११ जिल्लामा संक्रमण फैलिएपछि धादिङका नाकामा कडा निगरानी
धादिङ : देशका ११ जिल्लाका १३० स्थानमा बर्ड फ्लू (एच-५ एन-१) संक्रमण पुष्टि भएसँगै संघीय राजधानी काठमाडौंको प्रमुख प्रवेशद्वार धादिङमा सतर्कता उच्च पारिएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक हजारौं सवारीसाधन तथा कुखुराजन्य वस्तु ओसारपसार हुने भएकाले जिल्लाका मुख्य नाकामा विशेष निगरानी सुरु गरिएको हो।
जिल्ला स्तरीय बर्ड फ्लू प्राविधिक समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पशु सेवा कार्यालयको संयुक्त टोलीले कुखुरा, चल्ला, अण्डा तथा अन्य कुखुराजन्य वस्तुको नियमित अनुगमन गरिरहेको छ। विशेषगरी संक्रमण देखिएका जिल्लाबाट आउने ढुवानीमाथि कडाइ गरिएको छ।
पशु सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार जिल्लामा भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको स्वास्थ्य अवस्था, भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र (भेटेरिनरी सर्टिफिकेट) लगायतका आवश्यक कागजात अनिवार्य रूपमा परीक्षण भइरहेको छ।
उनका अनुसार आवश्यक परे बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार जोखिमयुक्त क्षेत्रबाट ल्याइने कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार रोक्ने तथा नष्ट गर्नेसम्मका कानुनी व्यवस्था लागू गरिनेछ।
हालसम्म धादिङमा गरिएको अनुगमनका क्रममा बर्ड फ्लू संक्रमण पुष्टि हुने कुनै अवस्था नदेखिएको उनले जानकारी दिए। आवश्यक कागजातबिनाका कुखुरा तथा कुखुराजन्य वस्तुलाई भने जिल्लाभित्र प्रवेश गर्न नदिई सम्बन्धित पक्षलाई फर्काइने र सचेत गराइने गरिएको छ।
प्रतिक्रिया दिनुहोस !