सुनौलो अध्यायका साक्षी एमबाप्पे

सुनौलो अध्यायका साक्षी एमबाप्पे
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ फ्रान्सका कप्तान किलियन एमबाप्पेका लागि केवल अर्को सफल प्रतियोगितामात्र बनिरहेको छैन, यो विश्वकप उनको सुनौलो अध्यायको पर्व पनि बनेको छ। 

बिहीबार राति मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दा एमबाप्पेले गोलसँगै व्यक्तिगत उपलब्धिको सूचीमा अर्को महत्वपूर्ण कीर्तिमान पनि थपेका छन्। उनी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् भने विश्वकप इतिहासका महान गोलकर्तामध्ये पनि आफ्नो स्थान अझ बलियो बनाएका छन्।

क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध एमबाप्पेले पहिलो हाफमा पेनाल्टी चुकाए पनि दोस्रो हाफमा गरेको उत्कृष्ट गोलले फ्रान्सको जित सुनिश्चित गरेको थियो। त्यो गोल उनको विश्वकप २०२६ को आठौं तथा समग्र विश्वकप करियरको २१औं गोल हो। यससँगै उनले विश्वकप इतिहासमा २० भन्दा बढी गोल गर्ने दुर्लभ उपलब्धि हासिल गर्दै सबैकालीन उत्कृष्ट गोलकर्ताको सूचीमा आफूलाई उभ्याएका छन्। 

केवल गोलमात्र होइन, एमबाप्पेले फ्रान्सका लागि नेतृत्वमा पनि नयाँ उचाइ छोएका छन्। पहिलो पटक पूर्णकालीन कप्तानका रूपमा विश्वकप खेलेका उनले टोलीलाई अपराजित रूपमा अन्तिम चारमा पुर्‍याएका छन्। मैदानमा उनको गति, निर्णय क्षमता, गोल गर्ने कला र टोलीलाई प्रेरित गर्ने शैली फ्रान्सको सफलताको मुख्य आधार बनेको छ। 

सन् २०१८ मा किशोर प्रतिभाका रूपमा विश्व फुटबलमा उदाएका एमबाप्पेले त्यसयता विश्वकपका हरेक संस्करणमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। सन् २०१८ मा उपाधि जित्दा युवा स्टारका रूपमा चम्किएका उनले २०२२ मा गोल्डेन बुट जितेका थिए। २०२६ मा पनि उस्तै लय कायम राख्दै उनी लगातार तेस्रो विश्वकपमा फ्रान्सका सबैभन्दा भरपर्दा खेलाडी सावित भएका छन्।

उनको निरन्तरताले विश्व फुटबलका दुई महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि अर्को पुस्ताको नेतृत्व गर्ने खेलाडीका रूपमा स्थापित गरेको छ। अझ २७ वर्ष नपुग्दै विश्वकपमा २१ गोल गर्नु आफैंमा असाधारण उपलब्धि मानिन्छ। यदि फ्रान्सले फाइनलसम्म यात्रा तय ग¥यो भने एमबाप्पेसँग आफ्नै कीर्तिमान अझ उचाइमा पुर्‍याउने अवसर हुनेछ।

विश्वकप २०२६ मा एमबाप्पेको अर्को विशेष उपलब्धि भनेको नकआउट चरणमा लगातार निर्णायक प्रदर्शन गर्नु पनि हो। स्विडेनविरुद्ध अन्तिम ३२, पराग्वेविरुद्ध अन्तिम १६ र मोरक्कोविरुद्ध क्वार्टरफाइनलमा उनले टोलीको जितमा योगदान दिएका छन्। कठिन क्षणमा जिम्मेवारी लिन सक्ने उनको क्षमता नै फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार बनाउने महत्वपूर्ण कारण बनेको छ। 

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले पनि एमबाप्पेको प्रशंसा गर्दै उनी केवल गोलकर्ता मात्र नभई टोलीका वास्तविक नेता बनेको बताएका छन्। उनका अनुसार पेनाल्टी गुमाएपछि पनि दबाबमा नपरी टोलीका लागि निर्णायक गोल गर्नु विश्वस्तरीय खेलाडीको पहिचान हो। 

अब फ्रान्स सेमिफाइनलको तयारीमा जुटिरहेको छ भने सबैको नजर फेरि एकपटक एमबाप्पेमाथि केन्द्रित हुनेछ। उनले यही लय कायम राखे भने फ्रान्सलाई तेस्रो पटक विश्वकप उपाधि दिलाउने मात्र होइन, विश्वकप इतिहासका महान खेलाडीको सूचीमा आफ्नो नाम अझ माथि उकास्ने अवसर पनि छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.