गहिरो निद्रामा प्रमुख प्रतिपक्ष
मुलुकमा दुईतिहाइ बहुमतसहितको शक्तिशाली सरकार छ।सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार लोकतन्त्रका आधारभूत मान्यताविपरीत हुइँकिरहेका बेला प्रतिपक्षको आकारभन्दा आवाज महत्वपूर्ण हुनुपर्ने हो।लोकतन्त्रमा एकैजनाको किन नहोस्, विचार र विरोधको स्वर सुनिनुपर्छ।तर, विडम्बना! प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यतिबेला आफ्नै आन्तरिक कलहको भुमरीमा फसेर गहिरो निद्रामा छ।
नागरिकको बुलन्द आवाज बन्नुपर्ने पुरानो र ऐतिहासिक दल ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैं सत्ताको निगरानी गर्ने प्रमुख दायित्वबाटै विमुख भएको छ।लोकतन्त्र शक्ति सन्तुलनको सुन्दर व्यवस्था हो, जहाँ सरकारको एकलौटी स्वेच्छाचारिता चल्दैन।तर, प्रधानमन्त्रीले अध्यादेशमार्फत संवैधानिक परिषद्लाई पंगु बनाउँदै न्यायालयमा एकलौटी नियुक्ति गर्दा कांग्रेस मूकदर्शक बन्यो।सुकुम्बासीका छाना भत्किँदा होस् वा उद्यमी–व्यवसायीलाई राज्यले त्राहिमाम बनाउँदा, प्रतिपक्षको ओठ चलेन।तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्ववर्ती सरकार प्रमुखमाथि राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तारी हुँदा समेत कांग्रेसले लोकतान्त्रिक विधिको पक्षमा उभिने आँट गरेन।
धन्न ! न्यायपालिकाले प्रक्रियागत त्रुटि औंल्याएर स्वतन्त्र न्यायपालिकाको साख जोगायो।नागरिक पीडा र गणेश नेपालीहरूको आत्मदाहले राज्य विफलताको संकेत गरिरहँदा पनि कांग्रेसको मौनता उदेकलाग्दो छ।बाहिर निरीह बनेको कांग्रेसभित्र भने कलहको डढेलो सल्किएको छ।पार्टी सभापति गगन थापाको नेतृत्वले अग्रजहरूसँग संवाद गर्नुको साटो एक्लै हिँड्ने रहर गर्दा पार्टी फुटको संघारमा पुगेको छ।इतिहासको क्रूर मजाक, फुटको यो सन्दर्भ पार्टीका संस्थापक बीपी कोइरालाको स्मृति दिवस (साउन ६) कै छेकोमा पारिँदै छ।जुन बीपीले टुटफुटमा रहेका कांग्रेसलाई जोडेर राणाविरोधी आन्दोलनको सफल नेतृत्व गरेका थिए, आज उनकै पार्टी लोकतन्त्र र संविधान जोखिममा परेका बेला फुटतर्फ लम्किनु सिंगो राष्ट्रकै लागि दुर्भाग्य हो।इतर पक्षले सम्पर्क कार्यालय नै खोलेर अघि बढ्दा पनि क्रियाशील सदस्यतामा पारदर्शिता अपनाएर सबैलाई समेट्ने दायित्वबाट नेतृत्व पन्छिनु चरम असफलता हो।इतिहास साक्षी छ, टुटफुटले कुनै पनि दललाई ठूलो बनाएको छैन, बरु लोकतन्त्रलाई कमजोर पारेको छ।
२०५४ सालमा तत्कालीन एमाले नफुटेको भए माओवादी सशस्त्र संघर्षले त्यति सहजै मलजल पाउने थिएन।२०५९ मा कांग्रेस फुटेर शेरबहादुर देउवाले अलग पार्टी नबनाएका भए तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘कू’ गर्ने सुवर्ण अवसर मिल्ने थिएन।आज फेरि जुन पार्टीले प्रजातन्त्र, गणतन्त्र र संविधान निर्माणको नेतृत्व गर्यो, त्यही पार्टी किचलोमा फस्नु अत्यासलाग्दो स्थिति हो।जब प्रतिपक्ष कमजोर र विभाजित हुन्छ, सत्ताले निरंकुशताको बर्को ओढ्ने खतरा सधैं रहन्छ।यस्तो संवेदनशील घडीमा कांग्रेसले आफ्ना आन्तरिक मतभेद र तुषहरूलाई थाँती राखेर सग्लो र खरो रूपमा प्रस्तुत हुनुपर्ने थियो।तर, नागरिकका पीडामा मल्हम लगाउनुको साटो, यो ऐतिहासिक दल आफैं गन्तव्य भुलेको यात्री झैं चौबाटोमा उभिएर अलमलिएको छ।
सशक्त आवाज उठाएर देश र जनताको पक्षमा उभिनुपर्ने बेला प्रतिपक्ष नै निरीह देखिनु आम नेपालीको लोकतान्त्रिक आस्थामाथिको प्रहार हो।समयले नेपाली कांग्रेससँग फेरि एउटा ऐतिहासिक जवाफदेहिता मागेको छ।कांग्रेस फुट्दा भविष्यमा उसले व्यहोर्ने चुनावी क्षति त एउटा पाटो मात्र हो, तर त्योभन्दा कैयौं गुणा ठूलो क्षति सिंगो दलीय प्रणाली र लोकतान्त्रिक व्यवस्थालाई पुग्नेछ।त्यसैले, गुटभन्दा माथि पार्टी र पार्टीभन्दा माथि लोकतन्त्रलाई राखेर कांग्रेस एक ढिक्का हुनुको अब कुनै विकल्प छैन। नत्र, बाटो बिराएको प्रतिपक्षलाई इतिहासले कहिल्यै माफ गर्ने छैन ।
प्रतिक्रिया दिनुहोस !