर्छ। तराईमा डुबानको समस्या यथावत् नै छ। तर, यतिबेलाको वर्षाले कृषिमा राहत मिलेको उनको भनाइ छ।
३ वटा हेलिकप्टर स्ट्यान्डबाईः प्राधिकरण
गृहमन्त्री सुधन गुरुङले प्रि–मनसुनको अवधिदेखि नै मनसुनी सिजनमा हुन सक्ने विपद् जोखिमबारे तयारी रहन निर्देशन दिँदै आएका छन्। तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनमा मात्रै नभएर बाह्रै महिना विभिन्न खालका विपद्लाई सम्बोधन गर्न लागिपरेको प्रवक्ता शान्ति महतले बताइन्। ‘हामी सधैं सक्रिय भएर काम गरिरहेका छौं,’ उनले भनिन्, ‘यतिबेला जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार तयारी गर्न अझै सजिलो छ।’
विपद्मा चाहिने जनशक्ति काठमाडौंले मात्र धान्न सक्दैन। त्यसैले सुरक्षाका तीनै निकाय र थप तालिम दिएका स्वयंसेवकहरू पनि तयारी अवस्थामा नै रहेको उनले बताइन्। प्राधिकरणले पनि विपद्का विषयमा जनचेतनामूलक सूचनाहरू प्रवाह गरिरहेको छ।
प्रवक्ता महतका अनुसार तुरुन्तै खोज तथा उद्धारका लागि नेपाली सेनाका ३ वटा हेलिकप्टरसहित अन्य निजी संस्थाका ३४ वटा हेलिकप्टरसँग पनि सहकार्यको पहल भइरहेको छ। उनले भनिन्, ‘इटहरी, सुर्खेत र काठमाडौंमा हेलिकप्टर तयारी अवस्थामा छन्। सरकार शून्य क्षति चाहन्छ, विपद्मा त्यो सम्भव हुँदैन। तर, हामी प्रयासरत छौं।’
सरकारले खोज तथा उद्धारका सम्पूर्ण स्रोतसाधन र तालिमप्राप्त जनशक्ति तम्तयार राखेको पनि उनले जनाइन्। स्थानीय तह र सीडीओ कार्यालयहरूसँग समन्वय गरेर काम गरिने पनि बताइन्। प्राधिकरणले सिस्टम बनाइदिने, संयन्त्रहरू निर्माण गर्ने, जनशक्ति परिचालन गर्ने, विपद् व्यवस्थापन निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक सबैलाई तयारी अवस्थामा राख्न सहयोग गरिरहेको बताइन्।
हनुमाननगरमा धेरै वर्षा
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार चौबीस घण्टामा देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ। सिरहाको हनुमाननगर स्टेसनमा सबैभन्दा धेरै १४७.४ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी बर्दियामा १३६.६ मिमि, मनपुरमा १३६ मिमि, नेपालगन्जमा ९५.२ मिमि, कोहलपुरमा ७७.२ मिमि, शनिश्चरे झापामा ८४ मिमि, संखुवासभामा ८८.८ मिमि, सुर्खेतमा ६० मिमिलगायत नेपालभरिका धेरै स्थानमा ५० मिमिभन्दा धेरै वर्षा
भएको छ।
पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबान हुन सक्ने भन्दै विभागले आमनागरिकलाई सतर्क हुन सुझाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागमा र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा भारी वर्षा हुने, केही स्थानमा हावाहुरीसमेत चल्ने र बुधबार यी प्रदेशहरूमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ। यो क्रम बिहीबारसम्मै रहने विभागले जनाएको छ।
बुधबार र बिहीबार यी स्थानमा भारी वर्षा
विभागले बुधबार देशभर पूर्णतया बादल लाग्ने जनाएको छ। विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसदिन देशभर पूर्णतया बादल लाग्नेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बिहीबार पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !